Taja Samachar Nepal

Taja Samachar Nepal
News

Friday, September 11, 2015

जनकपुरमा प्रहरीको गोली लागी तीनजनाको मृत्यु..!!(वीडियो सहित )

      जनकपुर, भदौ २५ । जनकपुरमा कर्फ्यु उल्लंघन गर्दै प्रदर्शनमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीचको झडपका क्रममा शुक्रबार प्रहरी चलाएको गोली लागी तीनजनाको मृत्यु भएको छ ।जनकपुरको मिल्स एरियामा भएको झडपमा प्रहरीको गोली मृत्यु हुनेहरुमा जनकपुर जमुनियाँका १६ वर्षीय निक्कु यादव र महेन्द्रनगरका सञ्जय चौधरी रहेका छन्यस्तै, पिरारी चोकमा प्रहरीको गोली लागेर सिमरजोडाका १३ वर्षीय किशोर दिलिप यादवको मृत्यु भएको छ । गोली लागी घाइते भएका पाँचजनालाई उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

      प्रदर्शन नियन्त्रण गर्न प्रहरीले एक सय राउन्डभन्दा बढी अश्रुग्यास प्रहार गर्नुका साथै हवाई फायरसमेत गरेको थियो
यसैबीच, धनुषा जिल्ला सुरक्षा समितिको बैठकले जनकपुरलाई दंगाग्रस्त क्षेत्र घोषणा गरेको छ । प्रदर्शन हिंसात्मक बनेपछि सुरक्षा समितिले सेना परिचालन गर्ने तयारी पनि गरेको छ ।
      यसअघि, प्रदर्शनकारीले धनुषाधाम नगरपालिकास्थित प्रहरी बिटमा आगजनी गरेका थिए । गाउँ–गाउँबाट लाठीसहित आएका प्रदर्शनकारीले जनकपुरमा भेला भइ प्रदर्शन गरेका हुन् ।आन्दोलनका कारण सुरक्षा अवस्था कमजोर बन्दै गएपछि जनकपुरमा शुक्रबार बिहान ६ बजेदेखि कर्फ्यु लगाइएको छ । आन्दोलनकारीले भने कर्फ्यु उल्लंघन गरेरै प्रदर्शन गरेका हुन् ।



तनहुँमा प्रहरीले गोली चलाउदा एकको मृत्यु : नौ घाइते

तनहुँ, २६ भदौ / पूर्णबहादुर आलेको मृत्युको अनुसन्धान गर्न माग गर्दै आन्दोलनमा उत्रिएका आन्दोलनकारी र प्रहरीबीच शुक्रबार साँझ यहाँ झडप हुँदा एक जनाको मृत्यु भएको छ । उक्त घटनामा परी नौ प्रहरी र तीन आन्दोलनकारी गरी १२ जना घाइते भएका छन् ।प्रहरीको गोली लागी व्यासनगरपालिका वडा नं १ भादगाउँ निवासी १८ वर्षीय रोशन दुराको मृत्यु भएको हो । गोली लागी सख्त घाइते भएका दुराको पोखरास्थित मणिपाल अस्पतालमा उपचारका क्रममा गएराति मृत्यु भएको हो ।
दुईपक्षीय भिडन्तमा परी प्रहरी नायब निरीक्षक राजेन्द्रप्रसाद वाग्ले, प्रहरी सहायक निरीक्षक मानबहादुर थापा, रमेश खरेल र कृष्ण परियार, प्रहरी हवल्दार सुशील भण्डारी, हरिबहादुर कुमाल र प्रहरी जवानतर्फ चन्द्रबहादुर प्रजा, सुनिल गुरुङ र सन्तबहादुर कुँवर घाइते भएका छन् ।त्यसैगरी आन्दोलनकारीतर्फ व्यासनगरपालिका– ११ निवासी किरण गुरुङ सख्त घाइते भएकाले उपचारका लागि पोखरा पठाएको छ भने एक शिशुको उपचारपछि घर फर्काएको छ । आन्दोलनकारीलाई शव बुझेर परीक्षण गर्न आग्रह गरेका छौँ प्रमुख जिल्ला अधिकारी महादेव पन्थले भन्नुभयो– “भीडलाई उत्तेजित नगर्न र शान्त वातावरण सिर्जना गर्न सुरक्षा निकायबीच छलफल भइरहेको छ ।”उहाँले भन्नुभयो–“आज बिहानैदेखि सर्वपक्षीय छलफल भइरहेको छ पीडितको मागप्रति प्रहरी प्रशासन संवेदनशील रहेकाले आन्दोलनको नाउँमा उग्र रुप नलिनसमेत आग्रह गरिएको छ ।
व्यासनगरपालिका वडा नं ७ मानुड घर भई हाल व्यास– १ मा दिदीसँग बसेर दमौलीस्थित महर्षि वेदव्यास संस्कृत माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत १६ वर्षीय आलेको गत आइतबार मृत अवस्थामा भेटिएपछि हत्या गरिएको भन्दै ६ दिनदेखि निरन्तर रुपमा आन्दोलन गर्दै आएका छन् ।
आलेको हत्याको आरोपमा प्रहरीले दुई युवती र एक युवकलाई अनुसन्धानका लागि पक्राउ गरिसकेको र थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक प्रेमशङ्कर चौधरीले बताउनुभयो । शङ्कास्पद अवस्थामा मृत भेटिएका आलेको विषयलाई लिएर चर्किएको आन्दोलनका क्रममा शुक्रबार दमौलीस्थित सेतीमादी दैनिकको कार्यालयमा भएको ढुङ्गा प्रहारबाट कार्यालयका झ्यालका सिसाहरु फुटेको छ ।


