Taja Samachar Nepal

Taja Samachar Nepal
News

Tuesday, January 26, 2016

चितुवा र गैँडासँग दाँजेर मेरो मजाक उडाइयो : प्रधानमन्त्री ओली

काठमाडौँ, १३ माघ । सरकार गठन भएको १०७औं दिनमा प्रधानमन्त्री केपी ओलीले बालुवाटारमा मंगलबार सम्पादकसहितका पत्रकारसँग भेटघाट गरे । ओलीले संविधानका विशेषता, संविधान कार्यान्वयन, संविधान संशोधनपछिको अवस्था र भावी योजनाबारे करिब ४५ मिनेट भनाइ राखे, १५ मिनेटजति मात्रै पत्रकारसँग अन्तक्र्रिया गरे । उनका मुख्य भनाइ :
चितुवा र गैँडा आउँदा प्रधानमन्त्रीको मजाक
काठमाडौंमा मेट्रो रेल चलाउनुपर्छ, २५–३० लाख जनसंख्या भएको सहरमा त्यो चाहिन्छ, हामीले दिल्लीमा, बैंककमा हेरेका छौँ भनेँ मैले । तर, सहरमा चितुवा आयोभन्दा मेट्रो हेर्न आयो रे, चितवनको खेतमा गैँडा पस्दा ग्यासको पाइप हेर्न आयो रे† भनियो, म त छक्क परेँ । काठमाडौंमा इलेक्ट्रिक प्रविधि भित्र्याउने कुरा गर्दा यस ग्रहमा कतै नभएको कुरा बोलेजस्तो भयो, धेरै विद्वान्ले इलेक्ट्रिक बस चलाउने रे पनि भने ।
अहिले स्वस्थानीको वेला छ, सतीदेवीले यसो पराल उघारेर हेर्दा शिवजीको ठूलो दरबार छ भनेजस्तो मैले पराल उघारेर हेर्नोस् मेट्रो देखिन्छ त भनेको होइन नि† मैले त बनाउने भनेको छु । केही वर्षभित्र मेट्रो चल्छ, चलाउने नै हो । यो अपराधमा हामी जस्तोसुकै सजाय भोग्न पनि तयार छौँ, हामीले काम थालिसकेका छौँ ।
तातोपानीबाट बिजुली
मैले विकास सम्भावित ठाउँमा हावाबाट बिजुली निकाल्ने भनेको त हुँदैन भने, प्रधानमन्त्रीलाई सन्चो छैन कि क्या हो भने । तिब्बतमा ४० प्रतिशत जियो थर्मलबाट बिजुली निकालेका छन् । मैले तातोपानीबाट बिजुली निकालौँ भनेँ । त्यो गरेपछि त्यहाँ फाइभ स्टार होटेल बनाइदिने, मान्छेहरू तातोपानीमा स्विमिङ गर्न पनि जान्छन् । यो कसरी बेठीक भयो ? म्याग्दीमा तातोपानी छ । दैलेखको श्रीस्थान भन्ने ठाउँमा पानीमाथि सलाई कोरेर लगाइदिँदा आगो बल्छ । श्रीस्थान भनेको स्वस्थानीसँग जोडिएको छ । नेपालमा यस्ता धेरै छन् ।
नाका नखुले भारत जान्नँ
राजनीति गर्ने राजनीतिक दल जिम्मेवार हुन्छ भन्ने कुरामा मलाई विश्वास छ । मित्रको पनि मित्रतासँग म विश्वास गर्छु । मैले यसैको आधारमा नाकाबन्दी खुल्छ भनेको हुँ । घोषणा नगरी भएको नाकाबन्दी घोषणा नगरीकनै खुल्छ । नाकाबन्दी एक–दुई दिनमै खुल्छ । नाकाबन्दी अन्त्य गर्नेबारे राष्ट्रिय–अन्तर्राष्ट्रिय परामर्श जारी राखेका छौँ । अहिलेको असहज अवस्थालाई सहज नबनाई भारत भ्रमण गर्नु वाञ्छनीय छैन । नाका खुले भारत भ्रमण हुन्छ ।
अनि, संविधान आयो
संविधान जारी हुनु असाधारण उपलब्धि हो । कतिपयले हतार भयो भन्ने गरेको पनि सुनिन्छ । यदि संविधानसभामा दृढ निश्चयका साथ अघि नबढेको भए, सात दिन मात्रै ढिला गरेको वा पर्खेको भए संविधान बन्दैनथ्यो । संविधान निर्माणलाई पछाडि धकेल्दै लगेर चैत, वैशाखसम्मै पनि संविधान बन्न नदिने षड्यन्त्र थियो, त्यसलाई चिर्न सफल भयौँ ।
सिलिन्डर कति बोक्ने ?
मैले फोहोर व्यवस्थापन पनि गर्ने र ग्यास पनि निकाल्ने कुरा गरेको हुँ । पहिले काँचो दाउरा ढुंग्रीले फु फु गर्ने जमाना थियो, त्यो गयो । त्यसपछि काँधमा सिलिन्डर बोकेर कुद्ने जमाना आयो । तपाईंहरूले दु:ख पाउनुभएको छ, अब केही समय पर्खनोस्, सिलिन्डर नबोक्ने जमानातिर लाग्छौँ । विद्वान्हरूले सिलिन्डर काँधमा बोकेर हिँड्ने परम्परा जोगाउँछौँ भनेँ । मैले यसो भन्दा केहीले सिलिन्डर नै बोक्न पाउनुपर्छ भन्नेजस्तो तर्क गरे । आजको नयाँ पत्रिकाबाट

