Taja Samachar Nepal

Taja Samachar Nepal
News

Saturday, October 17, 2015

कष्टकर बन्दै दसैँ

          काठमाडौं, १ कात्तिक यसपटकको दसैँ अभावमै बित्ने भएको छ । अलि बढी मिहिनेत गरेर भए पनि दसैँमा राम्रो खाने र राम्रो लाउने आमनेपालीको इच्छामा भारतीय नाकाबन्दीले प्रभाव पारेको हो । नाकाबन्दीका कारण उपभोग्य वस्तुसँगै पेट्रोल, डिजेल, ग्यासलगायतको आपूिर्तसमेत ठप्प छ । दैनिक उपभोग्य खाद्यान्न, गेडागुडी, खानेतेललगायत पर्याप्त मौज्दात रहेको व्यवसायीले बताएका छन् । तर, इन्धन अभावले ढुवानी हुन नसकिरहेको व्यवसायीको दुखेसो छ । दसैँमा नयाँ लुगा खरिद गर्ने धेरै उपभोक्ताको चाहनासमेत यसपटक अपुरो हुने देखिन्छ । मध्यम र निम्न वर्गीय उपभोक्तको रोजाइमा पर्ने चिनियाँ लत्ताकपडा धेरै कम आयात भइरहेको व्यवसायीले बताएका छन् । ‘चिनियाँ लत्ताकपडा ३० प्रतिशत मात्रै आइरहेका छन्,’ नेपाल हिमालय सीमापार वाणिज्य संघका सचिव निरज राईले भने । उनका अनुसार लत्ताकपडाको कुल बजारमा चिनियाँ सामानको बजार हिस्सा ७५ प्रतिशतभन्दा बढी छ । बहुसंख्यक उपभोक्ताले प्रयोग गर्ने चिनियाँ लत्ताकपडा थोरै आउँदा मौज्दातमा रहेका पुरान डिजाइनका कपडा बजारमा बिक्री भइरहेको उनले जानकारी दिए । ‘बजारमा चिनियाँ लत्ताकपडाको कमी त छैन, मौज्दातमा रहेका पुराना डिजाइनका कपडा बिक्री भइरहेका छन्,’ उनले भने, ‘तर, नयाँ डिजाइन खोज्ने उपभोक्ता भने मर्कामा परेका छन् ।’ भूकम्पले चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानी अवरुद्ध पारेपछि व्यवसायीले भारतीय भूमि हुँदै सामान ल्याइरहेका थिए । तर, डेढ महिनादेखि सीमा क्षेत्रमा अवरोध हुँदा चिनियाँ सामान ३० प्रतिशत मात्रै उपलब्ध भइरहेको उनले बताए । पेट्रोल, डिजेल र खाना पकाउने एलपी ग्यासको पनि उत्तिकै हाहाकार छ । ‘अहिले कुल मागको १० प्रतिशत मात्रै इन्धन आपूर्ति गर्न सकिएको अवस्था छ,’ आयल निगमका प्रवक्ता दीपक बराल भन्छन् । पेट्रोल, डिजेलको अभाव हुँदा सहज रूपमा आवतजावत गर्न कठिनाइ भइरहेको छ भने ग्यास नहुँदा खाना पकाउनै समस्या हुन थालेको उपभोक्ताले गुनासो गर्न थालेका छन् । ‘धेरै उपभोक्ताले खाना पकाउने ग्यास नै छैन, कसरी दसैँ मनाउने भनेर गुनासो गदै पसलमा आउने गरेका छन्,’ ग्यास विक्रेता महासंघका उपाध्यक्ष अर्जुन देवकोटाले भने । डिजेल अभावमा दसैँमा घर फर्कन यात्रुले सुविस्ता दिएर ओसार्न नसकिएको यातायात व्यवसायी बताउँछन् । ‘डिजेल अभाव हुँदा सबै गाडी चलाउन सकिएको छैन, भएकै गाडीसमेत डिजेल लिने लाइनमा बस्दा समयमै यात्रुलाई सेवा दिन गाह्रो परिरहेको छ,’ यातायात व्यवसायी सरोज सिटौला भन्छन् । इन्धन अभावको मौका छोपेर व्यवसायीले भाडादर पनि चर्को असुलेर उपभोक्तालाई थप मारमा पारेका छन् । ‘अधिकांश यात्रुबाहक बस, माइक्रो, बोलेरोलगायतले सरकारले तोकेको भाडादरभन्दा बढी रकम यात्रुबाट असुलेको पाइयो,’ नियमनकारी निकाय यातायात व्यवस्था विभागका निर्देशक वसन्त अधिकारीले भने, ‘दसैँ मनाउन घर जाने यात्रुले आरामदायी यात्रा त गर्न पाएका छैनन् नै भाडासमेत बढी तिर्नुपर्दा थप मर्कामा परिरहेका छन् ।’ दसैँमा उपभोग हुने खसी, बोकाको मासु भने मागअनुसार नै आपूर्ति भइरहेको व्यवसायीले बताएका छन् । ‘उपत्यकामा दसैँका लागि खसी, बोकाचाहिँ मागअनुसार नै आपूर्ति भइरहेको छ,’ चौपाया व्यवसायी संघका अध्यक्ष जीवन थापाले भने । शनिबार करिब २५ सय खसी, बोका बिक्री गरेको उनले जानकारी दिए । चिनियाँ सामग्री ३० प्रतिशत मात्रै उपलब्ध छन् निरज राई, सचिव नेपाल हिमालय सीमापार वाणिज्य संघ १२ वैशाखको विनाशकारी भूकम्पयता चीनसँग व्यापार गर्ने प्रमुख नाका तातोपानी खुल्न सकेको छैन । तातोपानीको विकल्पका रूपमा व्यवसायीले कोलकातासम्म जहाजमा चिनियाँ सामान ओसार्ने र त्यहाँ वीरगन्ज, भैरहवालगायतका नाका हुँदै ल्याउने गरेका छौँ । तर, भारतको बोर्डरमै अवरोध हुँदा चिनियाँ सामान बोकेका धेरै कन्टेनर कोलकातामै रोकिएका छन् । कोलकातामा कन्टेनर राख्दै ठाउँ नै नभएपछि चिनियाँ व्यापारीले नेपालमा सामान पठाउनसमेत इच्छा देखाउन छाडिसकेका छन् । चिनियाँ लत्ताकपडाको व्यापार हिस्सा नेपाली बजारमा ७५ प्रतिशत छ । मध्यम तथा निम्नवर्गीय परिवारले चिनियाँ लत्ताकपडा, जुत्तालगायत प्रयोग गर्दै आएका छन् । तर, चिनियाँ नाका ठप्प हुँदा र भारतबाट समेत सामान ल्याउन नपाउँदा करिब ३० प्रतिशत मात्रै चिनियाँ सामग्री आइरहेका छन् । यति थोरै सामान आउँदा व्यापारीसँगै आमसर्वसाधारण पनि मर्कामा परेका छन् । यद्यपि उपभोक्ताले दसैँमा नयाँ लुगा पाएका छैनन् भन्ने होइन । हामीसँग मौज्दात रहेका पुराना डिजाइनका लत्ताकपडा भने बजारमा उपलब्ध छन् । नयाँ डिजाइनका लुगा बजारमा छैनन् । पुरानो डिजाइनले पुरुषलाई त खासै फरक पर्दैन, तर बच्चा र स्त्री वर्गले भने नयाँ डिजाइनकै लुगा मनपराउने हुँदा उनीहरूलाई बढी मर्का परेको छ । दसैँमा तातोपानी नाकाबाट दैनिक २ करोड रुपैयाँ भन्सार तिरेर चिनियाँ सामग्री आउने गरेका थिए । तर, चीनतिरको नाका र भारतको बोर्डमा भइरहेको अवरोधलाई हेर्दा दसैँ, तिहारपछि मात्रै चिनियाँ सामग्री नेपाली उपभोक्तासम्म आइपुग्ने देखिन्छ । 
कष्टकर बन्दै दसैँ