कैलालीका विद्यालयहरु दुई महिना देखि बन्द,कसले सुन्ने पिडा ?(भिडियोसहित)


कैलाली, भदौ २६ । एक महिना यताको बन्द, प्रदर्शन र कर्फ्युको कारण कैलालीको टीकापुर लगायत आसपासाका गाविसका बिद्यार्थीको पठनपाठन चौपट बनेको छ ।
अभिभावकले पटक पटक बन्दकर्ता र स्थानिय प्रशासनसंग बिद्यालय खुलाउन आग्रह गर्दा समेत दुबै पक्षबाट सुनुवाई भएको छैन ।
साउनको पहिलो साताबाट वर्षे विदा दिएका कैलालीका विद्यालयहरु झण्डै दुई महिना पुग्न लाग्दा समेत खुल्न सकेका छैनन् ।
सदरमुकाम धनगढीमा कर्फ्युको समय घटाएसंगै बन्द बिद्यालय खुलेका त छन् तर डरका कारण बिद्यालयमा बिद्यार्थीको उपस्थिती ज्यादै न्यून रहेको छ ।
अभिभावक पनि छोराछोरीलाई बिद्यालयसम्म पठाउन डराउछन् । जिल्लामा सद्भाव कायम गरी बन्द बिद्यालय संचालनमा ल्याउन अभिभावको आग्रह छ ।(भिडियो रिपोर्ट)

शनिबार पनि तराईका केही जिल्लाहरु तनावग्रस्त

काठमाडौं, भदौ २६ । मधेशी मोर्चाको आन्दोलनका कारण शनिबार पनि जनकपुर बिहानैदेखि तनावग्रस्त छ । शुक्रबार मोर्चाको आन्दोलनका क्रममा तीन जनाको मृत्यु भएपछि जनकपुर अशान्त रहेको हो ।जनकपुरमा कर्फ्यु कायमै छ । महोत्तरीमा पनि शुक्रबार दुई जनाको मृत्यु र एक गम्भिर घाइते भएकाले स्थिति असामान्य छ । कर्फ्यु कायमै छ भने सेनाको
गस्ती कायमै छ ।सप्तरीमा पनि स्थानीय प्रशासनले जिल्लाका केही स्थानलाई दंगाग्रस्त क्षेत्र घोषणा गरेको छ ।मधेशी मोर्चाको प्रदर्शन हिंसात्मक बन्न थालेपछि जिल्ला सुरक्षा समितिको वैठकले कोशी व्यारेजदेखि बलान नदीको पुलसम्म पूर्व–पश्चिम राजमार्गलाई दङ्गाग्रस्त क्षेत्र घोषणा गरेको हो ।सिरहाको लहान नगरपालिकालगायतका क्षेत्रमा पनि कर्फ्यु जारी छ । सिरहालाई दंगाग्रस्त क्षेत्र नै घोषणा गरिएको छ ।
         बीरगञ्ज, कैलालीको धनगढी र टीकापुरमा पनि कर्फ्यु जारी नै छ । संयुक्त मधेशी मोर्चाले आह्वान गरेको तराई बन्द गत साउन २९ गतेबाट जारी छ ।मोर्चाको बन्दका कारण मध्य तराईका सिरहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साको जनजीवन प्रभावित बनेको छ ।त्यस्तै थरुहट संघर्ष समितिको गत साउन २६ गतेदेखि जारी आन्दोलनका कारण चितवन, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङलगायतका जिल्ला प्रभावित रहेका छन् ।

साउदीमा क्रेन खस्दा हज गर्न गएका १ सय ७ जनाको मृत्यु

साउदीमा क्रेन खस्दा हज गर्न गएका १ सय ७ जनाको मृत्यु

काठमाडौं, भदौ २६ । साउदी अरबको मक्का शहरमा क्रेन खसेर १ सय ७ जनाको मृत्यु भएको छ ।
मुस्लिमहरुको पवित्र शहर मक्कामा भएको दुर्घटनामा हज गर्न गएका अरु २ सय ३० जना घाइते भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
क्रेन मस्जिदको छतमा ठोक्किन पुग्दा दुर्घटना भएको बताइएको छ । मृत्यु र घाइते हुनेमा मक्कामा हज गर्न गएका विभिन्न देशका तीर्थयात्री रहेका छन् ।
तीर्थालुहरु नमाजमा व्यस्त रहेका बेला रातो रंगको उक्त क्रेन मस्जिदको छत तोडेर खस्दा यो दुर्घटना भएको हो । तीब्र हावा र वर्षाका कारण दुर्घटना हुन पुगेको बताइएको छ ।