Taja Samachar Nepal

Taja Samachar Nepal
News

Tuesday, January 26, 2016

चितुवा र गैँडासँग दाँजेर मेरो मजाक उडाइयो : प्रधानमन्त्री ओली

काठमाडौँ, १३ माघ । सरकार गठन भएको १०७औं दिनमा प्रधानमन्त्री केपी ओलीले बालुवाटारमा मंगलबार सम्पादकसहितका पत्रकारसँग भेटघाट गरे । ओलीले संविधानका विशेषता, संविधान कार्यान्वयन, संविधान संशोधनपछिको अवस्था र भावी योजनाबारे करिब ४५ मिनेट भनाइ राखे, १५ मिनेटजति मात्रै पत्रकारसँग अन्तक्र्रिया गरे । उनका मुख्य भनाइ :
चितुवा र गैँडा आउँदा प्रधानमन्त्रीको मजाक
काठमाडौंमा मेट्रो रेल चलाउनुपर्छ, २५–३० लाख जनसंख्या भएको सहरमा त्यो चाहिन्छ, हामीले दिल्लीमा, बैंककमा हेरेका छौँ भनेँ मैले । तर, सहरमा चितुवा आयोभन्दा मेट्रो हेर्न आयो रे, चितवनको खेतमा गैँडा पस्दा ग्यासको पाइप हेर्न आयो रे† भनियो, म त छक्क परेँ । काठमाडौंमा इलेक्ट्रिक प्रविधि भित्र्याउने कुरा गर्दा यस ग्रहमा कतै नभएको कुरा बोलेजस्तो भयो, धेरै विद्वान्ले इलेक्ट्रिक बस चलाउने रे पनि भने ।
अहिले स्वस्थानीको वेला छ, सतीदेवीले यसो पराल उघारेर हेर्दा शिवजीको ठूलो दरबार छ भनेजस्तो मैले पराल उघारेर हेर्नोस् मेट्रो देखिन्छ त भनेको होइन नि† मैले त बनाउने भनेको छु । केही वर्षभित्र मेट्रो चल्छ, चलाउने नै हो । यो अपराधमा हामी जस्तोसुकै सजाय भोग्न पनि तयार छौँ, हामीले काम थालिसकेका छौँ ।
तातोपानीबाट बिजुली
मैले विकास सम्भावित ठाउँमा हावाबाट बिजुली निकाल्ने भनेको त हुँदैन भने, प्रधानमन्त्रीलाई सन्चो छैन कि क्या हो भने । तिब्बतमा ४० प्रतिशत जियो थर्मलबाट बिजुली निकालेका छन् । मैले तातोपानीबाट बिजुली निकालौँ भनेँ । त्यो गरेपछि त्यहाँ फाइभ स्टार होटेल बनाइदिने, मान्छेहरू तातोपानीमा स्विमिङ गर्न पनि जान्छन् । यो कसरी बेठीक भयो ? म्याग्दीमा तातोपानी छ । दैलेखको श्रीस्थान भन्ने ठाउँमा पानीमाथि सलाई कोरेर लगाइदिँदा आगो बल्छ । श्रीस्थान भनेको स्वस्थानीसँग जोडिएको छ । नेपालमा यस्ता धेरै छन् ।
नाका नखुले भारत जान्नँ
राजनीति गर्ने राजनीतिक दल जिम्मेवार हुन्छ भन्ने कुरामा मलाई विश्वास छ । मित्रको पनि मित्रतासँग म विश्वास गर्छु । मैले यसैको आधारमा नाकाबन्दी खुल्छ भनेको हुँ । घोषणा नगरी भएको नाकाबन्दी घोषणा नगरीकनै खुल्छ । नाकाबन्दी एक–दुई दिनमै खुल्छ । नाकाबन्दी अन्त्य गर्नेबारे राष्ट्रिय–अन्तर्राष्ट्रिय परामर्श जारी राखेका छौँ । अहिलेको असहज अवस्थालाई सहज नबनाई भारत भ्रमण गर्नु वाञ्छनीय छैन । नाका खुले भारत भ्रमण हुन्छ ।
अनि, संविधान आयो
संविधान जारी हुनु असाधारण उपलब्धि हो । कतिपयले हतार भयो भन्ने गरेको पनि सुनिन्छ । यदि संविधानसभामा दृढ निश्चयका साथ अघि नबढेको भए, सात दिन मात्रै ढिला गरेको वा पर्खेको भए संविधान बन्दैनथ्यो । संविधान निर्माणलाई पछाडि धकेल्दै लगेर चैत, वैशाखसम्मै पनि संविधान बन्न नदिने षड्यन्त्र थियो, त्यसलाई चिर्न सफल भयौँ ।
सिलिन्डर कति बोक्ने ?
मैले फोहोर व्यवस्थापन पनि गर्ने र ग्यास पनि निकाल्ने कुरा गरेको हुँ । पहिले काँचो दाउरा ढुंग्रीले फु फु गर्ने जमाना थियो, त्यो गयो । त्यसपछि काँधमा सिलिन्डर बोकेर कुद्ने जमाना आयो । तपाईंहरूले दु:ख पाउनुभएको छ, अब केही समय पर्खनोस्, सिलिन्डर नबोक्ने जमानातिर लाग्छौँ । विद्वान्हरूले सिलिन्डर काँधमा बोकेर हिँड्ने परम्परा जोगाउँछौँ भनेँ । मैले यसो भन्दा केहीले सिलिन्डर नै बोक्न पाउनुपर्छ भन्नेजस्तो तर्क गरे । आजको नयाँ पत्रिकाबाट