आन्दोलनका नाममा लुटपाट

  १ कार्तिक २०७२ वीरगन्ज : मधेसमा आन्दोलनका नाममा लुटपाट, तोडफोड र आगलागीको घटना बढ्दै गएको छ । मधेसी मोर्चाले आह्वान गरेको बन्द र हडताल दुई महिना नाघिसकेको छ भने मुलुककै प्रमुख नाका वीरगन्ज तीन सातादेखि ठप्प छ । वीरगन्ज–रक्सौलको सीमामा रहेको मितेरी पुलस्थित दसगजा क्षेत्रमा मधेसी दलका नेता र कार्यकर्ताले असोज ७ देखि चौबीसै घन्टा धर्ना दिएर नाकाबन्दी गरेका हुन् ।
 
बन्द, हडताल र नाकाबन्दीको सबैभन्दा बढी मारमा परेका उद्योगी, व्यपारी, उद्योग र मालवाहक गाडीमा लुटपाट र आगलागी हुन थालेपछि दोहोरो मारमा परेका छन् । आन्दोलनकारीकै नाममा एक समूहले शनिबार बिहान वीरगन्ज पोखरिया सडकखण्डअन्तर्गत पर्साको बहुअर्वाभाठा गाविस ७ मा रहेको श्रीगणेश खाद्य उद्योगमा तोडफोड गर्दै धान लुटेर लगेको छ ।
 
मधेस बन्दको अवज्ञा गर्दै उद्योग सञ्चालन गर्नुका साथै रातिको समयमा ट्रकमा चामल ओसारेको भन्दै करिब तीन सयजनाको संख्यामा रहेको समूहले उद्योगको मूल गेटमा तोडफोड गर्दै गोदाममा रहेको करिब एक सय ५० बोरा धान लुटेर लगेको हो ।
 
उनीहरूले उद्योगमा रहेको ना १६ प ७२३४ नम्बरको मोटरसाइकल, जेनेरेटर, चामल कुट्ने मेसिन र फर्निचरमा तोडफोड गरेका छन् । ‘हातमा लट्ठी र फलामको रड बोकेर आएको समूह हडतालका बेला रातिराति चामल किन ओसोरेको भन्दै मेनगेटको ढोका तोडेर भित्र पस्यो’, उद्योगका कर्मचारी जाकिर हुसेनले भने, ‘उनीहरूले गोदाममा रहेको एक सय ५० बोरा धान पनि लुटेर लगे ।’
 
तोडफोड र लुटपाटका कारण उद्योगलाई झन्डै दुई लाख रुपैयाँबराबरको क्षति भएको छ । लुटपाटको खबर पाएपछि घटनास्थल पुगेका प्रहरी र स्थानीयवासीबीच झडप भएको थियो । झडपका क्रममा प्रहरीले लाठी चार्ज गर्नुका साथै १९ राउन्ड गोलीसमेत फायर गरेको थियो ।
 
लुटेराहरूले लुटेर लग्न थालेको धानको बोरा नियन्त्रणमा लिने क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट १९ राउन्ड हवाईफायर गर्नुपरेको पर्साका प्रहरीउपरीक्षक राजुबाबु श्रेष्ठले बताए ।
 
लुटेराहरूले प्रहरीमाथि ढुंगामुढा गर्न थालेपछि प्रहरीले हवाईफायर गरेको उनले बताए । उनका अनुसार प्रहरी घटनास्थलमा समयमै पुगेकाले उद्योगमा ठूलो क्षति हुन पाएन । प्रहरी पुग्नुभन्दा पहिले लुटेराहरूले २०/३० बोरामात्र धान लुटेर फरार भए पनि अरू धानका बोरा प्रहरीले खोसेर उद्योगमा राखिदिएको जानकारी प्रहरीउपरीक्षक श्रेष्ठले दिए ।
 
प्रहरी पुगेपछि लुटेराहरू धानका बोरा र साइकल फालेर भागेका थिए । उद्योगनजिकको सडक र खेतबाट प्रहरीले लुटेराहरूका दुई दर्जनभन्दा बढी साइकल बरामद गरेको प्रहरीउपरीक्षक श्रेष्ठले बताए । शनिबार नै आन्दोलनकारीको एक समूहले वीरगन्जमा एउटा मालवाहक ट्रकमा आगो लगाएको छ । 
 
आदर्शनगरस्थित मनीष ट्रेडर्सको गोदामअगाडि सुपारी लोड गरी राखिएको ना ४ ख ६३५ नम्बरको ट्रकमा आगो लगाइएको हो । १०/१२ जनाको संख्यामा आएको अपरचित युवाको समूहले ट्रकमा पेट्रोल छर्केर आगो लगाएको प्रत्यक्षदर्शी भोला वर्णवालले बताए ।
 
आगलागीबाट ट्रकअगाडिको भाग जलेर ध्वस्त भए पनि ट्रकमा रहेको सुपारीमा भने क्षति पुगेको छैन । ट्रकमा लगाइएको आगो वीरगन्ज उपमहानगरपालिका कार्यालयको वारुणयन्त्रको सहयोगमा निभाइएको छ । आगो लगाउने समूहको खोजी भइरहेको प्रहरीउपरीक्षक श्रेष्ठले बताए । आन्दोलनका नाममा भारतसँग सीमा जोडिएको पर्साको ग्रामीण क्षेत्रमा पनि लुटपाटका घटना बढेको छ ।
 
सीमापारि भारतबाट डिजेल र पेट्रोल लिएर आउने गरेका मोटरसाइकल र साना गाडीहरू स्थानीय युवाहरूले रोकेर लुट्ने गरेका छन् । एक साताअघि मात्रै रक्सौलबाट डिजेल लिएर आउँदै गरेको रेडियो वीरगन्जको गाडीबाट आन्दोलनकारीले तीन ग्यालेन डिजेल लुटेर लगेका थिए ।
 
उद्योग व्यवसायमा लुटपाट र आगलागी हुनु आन्दोलनको खतरनाक रूप भएको वीरगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष अशोक वैद्य बताउँछन् । ‘बन्द र हडतालले यसै पनि दुई महिनादेखि उद्योग र व्यपार ठप्प छ’, उनले भने, ‘अब त आगलागी र लुटपाट पनि हुन थाल्यो ।
 
क्रान्ति शाह
१ र २ ः पर्साको बहुअर्वाभाठास्थित श्रीगणेश खाद्य उद्योगमा लुटपाट गर्ने क्रममा आन्दोलनकारीले छरेका धानका बोरा ।
क्रान्ति शाह
३ ः वीरगन्जको आदर्शनगरमा आन्दोलनकारीले आगो लगाएको सुपारी लोड गरिएको ट्रक ।