Monday, January 25, 2016

हाजिर ठोकेर भाग्छन् सांसद

काठमाडौं— व्यवस्थापिका संसदको सोमबारको बैठक गणपुरक संख्या नपुग्दा स्थगित हुन पुगेको छ। व्यवस्थापिका बैठक सञ्चालनका लागि कम्तिमा १ सय ४९ जना सदस्य उपस्थित हुनुपर्नेमा सोमबारको बैठकमा १ सय ४२ मात्र उपस्थित भएपछि स्थगित भएको हो।
nepalipatro-nagarik
सोमबार संसदमा ३ सयभन्दा बढी सांसदहरुले हाजिर गरेका छन्। तर उनीहरु बैठक सुरु हुनु अगावै संसद भवनबाट हिँडिसकेका थिए। हाजिर गर्नुलाई मासिक भत्ता प्राप्तिको नैतिक आधारका रुपमा सांसदहरुले लिँदै आएका छन्।

नयाँ संविधान जारी भएपछि सांसद संख्या अपुग हुँदा बैठक स्थगित भएको यो दोस्रो पटक हो।

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सदस्य संख्याको उपस्थितिबारे प्रश्न उठाएपछि गणना गर्दा उपस्थित सांसद संख्या १ सय ४२ मात्रै पुगेको थियो। नयाँ संविधान जारी भएपछि गणपुरक संख्या नपुग्दा २–२ पटक ब्यवस्थापिका संसद स्थगित हुन पुगेको छ।

दुवै स्थगित बैठक कोरम नपुगेकामा प्रश्न उठाउने सांसद खतिवडा नै हुन्। यसका कारण सोमबारको बैठकमा व्यापारसम्बद्ध बौद्धिक सम्पत्ति अधिकारसम्बन्धी सम्झौता, संशोधन प्रोटोकल अनुमोदन हुन सकेन।

बैठकको सुरुमै संविधान संशोधन विधेयकले आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले उठाएको माग सम्बोधन नगरेको भन्दै संघीय समाजवादी फोरम नेपालका सांसद शिवजी यादवले धारणा राखे । लगत्तै, मोर्चाआबद्ध ४ दलले संसद बैठक बहिस्कारलाई निरन्तरता दिएका थिए । सोलगत्तै नेपाल सद्भावना पार्टी र राष्ट्रिय मधेस समाजवादी पार्टी पनि बहिस्कार गरेर निस्कियो ।


