Taja Samachar Nepal

Taja Samachar Nepal
News

Sunday, January 24, 2016

मेडिकल सुपरिटेन्डेन्ट नियुक्तिमा ‘राजनीतिक चलखेल’


माघ ११, २०७२- मेची अंचल अस्पतालका बाल रोग विशेषज्ञ डा. टंक बाह्रकोटीलाई गत पुस २६ मा सरकारको सचिव स्तरीय निर्णयबाट अस्पतालको ‘आर्थिक तथा प्रशासनिक अधिकार’ समेत प्रयोग गर्ने गरी मेडिकल सुपरीटेन्डेन्ट (मेसु) को जिम्मेवारी प्रदान गरियो । 
अस्पतालका पूर्व निमित्त प्रमुख समेत रहेका बाह्रकोटी जिम्मेवारी पाएपछि निक्कै फुरुङ्ग बने । २९ गते चिठी पाएर ३० गतेबाट मेसुको हैसियतमा काम सुरु गरे । तर, उनलाई मेसु बनाउने सचिव स्तरीय निर्णयको मसी सुक्न नपाउँदै माघ ३ को मन्त्रीस्तरीय निर्णयले निमित्त मेसु  डा. पिताम्बर ठाकुरलाई नै मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी प्रदान गरेपछि भने डा. बाह्रकोटी छाँगाबाट खसेझैं भए । 

‘सिनियरिटीको आधारमा मेसुको जिम्मेवारी मैले नै पाउनु पर्ने हो,’ बाह्रकोटीले विलौना सुनाए, ‘तर, म माथि ठूलो अन्याय भयो ।’ उनले  राजनीतिक चलखेलका कारण आफ्नो  पद खोसिएको बताए । ‘मलाई मेसुवाट हटाउन ठूलो राजनीतिक र आर्थिक चलखेल भएको छ,’ उनले भने ।
 
लामो समयदेखि रिक्त अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट पदमा राजनीतिक हस्तक्षेपको गन्ध आएको छ । फोरम लोकतान्त्रिकका नेता तथा स्वास्थ्य मन्त्री रामजनम चौधरीले ११ औं तहका बाह्रकोटीको नाम काटेर उनी भन्दा कनिष्ठ १० औं तहका ठाकुरको नाम थपेको समाचार स्रोतको दाबी छ । 

ठाकुरलाई मेसु बनाउनका लागि झापा निवासी फोरमका एकजना नेताको भूमिका मुख्य रहेको स्रोतले दाबी गर्‍यो । ती नेताले ठाकुरलाई मेसु नबनाइए फोरम पार्टी नै छाड्ने धम्की दिएपछि मन्त्री चौधरीले बाह्रकोटीको नाम हटाएको स्रोतले बतायो । 

डा. ठाकुरले भने मेसु नियुक्तिमा कुनै राजनीतिक हस्तक्षेप नभएको दावी गरेका छन् । ‘मलाई मेसु बन्ने कुनै महत्वाकांक्षा पनि थिएन,’ ठाकुरले भने, ‘सरकारले जिम्मेवारी तोकेपछि कर्तव्य त पालना गर्नै पर्‍यो नि हैन ?’ 

अस्पतालका तत्कालिन मेसु डा. उमाकान्त झाको कोशी अंचल अस्पतालमा सरुवा भएपछि पदीय जेष्ठताका आधारमा डा. बाह्रकोटी निमित्त मेसु बनेका थिए । उनीसँग २०६७ कात्तिक ५ देखि २०७० चैतसम्म अस्पताल सम्हालेको अनुभव पनि छ ।  

बाह्रकोटी पनि सरुवा भएर कोशी अंचल अस्पताल गएपछि निमित्त मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी १० औं तहका  डा. ठाकुरले पाए । करिव १ वर्ष तीन महिना कोशी अस्पतालमा बिताएका बाह्रकोटी गत असोजमा ‘घर पायक’ सरुवा मिलाएर पुन: अस्पताल आएका हुन् । एमालेका खगराज अधिकारी स्वास्थ्य मन्त्री भएका बखत उनले सरुवा मिलाएका थिए । 

डाक्टर बाह्रकोटी असोज १० बाट अस्पताल हाजिर भएको बताए । तर, केही सातायता मेसु नियुक्तिमा भएको गन्जागोलपछि बाह्रकोटी विरक्तिएर बिदामा बसेका छन् । ‘उहाँ निजी कामका कारण बिदामा हुनुहुन्छ,’ मेसु डा. ठाकुरले भने । बाह्रकोटीसहित अस्पतालमा तीन जना बालरोग विशेषज्ञ छन्  । अहिले भने एकजना पनि अस्पतालमा नरहेको अस्पताल प्रशासनले जनाएको छ । बाह्रकोटी बिदामा छन् । राजु सेढाईं र यज्ञनिधि बस्र्यौला गोष्ठीमा भारत गएका छन् । ‘बालबालिकाका सिरियस किसिमका केसहरु यतिबेला रेफर गर्नुपर्ने बाध्यता छ,’ एक चिकित्सकले भने । 

डा. ठाकुरलाई जिम्मेवारी तोकिएपछि अस्पतालको दैनिक काम समेत प्रभावित भएको देखिन्छ ।  बिरामीको उपचारमा समेत समस्या पैदा भएको छ ।  कर्मचारीले समयमा तलव समेत नपाएको गुनासो गरेका छन् । तर, डा. ठाकुर भने सबै ठीकठाक भएको दाबी गर्छन् । 
प्रकाशित: माघ ११, २०७२