केन्द्रसँग गाउँका कांग्रेसी दुःखी

१ कार्तिक २०७२ अश्राङ (गोरखा) : भूकम्प र नाकाबन्दीले गाउँको जनजीवन बिग्रँदै गएका बेला केन्द्रको राजनीति पनि बिगारेको भन्दै गाउँका कांग्रेस कार्यकर्ता केन्द्रीय नेतासँग आक्रोशित भएका छन् । उनीहरूको आक्रोश सभापति सुशील कोइराला सहमति तोडेर प्रधानमन्त्रीको चुनाव लडेर हार्नुप्रति लक्षित थियो ।
 
अहिले कांग्रेस पार्टीको घर भुइँचालोले भत्केको बोर्लाङ गाविसका पार्टी सभापति दुर्गाप्रसाद रेग्मी बताउँछन् । ‘गाउँमा वैशाख १२ गते भुइँचालो गयो, कांग्रेस पार्टीमा अहिले भुइँचालो गयो । अहिले हाम्रो पार्टीको घर भत्केको छ । अब हामी कहाँ जाने ? ’ रेग्मी भन्छन्, ‘सभापति सुशील कोइरालाले सहमति तोडेर चुनावमा उठ्नै हुँदैनथ्यो । गाउँमा बेइज्जत भएको छ ।
 
सर्वसाधारणको चित्त कसरी बुझाउने, आफ्नो चित्त कसरी बुझाउने ? सबैले तिम्रो पार्टी यस्तो र त्यस्तो भन्छन् । नानाथरी कुरा सोध्छन् । के जबाफ दिने ? कार्यकर्तालाई कसरी समाल्ने हामीले ? ’ अरू पार्टीले पनि गिज्याएको र आफ्नै तल्लो तहका कार्यकर्ताले आक्रोश पोख्ने गरेको उनले गुनासो गरे ।
 
भारतले नाकाबन्दी गरेर नेपालीलाई अत्याइरहेका बेला सबै नेता मिलेर संकटको सामना गर्नुपर्ने बेला अदृश्य शक्तिको इशारामा सभापति कोइरालाले सहमति तोडी चुनाव लडेर पार्टीलाई हराएको ताप्ले गाविसका सभापति खिलबहादुर थापाले बताए ।
 
‘नेताको मतिभ्रष्ट भएपछि गाउँका जनताको चित्त हामीले कसरी बुझाउने ? ’ थापाले भने, ‘जनताको चाहनाविपरीत, पार्टी कार्यकर्ताको भावनाविपरीत काम गरेर सभापतिले पार्टीको बदनाम गरे ।’
 
सभापति कोइरालाले चुनाव लडेपछि गाउँमा जहाँतहीं कांग्रेसको विरोधमा आवाज उठेको अ श्राङ गाउँ पार्टी सभापति भीमबहादुर थापाको भनाइ छ । ‘आफैंले गरेका हुन् कि अरूले अराएर गरेका हुन्, सभापतिले किन देश र जनताको हितविपरीत काम गरेका ? ’ थापाले भने, ‘एउटा सहमति भएको भए यस्तो सहमति छ, सहमतिअनुसार चल्नुपर्छ भन्नुपथ्र्यो । 
 
दोस्रो, चुनाव लड्नैपर्ने भए आफैं किन लडेका ? अरू पनि थिए नि ? चुनाव लडिसकेपछि जित्नुपथ्र्यो ।’ पार्टीलाई नै पत्तासाफ गराउने खेल भएको हुनसक्ने तर्क उनले गरे ।
 
अहिलेसम्म सबैको मत र माया पाएको भए पनि सभापति कोइरालाको अहिलेको कदमले पार्टी बदनाम भएको बगुवाका सीताराम भट्टले बताए ।
 
संकट परेका बेला सहमतिमा समाधान खोज्नुपर्ने समयमा जानाजान हार्ने चुनाव लडेर सभापति कोइरालाले आफ्नो र कांग्रेसको पनि बेइज्जत गरेको उनको भनाइ छ । अ श्राङ गाउँ पार्टीका पूर्वउपसभापति मेघनाथ पाण्डेले पनि अहिले जनस्तरमा उब्जिएको कांग्रेसप्रतिको वितृष्णाको चित्त बुझाउनै नसकेको गुनासो गरे ।
 
यो क्षतिपूर्ति गर्न पार्टीका केन्द्रीय नेता तत्काल जिल्ला र गाउँमा जानुपर्ने सुझाव उनले दिए । अर्का पूर्वसभापति लोकप्रसाद भन्तनाले भने प्रतिपक्षमा बस्ने कांग्रेसको यो कदम बहुदलीय परिपाटीअनुसारै भएको भन्दै कोइरालाको कदमको स्वागत गरे ।
अन्नपूर्ण
अ श्राङ २ सल्लाघारीमा भेला भएका ज्येष्ठ कांग्रेस कार्यकर्ता ।

फिलिपिन्समा ‘कोप्पु’ आँधीले जनजीवन अस्तब्यस्त

काठमाडौं, कार्तिक १ । फिलिपिन्समा कोप्पु आँधीले जनजीवन अस्तब्यस्त बनाएपछि सरकारले सर्वसाधारणलाई तीन दिनसम्म सचेत रहन अपील गरेको छ ।आँधीबाट बच्न हजारौं सर्वसाधारण सुरक्षित स्थानतर्फ लागेका छन् । आँधीका कारण हवाई र यातायात सेवा ठप्प पारिएको छ ।२ सय ५० किलोमिटरका दरले आएको आँधीले
थुप्रै घर र सवारी साधनमा क्षति पुगेको छ । आँधी तीन दिन सम्म रहने र त्यसपछि ताइवानतर्फ अघि बढ्ने मौसमविदहरुले बताएका छन् ।दुई बर्षअघि आएको आँधीबाट प्रभावितहरुकै जनजीवन सामान्य बन्न नसकेका बेला यस आँधीका कारण सर्वसाधारण थप मारमा परेका छन् ।

गलत स्थानमा हवाई आक्रमण गर्दा यमनमा २० सैनिक मारिए

काठमाडौं, कार्तिक १ । यमनमा सउदी अरब नेतृत्वको गठबन्धनले गरेको आक्रमणमा २० सैनिक मारिएका छन् ।
दक्षिणी यमनको ताइज र लहज प्रान्तमा गरिएको हवाई आक्रमण गलत स्थानमा पर्दा ती सैनिक मारिएका हुन् । घटनामा २० भन्दा बढी सैनिक घाइते भएका छन् ।हुथी बिद्रोहीको आशंकामा गरिएको आक्रमणको निशाना
गलत परेको प्रतिक्रिया यमन सरकारले दिएको छ ।
बर्षौदेखि आतंकबादी गतिबिधी गर्दै आएको हुथी बिद्रोहीका कारण यमनमा सयौं मारिइएका छन् भने हजारौं पलायन भएका छन् ।