जाजरकोटमा सुन खोज्ने चिनियाँलाई प्रशासनमा उपस्थित हुन आदेश


माघ ११, २०७२- जाजरकोटस्थित भेरी नदिको किनारमा सुनको संभाव्यता अध्ययन गर्ने भन्दै ‘ड्रिल’ गरिरहेको चिनियाँ कम्पनीलाई स्थानीय प्रशासनले उपस्थित हुन आदेश दिएको छ ।
चिनियाँ कम्पनीलाई आवश्यक कागजातसहित प्रशासनमा उपस्थित हुन प्रहरीमार्फत खबर पठाएको सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद सेढार्इंले बताए ।

धर्मश्री माइन नामक चिनियाँ कम्पनीले भेरीमालिका नगरपालिका–४ धल्ला र ५ मटेलामा सुन खानीको संभाव्यता अध्ययनका लागि उत्खनन् गरिरहेको छ । चिनियाँ नागरिक सङपिङको टोलीले एक महिनादेखि नगरपालिकाको उक्त दुई स्थानमा उत्खनन्को काम गरिरहेको हो । बगरको जमिनमुनि मेसिनद्वारा ड्रिल गरेर नमूना निकालि अध्ययन गरिरहेको सङपिङले बताए ।

१ सय ५० फिट गहिरो ड्रिल गरेर अनुसन्धान गर्दासम्म सुनको संभावना भने नभेटिएको उनले बताए ।
खानी तथा भूगर्भ विभागबाट सुन खानीको अध्ययन तथा अनुसन्धानको अनुमति लिएको बताउने उक्त कम्पनीले निरन्तर काम गरिरहेको छ । खानी तथा भूगर्भ विभागसँग भेरी नदीका विभिन्न ठाउँमा सुन पाईएको तथ्यांक रहेकोले कम्पनीले चासोका साथ अध्ययन गरेको हो ।
संभाब्यता अध्ययन अनुसन्धानमा सरकारी पक्षको उपस्थिति नहुँदा स्थानीय आशंकित छन् । स्थानीयले भने कम्पनीले स्थानीय प्रशासन तथा जिल्ला वन र वन उपभोक्ता समूहबाट अनुमति नलिएको बताएका छन् । उत्खनन् क्षेत्रमा कम्पनी टोली बाहेक अन्यलाई प्रवेशमा रोक लगाएको स्थानीय कर्णजंग शाहीले बताए ।

अझै तीन महिना अनुसन्धान जारी रहने सङपिङले बताए । उत्खनन्का लागि थप सामग्री ओसारपसार गर्न कम्पनीले आफ्नै खर्चमा २ किलोमिटर मोटरबाटो समेत निर्माण गरेको छ । जमिनको सतहमुनि भेटिएका विभिन्न चट्टान तथा अन्य खनिज पदार्थको नमूना थप अनुसन्धानका लागि कम्पनीको केन्द्रिय कार्यालयमा पठाउने गरेको पनि उनले बताए । यस अघि यो कम्पनीले दाङमा समेत सुनखानीको अध्ययन गरेको थियो ।




Sunday, January 24, 2016

मेडिकल सुपरिटेन्डेन्ट नियुक्तिमा ‘राजनीतिक चलखेल’


माघ ११, २०७२- मेची अंचल अस्पतालका बाल रोग विशेषज्ञ डा. टंक बाह्रकोटीलाई गत पुस २६ मा सरकारको सचिव स्तरीय निर्णयबाट अस्पतालको ‘आर्थिक तथा प्रशासनिक अधिकार’ समेत प्रयोग गर्ने गरी मेडिकल सुपरीटेन्डेन्ट (मेसु) को जिम्मेवारी प्रदान गरियो । 
अस्पतालका पूर्व निमित्त प्रमुख समेत रहेका बाह्रकोटी जिम्मेवारी पाएपछि निक्कै फुरुङ्ग बने । २९ गते चिठी पाएर ३० गतेबाट मेसुको हैसियतमा काम सुरु गरे । तर, उनलाई मेसु बनाउने सचिव स्तरीय निर्णयको मसी सुक्न नपाउँदै माघ ३ को मन्त्रीस्तरीय निर्णयले निमित्त मेसु  डा. पिताम्बर ठाकुरलाई नै मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी प्रदान गरेपछि भने डा. बाह्रकोटी छाँगाबाट खसेझैं भए । 

