Taja Samachar Nepal

Taja Samachar Nepal
News

Monday, January 25, 2016

हाजिर ठोकेर भाग्छन् सांसद

काठमाडौं— व्यवस्थापिका संसदको सोमबारको बैठक गणपुरक संख्या नपुग्दा स्थगित हुन पुगेको छ। व्यवस्थापिका बैठक सञ्चालनका लागि कम्तिमा १ सय ४९ जना सदस्य उपस्थित हुनुपर्नेमा सोमबारको बैठकमा १ सय ४२ मात्र उपस्थित भएपछि स्थगित भएको हो।
nepalipatro-nagarik
सोमबार संसदमा ३ सयभन्दा बढी सांसदहरुले हाजिर गरेका छन्। तर उनीहरु बैठक सुरु हुनु अगावै संसद भवनबाट हिँडिसकेका थिए। हाजिर गर्नुलाई मासिक भत्ता प्राप्तिको नैतिक आधारका रुपमा सांसदहरुले लिँदै आएका छन्।

नयाँ संविधान जारी भएपछि सांसद संख्या अपुग हुँदा बैठक स्थगित भएको यो दोस्रो पटक हो।

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सदस्य संख्याको उपस्थितिबारे प्रश्न उठाएपछि गणना गर्दा उपस्थित सांसद संख्या १ सय ४२ मात्रै पुगेको थियो। नयाँ संविधान जारी भएपछि गणपुरक संख्या नपुग्दा २–२ पटक ब्यवस्थापिका संसद स्थगित हुन पुगेको छ।

दुवै स्थगित बैठक कोरम नपुगेकामा प्रश्न उठाउने सांसद खतिवडा नै हुन्। यसका कारण सोमबारको बैठकमा व्यापारसम्बद्ध बौद्धिक सम्पत्ति अधिकारसम्बन्धी सम्झौता, संशोधन प्रोटोकल अनुमोदन हुन सकेन।

बैठकको सुरुमै संविधान संशोधन विधेयकले आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले उठाएको माग सम्बोधन नगरेको भन्दै संघीय समाजवादी फोरम नेपालका सांसद शिवजी यादवले धारणा राखे । लगत्तै, मोर्चाआबद्ध ४ दलले संसद बैठक बहिस्कारलाई निरन्तरता दिएका थिए । सोलगत्तै नेपाल सद्भावना पार्टी र राष्ट्रिय मधेस समाजवादी पार्टी पनि बहिस्कार गरेर निस्कियो ।


जाजरकोटमा सुन खोज्ने चिनियाँलाई प्रशासनमा उपस्थित हुन आदेश


माघ ११, २०७२- जाजरकोटस्थित भेरी नदिको किनारमा सुनको संभाव्यता अध्ययन गर्ने भन्दै ‘ड्रिल’ गरिरहेको चिनियाँ कम्पनीलाई स्थानीय प्रशासनले उपस्थित हुन आदेश दिएको छ ।
चिनियाँ कम्पनीलाई आवश्यक कागजातसहित प्रशासनमा उपस्थित हुन प्रहरीमार्फत खबर पठाएको सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद सेढार्इंले बताए ।

धर्मश्री माइन नामक चिनियाँ कम्पनीले भेरीमालिका नगरपालिका–४ धल्ला र ५ मटेलामा सुन खानीको संभाव्यता अध्ययनका लागि उत्खनन् गरिरहेको छ । चिनियाँ नागरिक सङपिङको टोलीले एक महिनादेखि नगरपालिकाको उक्त दुई स्थानमा उत्खनन्को काम गरिरहेको हो । बगरको जमिनमुनि मेसिनद्वारा ड्रिल गरेर नमूना निकालि अध्ययन गरिरहेको सङपिङले बताए ।

१ सय ५० फिट गहिरो ड्रिल गरेर अनुसन्धान गर्दासम्म सुनको संभावना भने नभेटिएको उनले बताए ।
खानी तथा भूगर्भ विभागबाट सुन खानीको अध्ययन तथा अनुसन्धानको अनुमति लिएको बताउने उक्त कम्पनीले निरन्तर काम गरिरहेको छ । खानी तथा भूगर्भ विभागसँग भेरी नदीका विभिन्न ठाउँमा सुन पाईएको तथ्यांक रहेकोले कम्पनीले चासोका साथ अध्ययन गरेको हो ।
संभाब्यता अध्ययन अनुसन्धानमा सरकारी पक्षको उपस्थिति नहुँदा स्थानीय आशंकित छन् । स्थानीयले भने कम्पनीले स्थानीय प्रशासन तथा जिल्ला वन र वन उपभोक्ता समूहबाट अनुमति नलिएको बताएका छन् । उत्खनन् क्षेत्रमा कम्पनी टोली बाहेक अन्यलाई प्रवेशमा रोक लगाएको स्थानीय कर्णजंग शाहीले बताए ।

अझै तीन महिना अनुसन्धान जारी रहने सङपिङले बताए । उत्खनन्का लागि थप सामग्री ओसारपसार गर्न कम्पनीले आफ्नै खर्चमा २ किलोमिटर मोटरबाटो समेत निर्माण गरेको छ । जमिनको सतहमुनि भेटिएका विभिन्न चट्टान तथा अन्य खनिज पदार्थको नमूना थप अनुसन्धानका लागि कम्पनीको केन्द्रिय कार्यालयमा पठाउने गरेको पनि उनले बताए । यस अघि यो कम्पनीले दाङमा समेत सुनखानीको अध्ययन गरेको थियो ।