राष्ट्रपतिमा झन् ठूलो विवाद

         आगामी महाधिवेशनलाई केन्द्रमा राखेर एमालेभित्र राष्ट्रपतिमा उम्मेदवारको खोजी भइरहेको छ । दशौँ महाधिवेशनमा पार्टी अध्यक्ष हुने दौडमा रहेका नेता माधवकुमार नेपालले राष्ट्रपतिमा नजाने बताएका छन् । महासचिव ईश्वर पोखरेलले नेता नेपाललाई राष्ट्रपति बनाउने प्रस्ताव राखेर भावी अध्यक्षका लागि बाटो ‘क्लियर’ गर्न खोजेका छन् । ओलीको चाहना विद्या प्रधानमन्त्री ओलीको चाहना उपाध्यक्ष विद्या भण्डारीलाई राष्ट्रपति बनाउने छ । भण्डारीले पनि पार्टीले निर्णय गरे आफू तयार रहेको सार्वजनिक अभिव्यक्ति दिएकी छिन् । उनले कांग्रेसलाई दिनुभन्दा आफू हुने बताएकी छिन् । खनाल अझै खुलेनन् ओलीले नवौँ महाधिवेशनका वेला वरिष्ठ नेता झलनाथ खनाललाई पार्टीले मौका पाए राष्ट्रपति बनाउने वचन दिएका थिए । तर, अहिले ओलीले खनालबारे केही बोलेका छैनन् । खनाल आफैँले पनि ओलीसँग भएको भद्र सहमति र आफ्नो इच्छाबारे अझै मुख खोलेका छैनन् । नेम्वाङको पनि छलफल निवर्तमान सभामुख सुवास नेम्वाङलाई राष्ट्रपति बनाउनुपर्ने मत पनि एमालेमा छ । पदाधिकारी तहकै केही नेताले जनजाति र संविधानसभाबाट संविधान जारी गर्न महत्त्वपूर्ण भूमिका खेलेकाले नेम्वाङलाई बनाउनुपर्ने धारणा राखेका छन् । कांग्रेसलाई दिन नहुने मत १६ बुँदे सहमति गर्दा कांग्रेस सभापति सुशील कोइरालालाई राष्ट्रपति दिने भद्र सहमति भएको थियो । तर, प्रधानमन्त्री निर्वाचनमा ‘भद्र सहमति’ तोडेको भन्दै कांग्रेसलाई राष्ट्रपति दिन नहुने मत एमालेमा बलियो छ । यद्यपि, सत्तारुढ दलभित्र यसबारे ठोस छलफल भएको छैन । एमाओवादीको दाबी छैन सत्तासाझेदार एमाओवादीले राष्ट्रपतिमा दाबी नगर्ने निर्णय गरिसकेको छ । एमाओवादीको तर्फबाट सभामुखमा ओनसरी घर्ती निर्विरोध निर्वाचित भइसकेकी छिन् । सत्तारुढ गठबन्धनबाटै उम्मेदवार बनाउँदा राष्ट्रपति एमालेको भागमा पर्नेछ । तर, कांग्रेसले गल्ती स्विकारे राष्ट्रपति उसलाई नै दिनुपर्ने मत पनि एमालेभित्र छ । भारतीय चासो आफ्नो चाहनाविपरीत संविधान निर्माण तथा सरकार गठन भएपछि भारतले अघोषित नाकाबन्दी गरेको छ । उसले पछिल्लोपटक राष्ट्रपति निर्वाचनमा चासो देखाएको छ । मधेस आन्दोलन पनि ‘सेफ ल्यान्डिङ’ हुनेगरी भारतले आफूअनुकूलको राष्ट्रपति चयन गर्न दलहरूलाई दबाब दिने संकेत देखिएको छ । यस्तो अवस्थामा आन्दोलनरत मधेसी दलहरूका तर्फबाट तमलोपा अध्यक्ष महन्थ ठाकुर अथवा कांग्रेसकै मधेसी मूलका कुनै नेतालाई अगाडि सार्ने सक्ने सम्भावना छ । कांग्रेसलाई राष्ट्रपति दिन सकिन्छ : नेपाल कांग्रेसले हिजो भद्र सहमति उल्लंघन गरेर विश्वासघात गरे पनि विगतको कमजोरी स्वीकार गरेर सरकारमा आउन सक्छ । त्यसो हुँदा उसले चाहेको ओहोदा दिन सकिन्छ । अहिलेसम्म सत्तारुढ दलबीच एमालेले राष्ट्रपति पद लिने सहमति भए पनि अरू पार्टीसँग पनि सल्लाह गरिनेछ दबाब बढाउदै कांग्रेस राष्ट्रपतिमा कांग्रेसले दाबी गर्ने कांग्रेसले राष्ट्रपतिमा आफ्नो दाबेदारी प्रस्तुत गरेको छ । सभामुख र उपसभामुखमा उम्मेदवारी नदिएर पनि उसले सत्तारुढ दलमा नैतिक दबाब बढाएको छ । सत्तारुढ दलको सहमतिमै राष्ट्रपति आफूले पाउने कांग्रेसको अपेक्षा छ । यसबारे कांग्रेसले सत्तारुढ दलहरूसाग अनौपचारिक छलफलसमेत थालेको नेताहरूले बताएका छन् । शीर्ष तीन नेता नजाने सम्भावना व्यक्तिगत रूपमा सभापति सुशील कोइरालाको राष्ट्रपति बन्ने इच्छा भए पनि उनकै खेमाका नेताहरूले राष्ट्रपतिमा नजान दबाब दिइरहेका छन् । १३औँ महाधिवेशनबाट पुन: सभापति बन्नुपर्ने उनीहरूको सुझाब छ । वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेल पनि सभापतिका दाबेदार हुन् । तीनै नेताले राष्ट्रपतिमा जाने मनस्थिति नबनाएको कांग्रेस नेताहरू बताउँछन् । यादवलाई दोहोर्‍याउनेबारे छलफल राष्ट्रपति डा. रामवरण यादवलाई फेरि दोहोर्‍याउनेबारे पनि कांग्रेसमा छलफल चलेको छ । संविधान कार्यान्वयनमा सहज हुने र अनुभवी पनि भएकाले यादवलाई दोहोर्‍याउनुपर्ने मत कांग्रेसमा छ । डा. यादवले पनि सकेसम्म शीतलनिवास नछाड्ने इच्छा राखेका छन् । उनी कांग्रेसकै तर्फबाट राष्ट्रपति भएका थिए । रमेश सापकोटा/नयाँ पत्रिका काठमाडौं, १ कात्तिक संसद्को सबैभन्दा ठूलो दल कांग्रेसले राष्ट्रपति पदमा आफ्नो दाबेदारी प्रस्तुत गरी सत्तारुढ दलसामु दबाब बढाउँदै लगेको छ । प्रधानमन्त्रीमा आफ्ना उम्मेदवार पराजित भए पनि सभामुख र उपसभामुखमा उम्मेदवारी नदिएर कांग्रेसले राष्ट्रपति पदमा आफ्नो दाबेदारी दिँदै सत्तारुढ एमाले र एमाओवादीसामु नैतिक दबाब बढाएको हो । सत्तारुढ दलहरूले दाबी गरेको ‘भद्र सहमति’लाई बेवास्ता गर्दै प्रधानमन्त्रीमा उम्मेदवारीको दिएको आरोप खेपे पनि कांग्रेसले सभामुख र उपसभामुखमा उम्मेदवारी नदिई एमाओवादी र राप्रपा नेपालका उम्मेदवारलाई भोट हालेर यस्तो दबाब दिएको हो । कांग्रेस प्रवक्ता दिलेन्द्रप्रसाद बडूले सभामुख र उपसभामुखमा कांग्रेसले उम्मेदवारी नदिएर सहयोग र सहमतिको वातावरण बनाउन चाहेको बताए । ‘राष्ट्रपतिमा हाम्रो उम्मेदवारी रहन्छ, तर को उम्मेदवार बन्ने भन्ने टुंगो लागेको छैन,’ बडूले भने, ‘सहयोग आदान–प्रदान देखिएको छ । यो वातावरणले राष्ट्रपतिमा सहमति बनाउन सक्छ । हामी अनौपचारिक छलफलमा छौँ ।’ दलबीच सहमति नबिग्रियोस् भनेरै आफूहरूले सभामुख र उपसभामुखमा दाबी नगरेको उनले बताए । ‘प्रतिस्पर्धा हुँदा हामीले प्रधानमन्त्रीमा भोट पनि हालेका हौँ । तर, सभामुख र उपसभामुखको दाबी गरेनौँ,’ बडूले भने, ‘राष्ट्रपति पनि सहमतिका आधारमा होस् भन्ने चाहना हाम्रो हो । एमाले र एमाओवादीसँग अनौपचारिक छलफल भइरहेको छ । सबैले आफ्नो ढंगले रेस्पोन्स गरेका छन् ।’ कांग्रेस पदाधिकारी बैठकले बिहीबार सभामुख, उपसभामुख, राष्ट्रपति, उपराष्ट्रपतिमा उम्मेदवारी दिने निर्णय गरेको र शुक्रबार दिउँसो सभामुख र उपसभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको केन्द्रीय सदस्य जीवनबहादुर शाहीले जानकारी दिए । ‘बिहीबार पार्टीको पदाधिकारी बैठकले चारवटै पदमा उम्मेदवारी दिने भन्यो, शुक्रबार नदिने भन्यो, तर दिउँसो पुन: प्रमुख सचेतकले ह्विप जारी गर्दै एमाओवादीले अघि सारेको सभामुखका उम्मेदवारलाई समर्थन गर्न आग्रह गर्‍यो,’ उनले भने । राष्ट्रपतिमा ठाकुर, गुरुङ, यादव र विश्वकर्माको चर्चा कांग्रेसका शीर्ष तीन नेताले राष्ट्रपतिमा दाबी गर्दै उम्मेदवारी दिने अवस्था नदेखिएपछि पार्टीभित्रै वा बाहिरबाट उसले राष्ट्रपतिको उम्मेदवार उठाउने चर्चा छ । कांग्रेस सभापति सुशील कोइराला पुन: पार्टी सभापति बन्न चाहेको, वरिष्ठ नेता शेरबहादुर देउवाले पनि १३औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिन चाहेको र उपसभापति रामचन्द्र पौडेलले अझै सक्रिय राजनीति गर्न चाहेका छन् । सोही कारण शीर्ष तीन नेताले पार्टीभित्रैबाट अरूलाई नै राष्ट्रपतिको उम्मेदवार बनाउने तयारी थालेका छन् । कांग्रेसले अहिलेकै राष्ट्रपति डा. रामवरण यादवलाई पुन: अगाडि बढाउनेदेखि मधेस आन्दोलनलाई ‘सेफ ल्यान्डिङ’ गर्न तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई अघि लगाउनेसमेत चर्चा छ । कांग्रेसले सहमति भए जनजातिबाट केबी गुरुङ र दलित समुदायबाट मानबहादुर विश्वकर्मालाई राष्ट्रपतिको उम्मेदवार बनाउन सक्नेछ । ‘मधेस आन्दोलनलाई ‘सेफ ल्यान्डिङ’ गराउनदेखि तराई–मधेसमा कांग्रेसको जनाधारलाई कायम राख्न कांग्रेसले महन्थ ठाकुरलाई अघि लगाउने विषयले पनि चर्चा पाएको छ,’ कांग्रेस एक केन्द्रीय सदस्य भन्छन्, ‘तर, सभामुखमा कांग्रेसले सघायो भन्दैमा एमाले र एमाओवादीले कांग्रेसले अघि सारेको उम्मेदवारलाई भोट हाल्छन् र जिताउँछन् भन्ने छैन ।’ एमालेले राष्ट्रपतिमा आफ्नै दाबी गरिरहेकाले कांग्रेसको यो प्रयासले सार्थक रूप पाउन सक्नेमा ती नेता नै विश्वस्त छैनन् । मधेसका सर्वमान्य नेता, पूर्व कांग्रेस नेता भएको र प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई भोट हाले पनि मधेसी जनअधिकार फोरम लोकतान्त्रिकसमेतले ठाकुरको नाममा समर्थन गर्न सक्ने कांग्रेस बुझाइ छ । तर, मधेसी समुदाय नै बनाउने हो भने कांग्रेसबाटै राष्ट्रपति भएका रामवरण यादवलाई अघि बढाउनुपर्ने, महिला सभामुख पहिलोपटक भएपछि राष्ट्रपति पनि समावेशी बनाउँदै पहिलोपटक दलितबाट मानबहादुर विश्वकर्मालाई अघि बढाउनुपर्ने र जनजातिबाट केबी गुरुङलाई बनाउनुपर्नेमा पनि छलफल भइरहेको ती नेताले बताए । ‘कांग्रेसले अघि सारेको उम्मेदवारमा एमाले र एमाओवादीले सहयोग गर्छन् भन्ने कांग्रेसको विश्वास हो, तर दुवै पार्टीले राष्ट्रपति सजिलै देलान् जस्तो लाग्दैन । आफ्नै पार्टीबाट जोडबल नगरी अरू पार्टीका उम्मेदवारलाई कसरी अघि बढाउने भन्नेमा पनि पार्टीभित्र बहस छ,’ ती नेताले भने । कांग्रेसले तमलोपा अध्यक्ष ठाकुरलाई अघि सार्दा मात्रै पनि नाकाबन्दी हट्ने, तराईमा आन्दोलन रोकिने ग्यारेन्टी नभएको कांग्रेसकै अर्का एक नेता बताउँछन् । ‘प्रधानमन्त्रीका लागि संसद्मा भोट हाल्ने, तर मधेस आन्दोलन जारी राख्ने, राष्ट्रपतिमा पनि भोट हाल्ने र फेरि नाकाबन्दी गर्न जाने हो भने कांग्रेसले किन मधेसीकै उम्मेदवार खोज्ने भन्ने पनि कुरा उठेको छ । दलित र जनजाति उम्मेदवार किन नउठाउने भन्ने पनि बहस छ,’ उनले भने । 
राष्ट्रपतिमा झन् ठूलो विवाद