‘सिनियरिटीको आधारमा मेसुको जिम्मेवारी मैले नै पाउनु पर्ने हो,’ बाह्रकोटीले विलौना सुनाए, ‘तर, म माथि ठूलो अन्याय भयो ।’ उनले  राजनीतिक चलखेलका कारण आफ्नो  पद खोसिएको बताए । ‘मलाई मेसुवाट हटाउन ठूलो राजनीतिक र आर्थिक चलखेल भएको छ,’ उनले भने ।
 
लामो समयदेखि रिक्त अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट पदमा राजनीतिक हस्तक्षेपको गन्ध आएको छ । फोरम लोकतान्त्रिकका नेता तथा स्वास्थ्य मन्त्री रामजनम चौधरीले ११ औं तहका बाह्रकोटीको नाम काटेर उनी भन्दा कनिष्ठ १० औं तहका ठाकुरको नाम थपेको समाचार स्रोतको दाबी छ । 

ठाकुरलाई मेसु बनाउनका लागि झापा निवासी फोरमका एकजना नेताको भूमिका मुख्य रहेको स्रोतले दाबी गर्‍यो । ती नेताले ठाकुरलाई मेसु नबनाइए फोरम पार्टी नै छाड्ने धम्की दिएपछि मन्त्री चौधरीले बाह्रकोटीको नाम हटाएको स्रोतले बतायो । 

डा. ठाकुरले भने मेसु नियुक्तिमा कुनै राजनीतिक हस्तक्षेप नभएको दावी गरेका छन् । ‘मलाई मेसु बन्ने कुनै महत्वाकांक्षा पनि थिएन,’ ठाकुरले भने, ‘सरकारले जिम्मेवारी तोकेपछि कर्तव्य त पालना गर्नै पर्‍यो नि हैन ?’ 

अस्पतालका तत्कालिन मेसु डा. उमाकान्त झाको कोशी अंचल अस्पतालमा सरुवा भएपछि पदीय जेष्ठताका आधारमा डा. बाह्रकोटी निमित्त मेसु बनेका थिए । उनीसँग २०६७ कात्तिक ५ देखि २०७० चैतसम्म अस्पताल सम्हालेको अनुभव पनि छ ।  

बाह्रकोटी पनि सरुवा भएर कोशी अंचल अस्पताल गएपछि निमित्त मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी १० औं तहका  डा. ठाकुरले पाए । करिव १ वर्ष तीन महिना कोशी अस्पतालमा बिताएका बाह्रकोटी गत असोजमा ‘घर पायक’ सरुवा मिलाएर पुन: अस्पताल आएका हुन् । एमालेका खगराज अधिकारी स्वास्थ्य मन्त्री भएका बखत उनले सरुवा मिलाएका थिए । 

डाक्टर बाह्रकोटी असोज १० बाट अस्पताल हाजिर भएको बताए । तर, केही सातायता मेसु नियुक्तिमा भएको गन्जागोलपछि बाह्रकोटी विरक्तिएर बिदामा बसेका छन् । ‘उहाँ निजी कामका कारण बिदामा हुनुहुन्छ,’ मेसु डा. ठाकुरले भने । बाह्रकोटीसहित अस्पतालमा तीन जना बालरोग विशेषज्ञ छन्  । अहिले भने एकजना पनि अस्पतालमा नरहेको अस्पताल प्रशासनले जनाएको छ । बाह्रकोटी बिदामा छन् । राजु सेढाईं र यज्ञनिधि बस्र्यौला गोष्ठीमा भारत गएका छन् । ‘बालबालिकाका सिरियस किसिमका केसहरु यतिबेला रेफर गर्नुपर्ने बाध्यता छ,’ एक चिकित्सकले भने । 

