Taja Samachar Nepal

Taja Samachar Nepal
News

Tuesday, October 20, 2015

नेपालीहरु स्वाभिमान हुन्,स्वाभिमान रहन्छन्ःप्रधानमन्त्री

काठमाडौ,३ कार्तिक ।
प्रधानमन्त्री केपीशर्मा ओलीले मुलुक पहिलेदेखि नै एकतर्फी परनिर्भर भएकाले तत्काल बैकल्पिक व्यवस्था गर्न नसकिएको बताउनुभएको छ । अत्यावश्यक वस्तुको सहज आपूर्ति व्यवस्था गर्न प्रधानमन्त्री केपी ओलीलाई ध्यानाकर्षण पत्र बुझाउन गएका संयुक्त विद्यार्थी संगठनहरुको ध्यानाकर्षण पत्र बुझ्दै प्रधानमन्त्री ओलीले भौगोलिकताको कारण नेपाल पहिलेदेखि नै एकतर्फी परनिर्भर भएकाले संकट परेको अवस्थामा तत्काल बैकल्पिक व्यवस्था नभएको बताउनुभएको हो । उहाँले २१ औ शताब्दीमा पनि नेपालले अन्तराष्ट्रिय पारवहान सन्धीको उपयोगको लागि चित्त बुझ्दो न्याय नपाएको टिप्पणी गर्नुभयो । भारतीय नाकाबन्दी तर्फ संकेत गर्दै प्रधानमन्त्री ओलीले नेपाल सार्वभौमसत्ता र स्वतन्त्र राष्ट्र भएको र नेपाली जनता स्वाभिमान भएको भन्दै कमजोर हुनुको अर्थ थिचोमिचोमा पर्नुपर्छ भन्ने नभएको धारणा राख्नुभयो । प्रधानमन्त्री ओलीले नेपाली जनताले गल्ति गरेका कारण बर्तमान अवस्थाको सृजना नभएको स्पष्ट पाुर्नभयो । अहिलेको कठिन अवस्था निकट भबिष्यमै हट्ने भन्दै प्रधानमन्त्री ओलीले नेपाली जनताले देखाएको देशभक्तिको प्रशंसा गर्नुभयो । संयुक्त विद्यार्थी संगठनले तत्काल अत्यावश्यक बस्तुहरुको सहज आपूर्ति गर्नुपर्ने,भारतले लगाएको नाकाबन्दी हटाउन तत्काल पहल गर्नुपर्ने र अभावको बेला भईरहेको व्यापक कालोबजारी नियन्त्रण गर्नुपर्ने माग गर्दै ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

साउदीमा सुतेकै ठाउँमा नेपालीको मृत्यु

साउदी अरब: रोजगारीको सिलसिलामा साउदी अरब आएका एक नेपालीको सुतेकै ठाउँमा मृत्यु भएको छ । 
 
पन्ध्र महिनाअघि साउदी अरब आएका पर्वत सलाजुङ्गा–३ का ३३ वर्षीय मानबहादुर पुन मगरको गत सोमबार राति सुतेकै अवस्थामा मृत्यु भएको हो ।
 
कामबाट फर्केर राति खाना खाएर सकुशल सुतेका मगर रातको १ बजे एक्कासि छट्पटिएका थिए । उनी छटपटिएको थाहा पाएपछि कोठामा सँगै सुतेका साथीले अस्पताल लैजाने तयारी गर्दागर्दै उनको सुतेकै ठाउँमा मृत्यु भएको झविलाल न्यौपानेले जानकारी दिए । 
 
शव परीक्षण भइनसकेकाले उनको के कारणले मृत्यु भएको हो भन्ने खुल्न सकेको छैन । मृत्यु भएका मगरको शव जुबैलस्थित जेनेरल अस्पतालमा राखिएको र शव स्वदेश पठाउनका लागि पहल भइरहेको न्यौपानेले बताए । 
 
अल अद्वानी कम्पनीको स्काइफोल्डरमा कार्यरत पुन मगर साउदीको जुबैलस्थित अबुद्रिया क्याम्पमा बस्दै आएका थिए । मगरको परिवारमा वृद्ध बुबाआमा, श्रीमती र दुई छोरी छन् । 

राष्ट्रपतिले दिए छ सय दश कैदीलाई माफी

काठमाडौँ:  राष्ट्रपति डा. रामवरण यादवले नयाँ संविधान जारी भएको तथा बडादसैं २०७२ का उपलक्ष्यमा संशोधित कारागार नियमावली बमोजिम कैद भुक्तान हुन बाँकी रहेका ६१० जनाको आज बाँकी कैदको माफी दिएका छन् ।  
 
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संविधानको प्रतिकूल नहुने असल चालचलन भएका पूर्णप्रसाद धमलासहित वृद्ध र अशक्तसमेतलाई कैद माफी गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । 
 
सोमबारको मन्त्रिपरिषद्को बैठकले ४० प्रतिशत कैद भुक्तान वा ६५ वर्ष उमेर पुगेका आधारमा कैद मिनाहा गर्ने व्यवस्थासहित ‘सजाय माफी, मुलतबी, परिवर्तन वा कम कार्यविधि, २०७१’ संशोधन गरेको थियो ।

यसमा गम्भीर अपराध बाहेकका कैदीलाई माफी दिइएको छ । यसअघि ५० प्रतिशत कैद भुक्तान र ७० वर्ष उमेरपछि कैद मिनाहा हुने व्यवस्था थियो ।

चितवनमा बस पल्टियो, एकको मृत्यु, तीनजना घाइते

चितवन, कार्तिक ३ । पूर्वी चितवनको रत्ननगर–७ बेल्सी पुलनजिकै मंगलबार दिउँसो यात्रुबहाक बस पल्टिँदा एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बसका चालक ३५ वर्षीय राजु खतिवडा रहेका छन् । उनको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

पूर्वबाट आउँदै गरेको ना५ख २८१ नम्बरको बस अनियन्त्रितभइ पल्टिँदा सो दुर्घटना भएको हो । दुर्घटनामा परी अरु ३ जना घाइते भएको र उनीहरुको भरतपुर अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।घाइतेहरुको अवस्था सामान्य रहेको पनि प्रहरीले जनाएको छ ।