परराष्ट्रमन्त्री दिल्लीमा, फुक्ला त दिल्लीको गाँठो?

काठमाडौं, १ कात्तिक
नयाँ सरकारले मधेसकेन्द्रित दलको आन्दोलन, भारतीय नाकाबन्दी र आन्तरिक रूपमा आपूर्ति असहजताको कारण क्रमश: राजनीतिक, कूटनीतिक र प्रशासनिक औँल्याएको छ । तर, तीनै समस्याको प्रमुख गाँठो नयाँदिल्लीबाट फुकाउनुपर्ने निष्कर्षसाथ उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापा शनिबार तीनदिने दिल्ली भ्रमणमा लागेका छन् । त्यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार आन्दोलनरत मधेसकेन्द्रित दल र थारूसँग सम्बन्धित समूहलाई वार्तामा आउन चिठी लेखेका छन् ।
प्रधानमन्त्री ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार र सत्तासाझेदार दलका नेता, पूर्वपरराष्ट्रमन्त्रीहरूसँग छलफल गरेर उपप्रधानमन्त्री थापा दिल्ली लागेका हुन् । नेपाली समयअनुसार पौने ६ बजे नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल पुगेका उपप्रधानमन्त्री थापालाई आइतबार दिउँसो पौने ३ बजे भारतीय विदेशसचिव सुब्रमन्यम जयशंकरले भेट्ने तय भएको छ । विदेशसचिवले थापा बसेको होटेल ओबरायमा गएर भेट्नेछन् ।
भारतीय विदेश मन्त्रालयले जारी गरेको सूचनाअनुसार थापा र भारतीय विदेशमन्त्री सुष्मा स्वराजको भेटवार्ता आइतबार साँझ पौने ८ बजे हैदराबाद हाउसमा हुनेछ । थापाको अन्य भेटवार्ताबारे जानकारी दिइएको छैन । उनी सोमबार दिउँसो १ बजेर २० मिनेटमा नयाँदिल्लीबाट काठमाडौं प्रस्थान गर्नेछन् । हाल नेपाल आयल निगमका उच्च अधिकारी दिल्लीमा रहे पनि इन्डियन आयल कर्पोरेसनका उच्च पदाधिकारीले भेट्न नचाहेका कारण उनीहरूको तहबाट गतिरोध फुकाउने कसरत सफल हुन सकेको छैन ।
‘आपूर्तिमा देखिएको अवरोधका विषयमा मूल रूपमा छलफल गर्छौँ, त्यसबाहेक दुईपक्षीय सम्बन्धका विविधि विषयमा पनि कुराकानी हुन्छ,’ उपप्रधानमन्त्री थापाले नयाँदिल्ली जानुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग भने । उनका अनुसार प्रधानमन्त्री केपी ओलीको भावी भारत भ्रमणबारे प्रारम्भिक चरणमा कुराकानी हुनसक्छ, तर यो मुख्य विषय होइन ।
वर्तमान असहजताको जड ‘दिल्ली सहमति’ बेगर जारी भएको नयाँ संविधान रहेको र समाधान पनि दिल्लीको विश्वासबाटै हुन्छ भन्ने राजनीतिक निष्कर्ष सरकारको हो । उच्च सरकारी सूत्रहरूको बुझाइमा नाकाबन्दी देखिनका लागि सामान्य प्राविधिकजस्तो र यसको चाबी मधेसकेन्द्रित दलसँग रहेजस्तो देखिए पनि वास्तविक अर्थमा नयाँदिल्लीमा छ । दिल्लीदाहिना भएमा सबै कुरा मिल्छ भन्ने बुझाइमा सरकार छ ।
२४ असोजमा सम्पन्न प्रधानमन्त्री निर्वाचन पछिल्लो दृष्टान्त हो, जहाँ संसदीय प्रक्रिया बहिष्कार गरेर आन्दोलनमा रहेका मधेसकेन्द्रित दलले पनि सहभागिता जनाएर कांग्रेस सभापति सुशील कोइरालाको पक्षमा मत हालेका थिए । संविधान अस्वीकार गरेका ती दलका सांसदले यही संविधान कार्यान्वयनको पहिलो प्रक्रियामा आफ्नै विवेकले सहभागिता जनाएको पत्याउने नगन्य छन् । पृष्ठभागमा नयाँदिल्लीले निर्वाह गरेको भूमिका बुझेका प्रधानमन्त्री ओली, उपप्रधानमन्त्री थापा नयाँदिल्लीसँग सीधासीधा कुराकानी गरेर निक्र्योल निकाल्न चाहन्छन् ।
भूकम्पपछि दाता सम्मेलनमा काठमाडौं आउँदा भारतीय विदेशमन्त्री सुष्मा स्वराज र पराष्ट्रमन्त्री महेन्द्र पाण्डेबीच औपचारिक छलफल भएको थियो । त्यसपछि पनि पाण्डेले १४ असोजमा स्वराजसँग न्युयोर्कमा कुराकानी गरे, तर त्यो अनौपचारिक र साइडलाइन वार्ता थियो ।
त्यसो त ११ असोजमा आपूर्तिमन्त्री सुनीलबहादुर थापाले पनि भारतीय विदेशमन्त्री स्वराजसँग नयाँदिल्लीस्थित स्वराजनिवासमा भेटवार्ता गरेका थिए । दुवैतिरका उच्च अधिकारीसमेत सहभागी रहे पनि त्यो भेटवार्ता औपचारिक तवरको थिएन । अब दिल्लीसँग औपचारिक वार्ता र संवादलाई निरन्तरता दिने मौकाका रूपमा पनि सरकारले बुझेको छ ।
दिल्लीले वर्तमान असहजताको समाधान मधेसकेन्द्रित दलसँग वार्ता र संविधानमा उनीहरूको मुद्दा सम्बोधन गर्ने प्रतिबद्धताबाट मात्रै सम्भव देखेको छ । भारतीय जनता पार्टीदेखि कंग्रेस आई, भारतीय कम्युनिस्ट पार्टी माक्र्सवादी, जनता दल युनाइटेड, समाजवादी पार्टीले भारत सरकारले लगाएको अवरोधको निन्दा गरेका छन् । तर, उनीहरूले नाकाबन्दी भन्न रुचाएका छैनन् ।
भाजपा नेता भगतसिंह कोस्यारीदेखि जनता दल युनाइटेड (नीतीश कुमारको पार्टी) ले भारत सरकारको प्रतिक्रियाको विरोध जनाएका छन्, तर नाकाबन्दी लागू भएको होइन भन्ने बुझाइ उनीहरूमा छ । सी राजामोहन, शशी थरुर, केभी राजनजस्ता कूटनीतिक मामिलाविज्ञले नेपाल, पाकिस्तान र माल्दिभ्समा भारतको भूमिका असफल भएको भन्दै विद्यमान व्यवहार परिवर्तन गरेर छिमेकीलाई विश्वासमा लिन आग्रह गरिरहेका छन् । भारत सरकारमाथि नेपाल मामिला सुल्झाउने दबाब उत्तिकै परेको छ, जति आपूर्ति अभाव हटाउन भारतसँग वार्ता गर्न सरकारमाथि जनस्तरको दबाब काठमाडौंमा छ ।
उपप्रधानमन्त्री थापाले नयाँदिल्ली भ्रमणबारे २८ असोजमा परराष्ट्र मन्त्रालयमा ब्रिफिङ गरेलगत्तै भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरूपले थापाको भ्रमणलाई भारतले महत्त्व दिएको बताएका थिए । स्वरूपले पत्रकार सम्मेलनको सुरुवात नै उपप्रधानमन्त्री थापाको भारत भ्रमण र त्यसपछि विदेशमन्त्री सुष्मा स्वराजको रुस भ्रमणबाट भएको थियो । नयाँदिल्लीको प्राथमिकता नयाँ संविधानमा मधेसी दलमार्फत अभिव्यक्त चासो सम्बोधनमा केन्द्रित छ । दिल्लीसँगको सीधा वार्ताले उसलाई ‘फेस सेभिङ’ गराउने उपायको खोजी पनि गर्न सकिने र आपूर्ति व्यवस्थामा सहज आउने सरकारको अपेक्षा छ ।
दिल्लीमा परराष्ट्रमन्त्रीको कार्यक्रम
शनिबार अपराह्न ५:५०– इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल नयाँदिल्ली पुग्ने
आइतबार दिउसो २: ४५–विदेशसचिव सुब्रमन्यम जयशंकरसित भेटवार्ता
स्थान : होटेल ओबराय
आइतबार– साझ ७:४५– विदेशमन्त्री सुष्मा स्वराजसँग दुईपक्षीय वार्ता
स्थान : हैदराबाद हाउस
सोमबार दिउसो १:२०– दिल्लीबाट काठमाडौं प्रस्थान
दिल्लीलाई मनाउनुपर्ने ६ कारण
  • सार्वजनिक रूपमा जे भनिए पनि यो भारतले नेपालमाथि लगाएको अघोषित नाकाबन्दी नै हो, जसको समाधान दिल्लीसँग समझदारी कायम नगरी सम्भव छैन ।
  • आपूर्ति अवरोध रक्सौलबाहेकको नाकामा छैन । तर, आइओसीका पदाधिकारीले नेपाली ट्यांकरमा तेल भरेर पठाउन मानेका छैनन् । दिल्लीले संकेत नदिएसम्म यो अवस्था सहज हुँदैन ।
  • रक्सौललगायत केही सीमानाकामा नगन्य मानिस धर्नामा बसेका छन् । भारतीय भूमिबाट नेपालतर्फ पेट्रोल बम हानिएको छ, दशगजामा धर्ना दिइएको छ । भारतीय सुरक्षा फौजले साथ नदिने हो भने अवरोध हट्न दश मिनेटभन्दा धेरै लाग्दैन । यो जटिलता दिल्लीले मात्रै फुकाउन सक्छ ।
  • रक्सौलबाहेक अन्य नाकाबाट आवागमन पनि सहज भएको छैन । सुरक्षा र स्थानीय अधिकारीले माथिको आदेश भन्दै अवरोध गरेका छन् । केन्द्र सरकारको आदेशमा आवागमन सहज हुन्छ ।
  • रक्सौल नाकामा दुई हजारभन्दा बढी ट्यांकर अड्किएका छन् । ती गाडीलाई सरकार पूर्व र पश्चिमका अन्य नाकाबाट नेपाल ल्याउन चाहन्छ । त्यसका लागि दिल्लीको सहयोग अपरिहार्य हुन्छ ।
  • संविधान संशोधनलगायतका विषयमा पनि नयाँदिल्लीको खास चाहना के हो ? त्यसलाई बुझ्ने र नेपालले आफ्नो सीमारेखा स्पष्ट गर्ने समय यही हो भन्ने सरकारको बुझाइ छ । त्यसका लागि दिल्लीमा खुलस्त वार्ता गर्नुपर्ने आवश्यकता सरकारले महसुस गरेको छ।
परराष्ट्रमन्त्री दिल्लीमा, फुक्ला त दिल्लीको गाँठो?