डा. ठाकुरलाई जिम्मेवारी तोकिएपछि अस्पतालको दैनिक काम समेत प्रभावित भएको देखिन्छ ।  बिरामीको उपचारमा समेत समस्या पैदा भएको छ ।  कर्मचारीले समयमा तलव समेत नपाएको गुनासो गरेका छन् । तर, डा. ठाकुर भने सबै ठीकठाक भएको दाबी गर्छन् । 
प्रकाशित: माघ ११, २०७२



Thursday, January 21, 2016

गोली हानेपछि आत्मरक्षाका लागि जवाफ फर्कायौं’

काठमाडौं : मोरङको पुरानो सदरमुकाम रंगेलीमा बिहीबार युवा संघले गर्ने मधेस जागरण कार्यक्रम मधेसी मोर्चा र युवा संघका लागि प्रतिष्ठाको विषय बन्यो ।

रंगेलीमा युवा संघले कार्यक्रम गरेरै छाड्ने अड्डी कसेपछि मधेसी मोर्चा आफ्नो क्षेत्रमा हुन लागेको कार्यक्रमलाई बिथोल्ने भन्दै निषेधको राजनीतिमा उत्रियो ।


युवा संघका सयौं कार्यकर्ता र हजार भन्दा बढी प्रहरीको सुरक्षाबीच इलाका प्रहरी कार्यालय रंगेली नजिकै भएको कार्यक्रम बिथोल्न मोर्चाका हजारौं कार्यकर्ता सडकमा उत्रिए ।

मोर्चाका कार्यकर्ताहरु घरेलु हतियारले सुसज्जित भएर पानी ट्यांकीदेखि बसपार्कतर्फको बाटो हुँदै युवा संघको कार्यक्रमस्थलतर्फ आएपछि घटना हिंसात्मक भएको प्रहरीको भनाइ छ ।

प्रधानमन्त्री केपी शर्मा ओली पनि आउने समाचार गएपछि मोर्चाले त्यो कार्यक्रम बिथोलिछाड्ने घोषणा गरेर बन्द आह्वान गरेको थियो ।

मधेसी मोर्चाले गरेको यातायात बन्द र हड्तालबीच युवा संघले बुधबार रातिबाटै तयार पार्न थालेको कार्यक्रमस्थलमा बिहीबार बिहानैबाट मोर्चाका कार्यकर्ता पस्न खोजेका थिए ।

तर, प्रहरी र युवा संघका कार्यकर्ताले कडा सुरक्षा गरेपछि मोर्चा र प्रहरीबीच रंगेली बजार र त्यस आसपासका क्षेत्रमा झडप भयो ।

मोरङ प्रहरीका अनुसार पटक पटक युवा संघको कार्यक्रमस्थलमा पस्न खोजेपछि उनीहरुलाई रोकिएको थियो ।

प्रतिष्ठाको लडाइँमा पराजित नहुनका लागि युवा संघका केन्द्रीय अध्यक्ष राजीव पहारीसहितका कार्यकर्ताहरु बुधबारबाटै रंगेली क्षेत्रमा खटिएका थिए ।

कार्यक्रमस्थल तथा रंगेली बजारमा युवा संघका कार्यकर्ता लाठीसहित खटिएका थिए । तर स्थानीप प्रशासन र प्रहरीको सक्रियताले बुधबार पनि सम्भावित झडप टरेको थियो ।

पटक पटक रोक्दा पनि मोर्चाका कार्यकर्ताले कार्यक्रम बिथोल्ने उद्घोषसहित सुरक्षा घेरा तोड्न खोजेपछि झडप शुरु भएको थियो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी तारिणीप्रसाद लम्साल आत्मरक्षाका लागि बाध्य भएर गोली चलाउनुपरेको बताउँछन् ।

