Taja Samachar Nepal

Taja Samachar Nepal
News

Tuesday, September 22, 2015

असन्तुष्टलाई वार्तामा ल्याउन कोइरालाको पहल

नयाँ संविधान जारी भएपछि पहिलोपटक असन्तुष्ट तराई केन्द्रीत दलका नेताहरुलाई भेटेर प्रधानमन्त्री सुशील कोइरालाले वार्ताको पहल गरेका छन्।
नयाँ संविधान कार्यन्वयन भएको तेस्रो दिन, मंगलबार, प्रधानमन्त्री सुशील कोइरालाले आन्दोलनरत तराई केन्द्रीत दलका शीर्ष नेताहरुसँग भेटवार्ता गरी उनीहरुलाई वार्ताबाट निकास खोज्न आग्रह गरेका छन्।
मंगलबार दुईवटा तराई केन्द्रीत मोर्चाका नेताहरुसँग छलफल गरेका प्रधानमन्त्रीले नयाँ संविधान संशोधन मार्फत उनीहरुका माग सम्बोधन गर्न सकिने भन्दै वार्ताको वातावरण बनाउन आग्रह गरे।
आन्दोलनकारी दलहरुले तराईका जिल्लामा लगाइएको कर्फ्यू र परिचालन गरिएका थप सुरक्षाकर्मी फिर्ता लिनुपर्ने अडान दोहोर्याएपछि प्रधानमन्त्रीले आन्दोलनलाई हिंसात्मक र आक्रामक हुनबाट रोक्न आग्रह गरेका थिए।
संविधान जारी भएपछिको अवस्थामा नयाँ चरणको आन्दोलन घोषणा गर्न मोर्चासम्बद्ध नेताको बैठकमा भाग लिन सप्तरी जाने क्रममा रहेका तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग मंगलबार बिहान उनकै पार्टी कार्यालयमा पुगेर प्रधानमन्त्री कोइरालाले छलफल गरेका हुन्।
बुधवार राष्ट्रसंघीय महासभामा भाग लिन न्युयोर्क जान लागेका उनले समानुपातिक समावेशीता, जनसंख्याका आधारमा निर्वाचन क्षेत्रको निर्धारण र प्रदेशका सीमांकनका बारेमा उठेका माग वार्तामार्फत सम्बोधन गर्न सकिने बताएका थिए।
उक्त भेटमा सहभागी नेपाली काँग्रेसका नेता एवं वन मन्त्री महेश आचार्यले प्रधानमन्त्रीले वार्ता र सहमतिमा जोड दिएको बताए।
उनले राज्य र आन्दोलनकारी दुवैका तर्फबाट मूठभेड हुने वा बल प्रयोग गर्नुपर्ने परिस्थिति रोकियोस् भन्नेमा दुवै पक्ष सहमत भएको जनाए।उनले भने, “वार्तामा बसेर समस्याको समाधान खोजौँ, अब संविधानमा गर्न सकिनेसम्म सुधारहरु के हुन् त्यसमा छलफल गरौँ र साझा धारणा बनाएर जाऔँ भन्ने हो।”
उक्त भेटमा अध्यक्ष ठाकुरले तराईमा भइरहेको आन्दोलनका क्रममा सुरक्षाकर्मीले दमन गरिरहेको भन्दै त्यहाँ देखिएका समस्याको राजनीतिक समाधानबारे प्रमुख ३ दलको साझा मार्गचित्र सहित आउन आग्रह गरेका थिए।
तराई मधेश लोकतान्त्रिक पार्टीका उपाध्यक्ष हृदयश त्रिपाठीले ४० भन्दा बढी आन्दोलनकारीको ज्यान गइसकेको र ६ सय भन्दा बढी घाइते हुँदासमेत सरकारले राजनीतिक समाधान नखोजेको आरोप लगाए।
उनले भने, “अझै पनि सेना परिचालन गरिएको छ, राजनीतिक समाधान खोजिएको छैन। त्यसका लागि सुरुमा तीन दल आफैँ एकत्रित हुनुस्, विवाद छ भने मिलाउनुस्, पहिले एमाले र एकीकृत माओवादीसँग कुरा गरेर हामीसँग वार्ता गर्नुस्।”
यस अघि मंगलबार दिउँसो प्रधानमन्त्री कोइरालाले, नेकपा एमालेका अध्यक्ष केपी ओली र एकीकृत माओवादीका अध्यक्ष प्रचण्डलाई साथ राखेर मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार र उनले नेतृत्व गरेको मोर्चामा आवद्ध नेताहरुसँग छलफल गरेका थिए।
तत्कालै संविधान संशोधन गरी आन्दोलनरत दलहरुका माग नसमेटे स्थिति विग्रन सक्ने भन्दै चाँडै निस्कर्षमा पुग्न आफूले प्रमुख दललाई आग्रह गरेको गच्छदारले बताए।फोरम लोकतान्त्रिकको पार्टी कार्यालय पुगेका प्रमुख नेताहरुले संविधान घोषणा गर्नुअघि नै गच्छदारसँग सहमतिको नजिक पुगिएको भन्दै चाँडै सहमति जुट्नेमा आफूहरु आशावादी भएको बताएका छन्।
फोरम लोकतान्त्रिकसहित ३ दलले जारी गतिरोध अन्त्य गर्न राष्ट्रसंघीय महासभामा भाग लिन अमेरिकाको न्युयोर्क जाने कार्यक्रम रद्द गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका छन्।
भारतले तराईमा जारी आन्दोलनको राजनीतिक समाधान खोज्न दबाब दिंदै गर्दा नेताहरुले पछिल्लो सक्रियता बढाएका छन्।
सोमबार भारतीय विदेश मन्त्रालयले ५ हप्ता यता तराईमा भइरहेका आन्दोलनका कारण नेपालमा सामान ढुवानी गरिरहेका भारतीय कम्पनीहरुले सुरक्षा चिन्ता व्यक्त गरेको जनाएपछि नेपालमा भारतीय कदमबारे अनेकौं अडकलबाजी भएका छन्।

महोत्तरीको जलेश्वरस्थित तीन सिमा नाका बन्द

काठमाडौँ, ५ भदौ - भारतीय पक्षले सुरक्षा व्यवस्थामा कडाइ गर्ने नाममा महोत्तरीको जलेश्वरस्थित तीन सिमा नाका बन्द गराएको छ। 

भारतीय पक्षले मूल भन्सार कार्यालय, सम्सी छोटी भन्सार नाका र मटिहानी नाकामा सुरक्षा व्यवस्था कडा बनाएको छ। ती भन्सार नाकामा सर्वसाधारण र सवारी साधनमा रोक लगाइएको छ। 

नेपालमा संविधान निर्माण भएपछि नेपाली भू-भागमा हिंसात्मक घटना बढेको कारण देखाउँदै भातरले सिमा नाका बन्द गराएको हो।