तेस्रो मुलुकबाट आएका सात हजार कन्टेनर भारतले रोक्यो

           काठमाडौं, १ कात्तिक भारतले नेपालमाथि लगाएको अघोषित नाकाबन्दीका कारण तेस्रो मुलुकबाट कोलकाता हुँदै ल्याइएका सामान रहेको ६ हजार ९ सय कन्टेनर भारतीय भूमिमा रोकिएका छन् । यीमध्ये कोलकाता बन्दरगाहमा २ हजार ४ सय कन्टेनर रोकेर राखिएका छन् भने बाँकी भारतीय भन्सार नाका र बाटोमा अड्किएका छन् । रोकिएका कन्टेनरको विलम्ब शुल्क मात्रै दैनिक अढाइ करोड रुपैयाँ तिर्नुपर्ने अवस्था रहेको कोलकातास्थित नेपाली महावाणिज्यदूत चन्द्रकुमार घिमिरेले जानकारी दिए । घिमिरेका अनुसार कोलकातामा पर्खेर बसेकाबाहेक तेस्रो मुलुकबाट आएर भारतमा अड्किएका कन्टेनरको संख्या मात्रै ३ हजार १ सय ५० रहेको छ । ‘नेपाल–भारत ६ वटा भन्सार नाकामा यी कन्टेनर रोकिएका छन्,’ महावाणिज्यदूत घिमिरेले कोलकाताबाट नयाँ पत्रिकासँग टेलिफोनमा भने । जसअनुसार सबैभन्दा बढी रक्सौलमा मात्रै तेस्रो मुलुकबाट आएका २ हजार ५ सय कन्टेनर रोकिएका छन् । पूर्वका काँकडभिट्टा र नेपालगन्ज नाकामा कन्टेनर रोकिएका छैनन् भने नौतुनवा नाकामा डेढ सय र जोगबनी नाकामा ५ सय कन्टेनर रोकिएका छन् । यीमध्ये कोलकाताबाट नेपालतर्फ प्रस्थान हुन पर्खेर रहेका १ हजार कन्टेनर छन् । ‘कोलकाताबाट नेपालतर्फ करिब ३ सय ५० कन्टेनर प्रस्थान गरेका छन्, तिनीहरू बाटामै छन्, भन्सारमा अवरोधका कारण रोकिने अवस्था छ,’ घिमिरे भने । घिमिरेका अनुसार करिब ८५ हजार मेट्रिकटन मल तथा आइरन, तेललगायत धेरै सामग्री भारतमा रोकिएका छन् । भन्सार, बन्दरगाह र ट्रान्सपोर्टरलाई बेग्लाबेग्लै विलम्ब शुल्क तिर्दा दैनिक करिब अढाइ करोड रुपैयाँ पर्न आउने उनले बताए । ‘हामीले सम्बद्ध नेपाली र भारतीय सरोकारवालालाई महावाणिज्य दूतावासमा बोलाएर शुक्रबार छलफल गर्‍यौँ र नेपालको परिस्थिति जानकारी दिएर विलम्ब शुल्क मिनाहा गरिदिन आग्रह गरेका छौँ,’ घिमिरेले भने, ‘उनीहरूले सकारात्मक छौँ भनेका छन्, सायद केही दिनभित्रै सकारात्मक जवाफ दिनेछन् ।’ 
तेस्रो मुलुकबाट आएका सात हजार कन्टेनर भारतले रोक्यो

शनिबार दिनभरमा आयो १५ ट्यांकर पेट्रोल

काठमाडौं, असोज ३० । भारतले नेपाली ट्यांकरहरुलाई पर्याप्त मात्रामा इन्धन नदिँदा देशमा इन्धनको आपूर्ति विकराल बन्दै गएको छ ।भारतीय आयल निगमले ज्यादै न्यून मात्रामा इन्धन दिने र नाकाहरुबाट समेत चेकजाँचमा कडाइ जारी राखेको छ ।शनिबार साँझसम्ममा देशका विभिन्न नाकाहरुबाट १५ ट्यांकर पेट्रोल, २७ ट्यांकर डिजल, ९ बुलेट ग्यास र एक ट्यांकरमट्टितेल नेपाल भित्रिएको छ ।रुपन्देहीको बेलहिया नाका, काँकडभिट्टाको मेची भन्सार, विराटनगरको रानी भन्सार, कैलालीको धनगढी नाकाबाट इन्धनका गाडीहरु नेपाल भित्रिएका हुन् ।अन्य मालबाहक गाडीहरु भने प्रशस्त मात्रामा आइरहेको हाम्रा स्थानीय समाचारदाताहरुले जनाएका छन् । 

पूर्व चल्ने गाडीका सिसा हरेक दिन यसरी फुटाइन्छ

विराटनगर : विराटनगरदेखि काठमाडौंसम्म सञ्चालन हुँदै आएको विराट डिलक्सका चालक कृष्ण कँडेलले टाउकोमा हेल्मेट लगाएर गाडी कुदाउन थालेको १३ दिन भइसक्यो ।
 
विराटनगरबाट काठमाडौं र काठमाडौंबाट विराटनगरसम्म गाडी चलाउँदै आएका उनी आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले राजमार्गमा सञ्चालन हुने सवारीसाधनलाई लक्षित गरेर आक्रमण गर्न थालेपछि टाउको सुरक्षित गर्न उनी हेल्मेट लगाउँछन् ।
 