उनका अनुसार मोर्चाका कार्यकर्ताहरु खुकुरी, लाठी, भाला र तीर बोक्दै अघि बढेपछि झडप हुन पुगेको हो ।

उनका अनुसार रंगेलीको पानी ट्यांकीदेखि बसपार्कको बाटो हुँदै युवा संघको कार्यक्रमस्थलतर्फ मोर्चाका कार्यकर्ता आएपछि गोली चलाउनुपरेको हो ।

‘प्रहरीमाथि कटुवा पेस्तोलबाट मोर्चाका कार्यकर्ताले चार राउन्ड गोली हाने’, उनले अन्नपूर्ण अनलाइनसँग भने, ‘अन्य घरेलु हतियार भाला, तीर, खुकुरी, लाठी र भालासहित आएपछि मानवीय क्षति रोक्न तथा आफ्नो पनि जीवन रक्षाका लागि प्रहरीले गोली चलाएको हो ।’

प्रहरीसँगको झडपका क्रममा रंगेलीकै ६२ वर्षीया द्रौपदी चौधरीको ज्यान गएको छ । प्रहरीले मोर्चाका कार्यकर्ताले उनलाई पनि प्रदर्शनमा सहभागी गराएको जनाएको छ ।

तर, मोर्चाले भने उनी प्रदर्शनमा सहभागी नभइ छिमेकीकहाँ भएको एक पूजा कार्यक्रममा सहभागी हुन जाँदै गरेको अवस्थामा प्रहरीबाट मारिएको दाबी गरेको छ ।

रंगेलीमा भएको प्रहरीसँगको झडपकै क्रममा बरडंगा–२ का ४२ वर्षीय महादेव ऋषिदेवको पनि गोली लागेर ज्यान गएको छ ।

गोली लागेर घाइते भएका उनलाई बिराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारका लागि भर्ना गराएपछि मृत्यु भएको हो ।

त्यसैगरी रंगेलीकै छिमेकी गाविस डाइनियामा प्रदर्शनमा उत्रेका मोर्चाका अर्का कार्यकर्ताको पनि ज्यान गएको छ ।

झडपका क्रममा डाइनिया निवासी शिवु माझीले ज्यान गुमाएका हुन् । घटनाका क्रममा मोर्चाका ६ जना भन्दाबढी कार्यकर्तालाई गोली लागेको बताइएको छ ।

संघीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष तथा मधेसी मोर्चाका संयोजक राजकुमार यादव भने फरक दाबी गर्छन् ।

‘हाम्रा कार्यकर्ताहरुले शान्तिपूर्णरुपमा प्रदर्शन गरिरहेका थिए’, उनले अन्नपूर्ण अनलाइनसँग भने, ‘हामी निसशस्त्र अवस्थामा जुलुसमा थियौं । शान्तिपूर्ण प्रदर्शन गरिरहँदा प्रहरीले जथाभावी गोली बर्सायो ।’

मोर्चाले उग्र प्रदर्शन गरेपछि सत्तारुढ दल एमालेको भातृ संगठनले आफ्नो कार्यक्रमलाई समेत निर्धारित समयभन्दा चाँडो टुंग्याएको थियो ।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले प्रहरीले संयमित भएर परिस्थितिलाई नियन्त्रण बाहिर जान नदिन सुरक्षा दिएको बताए ।

