Taja Samachar Nepal

Taja Samachar Nepal
News

Saturday, September 12, 2015

दमौलीमा आइतबार पनि बिहानैदेखि प्रदर्शन

दमौली, भदौ २७ । तनहुँको दमौलीमा आइतबार पनि बिहानैदेखि प्रदर्शन भएको छ । प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको बिरोधमा स्थानीय प्रदर्शनमा उत्रिएका हुन् ।
मानुका पूर्णबहादुर आलेको मृत्युको बिषयमा प्रहरीले छानविन नगरेको भन्दै शुक्रबार गरिएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर व्यास नगरपालिका–१ का रोशन दुराको मृत्यु भएपछि आइतबार बिहानैबाट प्रदर्शन थालिएको हो ।
प्रदर्शनकारीले दमौली बजारमा राजमार्ग अवरुद्ध गरी प्रहरीबिरुद्ध नाराबाजी गरेका हुन् । प्रदर्शनको कारण जिल्लामा यातायात र शैक्षिकसंस्था ठप्प बनेको छ ।
गत सोमबार आदिकवि भानुभक्त क्याम्पस प्रांगणमा झुण्डिएको अवस्थामा मृत भेटिएका पूर्णबहादुर आलेको मृत्यु प्रकरणमा पुनः पोष्टमार्टम र निष्पक्ष अनुसन्धानको माग गर्दै दमौलीमा प्रदर्शन हुँदै आएको छ ।बन्दका कारण पोखराबाट आएका सवारी साधन थर्पुमा र काठमाडौंबाट गएका सवारी साधन डुम्रेमा रोकिएका छन् ।शनिबार दिनभर रोकिएका गाडी प्रहरीले राती ८ बजेमात्र संचालनमा ल्याएको थियो ।
यसैबीच, गत बुधबार प्रहरीले प्रहार गरेको अश्रुग्यास लागेर गम्भीर घाइते भएकी व्यास २ दमौलीकी ७८ वर्षीया सुनिमाया श्रेष्ठको पनि गए राति मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।