दसैंमा आउजाउ गर्ने यात्रुको सुविधाका लागि प्रहरी सुरक्षाभित्र सवारीसाधन सञ्चालन गर्न यातायात व्यवसायी तायर भएपछि १३ दिनदेखि लामो दूरीका सवारीसाधनलाई प्रहरीले स्कर्टिङ गरेर गन्तव्यसम्म पुयाउने काम गरिरहेको छ। कँडेलले चलाउने गाडीका सिसा कयौंपटक आन्दोलनकारीको ढुंगा लागेर फुटेका छन् ।
 
 
‘प्रहरीले गाडीको स्कर्टिङ गर्छ । हामी प्रहरी स्कर्टिङभित्रै गाडी चलाइरहेका हुन्छौं’, उनले भने, ‘रातको समयमा आन्दोलनकारीले लुकेर कहाँबाट ढुंगा हान्छन् भन्ने थाहै हुँदैन । त्यसले लागेर गाडीका सबै सिसा फुटिसके।’ गाडीका सबै सिसा फुटिसक्दा पनि सिसाको ठाउँमा प्लास्टिक लगाएर गाडी कुदाउनु परिरहेको उनको भनाइ छ । कँडेलले रात्रीबस कुदाउने चालक, गाडीदेखि लिएर यात्रुसमेत प्रहरी स्कर्टिङभित्रै असुरक्षित हुने गरेको सुनाए । ‘ज्यान जोखिममा राखेर गाडी कुदाउने गरिन्छ’, उनले भने, ‘मरिन्छ कि बाँचिन्छ, टुंगो हुँदैन ।’
 
विराटनगरबाट काठमाडौं गइरहेको ना ४ ख ३३४३ नम्बरको जगदम्बा ट्राभल्सका सहायक खेम पौडेललाई पाँच दिनअगाडि सप्तरीको भारदहमा गाडीभित्रै ढुंगाले लाग्यो । प्रहरी स्कर्टिङमा कुदिरहेको गाडीभित्र चालकको नजिकै बसिरहेका उनको तिघ्रामा एक्कासि ढुंगा लाग्दा चोट लाग्यो ।
 
पौडेलका अनुसार ढुंगाले लागेर गाडीको सिसै फुट्यो । उनले रातको समयमा काठमाडौं–विराटनगर सञ्चालन हुने प्रायः गाडीका अगाडि तथा साइडका सिसा आन्दोलनकारीले प्रहार गरेको ढुंगा लागेर फुटेको बताए। ‘रातको समयमा कुद्ने कुनै पनि गाडीका सिसा नफुटेका छैनन्’, उनले भने, ‘प्रायः सबै गाडीका सिसा फुटेका छन् ।’

उनका अनुसार सप्तरीको भारदहदेखि सिराहाको मिर्चैयासम्म आन्दोलनकारीले रातको समयमा सवारीसाधनलाई लक्षित गरेर ढुंगा हान्छन् । उनले सुनसरीको दुहबीमा पनि आन्दोलनकारीको निशानामा सवारीसाधन पर्ने गरेको जानकारी दिए ।
 
‘रातको समयमा लुकेर बसेकाले गाडीलाई गुलेली प्रयोग गर्दै ढुंगा हान्ने गर्छन्’, पौडेलले भने, ‘गाडीको ताँती हुने भएकाले कुन ठाउँबाट ढुंगा हानिएको हो भन्ने प्रहरीले ठम्याउन पनि सक्दैन ।’पूर्व नेपाल यातायात व्यवसायी संघ विराटनगरका शाखा प्रमुख किशोर धमलाले रातको समयमा सञ्चालन हुने सबै गाडीका चालकलाई हेल्मेट लगाउन भनिएको बताए ।

उनले गाडीका चालक र अन्य कर्मचारीले यात्रुलाई सुनसरीको इनरुवादेखि महोत्तरीको बर्दिबाससम्म नसुत्न र गाडीको झ्यालको सिसामा टाउको नअड्याउन सचेत गराउने गरेको बताए । ‘गाडीमा यात्रा गर्ने यात्रुदेखि लिएर चालकसम्म असुरक्षित छन्’, धमलाले भने, ‘गाडीमा चढ्नेहरूले सुरक्षित हुने उपाय आफैं निकाल्नुपर्ने अवस्था आएको छ ।’
 
पूर्व नेपाल यातायात व्यवसायी संघका अध्यक्ष राजन कँडेलले विराटनगरबाट पश्चिमतर्फ सञ्चालन हुने रात्री गाडी कुनै पनि सग्लो फिर्ता नहुने गरेको सुनाए । कँडेलले एउटा गाडीका सिसा फुट्दा १५ देखि २० हजार रुपैयाँबराबरको क्षति हुने गरेको जानकारी दिए ।
 
यातायात व्यवसायीका अनुसार विराटनगरबाट काठमाडौंका लागि दैनिक २० देखि ३० वटा गाडी प्रहरी स्कर्टिङमा चल्ने गरेका छन् । काठमाडौं आउजाउ गर्ने सबै गाडीका सिसा फुटेका छन् । प्रहरीले एकपटकमा तीनदेखि चार सय गाडीको स्कर्टिङ गर्छ । कँडेलले प्रहरी स्कर्टिङमा ८० देखि ९० को स्पिडमा गाडी चलाउनुपर्ने बाध्यता रहेका कारण कुनै समस्या परेर ब्रेक लगाउनुपरेमा अर्को दुर्घटना निम्तिनसक्ने सम्भावना रहेको पनि बताए ।
 
पूर्वक्षेत्रीय प्रहरी प्रमुख डीआईजी माधवप्रसाद जोशीले प्रहरीले चनाखो भएर रात्री गाडीको स्कर्टिङ गरिरहेको जानकारी दिए । ‘ठूलो संख्यामा रहेका गाडीको स्कर्टिङ एकैपटक गर्नुपर्ने हुन्छ । केही गाडीमा आन्दोलनकारीका नाममा ढुंगा प्रहार हुनु सामान्य कुरा हो’, जोशीले भने, ‘प्रहरीले स्कर्टिङ गरेका कारण आन्दोलनकारीले गाडी तोडफोड र चालकलाई कुटपिट गर्न पाएका छैनन् ।

लुकेर गर्ने गतिविधिबाहेक अन्य अवरोध गर्ने सम्भावना हुँदैन ।’ डीआईजी जोशीले बढी स्पिडमा कुदिरहेको गाडीमा लुकेर गरिएको ढुंगा प्रहारलाई प्रहरीले ठम्याउन पनि नसक्ने बताए ।

नेपालको जहाज ठूलो दुर्घटनाबाट जोगियो

           काठमाडौं ३० असोज २०७२ : हङकङबाट काठमाडौं उड्ने तयारीमा रहेको नेपाल एयरलाइन्सको ठूलो एयरबस गम्भिर दुर्घटनाबाट जोगिएको छ।टेक अफ तयारी भइरहेका बेला पाइलटले पाइलटले जहाजमा  प्वाल परेको पत्ता लगाएपछि उडान अचानक रोकिएको थियो। पाइलटको सावधानीका कारण ठूलो दुर्घटना टरेको छ।खाना बोक्ने गाडीले जहाजलाई ठक्कर दिएर प्वाल पारेको बताइएको छ। यदि जहाज उडेको भए आकाशमै पड्किने खतरा रहेको जानकारी पाइलट विजय लामाले दिएका छन्।