उनले अवस्था अझ बिग्रिए रंगेली क्षेत्रमा आजैबाट कर्फ्यू लगाउन सकिने बताए । 

Wednesday, January 13, 2016

कतारमा पिताको हत्या भएपछि ७ सन्तानको बिचल्ली

 असोज १६ - कतार पुगेका अबिभाबकको हत्या भएपछि खोटाङका एक परिवारको बिचल्ली भएको छ ।
बैदेशिक रोजगारीका सिलसिलामा कतार पुगेका खोटाङ छितापोखरी–४ ढुसेनी का ४२ वर्षीया तिर्थबहादुर खड्काको हत्या भएपछि उहाँको ८ जनाको परिवार बिचल्लीमा परेको हो ।
कतारको सनैयास्थित पिनेल्को कम्पनीमा चौकीदारकारुपमा कार्यरत खड्काको डेढ महिनाअघि शंकास्पद हत्या भएपछि उहाँको श्रीमती सुमित्रा सहित ५ छोरी र २ छोराको बिचल्नी भएको हो ।
निम्न आर्थिक स्तर भएका खड्काको शंकास्पद हत्या भएपछि उनका ४ देखि १६ वर्ष उमेरभित्रका ७ जना छोराछोरीको पठन–पाठन प्रभाबित भएको छ ।
मृतक खड्काको जेठी छोरी पार्वता खड्का कक्षा ७ मा, माईली छोरी बिमला कक्षा ६ मा, साईली पर्मिला ४ मा, काइली बिपना ३ मा र कान्छी सपना खड्का कक्षा २ मा अध्यायनरत छन् ।
यस्तै जेठो छोरा धिराज कक्षा ३ र कान्छो छोरा हिराज कक्षा १ मा अध्ययन गरिरहेका छन् । उनीहरु छितापोखरीस्थित जनसेवा माबि र जनचेतना प्राबिमा अध्ययनरत छन् ।
तिर्थबहादुरको हत्या हुनुअघि छुट्टै बस्दै आएका उनीहरु हाल आफ्नै मुल घरमा फर्किएर बसिरहेका आफन्त प्रेम भुजेलले बताउनुभयो ।
साहुको ऋण तिर्न नसकेपछि बिदेश पुगेका खड्काको बिदेशमै हत्या भएपछि हाल उहाँका ८ जनाको परिवार बनीबुतो गर्न बाध्य भएका छिमेकी भुजेलले बताउनुभयो ।
आउँदो मंसिरमा एकैसाथ सबै ऋण तिर्ने गरी घर आउने तयारी गरिरहेका खड्काको साथमा जम्मा भएको पैसाकाकै लागि कसैले हत्या गरेको हुन सक्ने अशंका परिवारको छ ।
तीन वर्षअघि कतार पुगे यता ऋण तिर्न ६० हजार र घर खर्चका लागि १ लाख रुप्रयाँ बाहेक अन्य पैसा नपठाएका खड्काको साथमा भएको पैसाकै कारण हत्या गरिएको हुन सक्ने कतारमै बस्दै आएका उहाँका भाई राजन खड्काको अनुमान छ ।
केहीदिनअघि भएको हत्याको कारण अझै खुल्न नसकेको खड्काको शव अझै नेपाल ल्याउन नसकिएको पारिवारिक श्रोतले जनाएको छ ।

Tuesday, November 3, 2015

मधेसी मोर्चाका नेतामाथि भारतीयद्धारा नेपालमै आई हातपात

१८ कार्तिक ,वीरगन्ज । रक्सौल नाकास्थित मितेरी पुलमा धर्ना बसेर नाकाबन्दी गरिरहेका मधेसी दलका नेताकार्यकर्तालाई मंगलबार साँझ भारतीय नागरिकले हातपात गरेका छन् ।३०–४० जनाको संख्यामा रहेका भारतीयले धर्नास्थल मितेरी पुलमै गएर मोर्चाका नेता कार्यकर्तालाई गालीगलौज गर्दै हातपात गरेका हुन् ।मोर्चाको आन्दोलनका क्रममा सोमबार वीरगंजमा प्रहरीलेको गोली लागेर भारतीय युवक आशिषकुमार रामको मृत्यु भएपछि भारत रक्सौलका बासिन्दा आक्रोशित भएका छन् ।नेपाल सद्भावना पार्टीका केन्द्रीय सदस्य शिव पटेलले रक्सौलबाट लाठी र भाटा बोकेर आएका भारतीयले धर्ना बसेका मोर्चाका नेता कार्यकर्तालाई गालीगलौज गर्नुका साथै दुव्र्यवहार गरेको उनले बताए ।
Rajnedra_Mahato_madhes_movment_413440362