Taja Samachar Nepal

Taja Samachar Nepal
News

Friday, August 28, 2015

सचिव, सहसचिवलाई सुविधैसुविधा, तलब ८० हजारदेखि १ लाखसम्म

सरकारले सवारीसाधन सञ्चालन तथा मर्मतको नाममा सचिव र सहसचिवलाई अथाह सुविधा दिने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सवारीसाधन (सञ्चालन तथा मर्मत) निर्देशिका, ०७२ जारी गरेको हो । निर्देशिका राजपत्रमा समेत प्रकाशित गरी कार्यान्वयनमा ल्याइएको खबर आजको नयाँ पत्रिकामा सागर पण्डितले लेखेका छन्।
निर्देशिकाअनुसार अब आफैँ सवारीसाधन चलाउने सचिव–सहसचिवले चालकले पाउने १८ हजार पाँच सय रुपैयाँ तलबसँगै पाउने भएका छन् । निर्देशिकामा सचिव–सहसचिवलाई सुरुमा नयाँ गाडी दिने, सो गाडी जहाँसुकै सरुवा भए पनि लिएर जान पाउने सुविधा थप गरिएको छ।
आफ्नो तलब तथा चालकलाई दिने तलब र अन्य सवारी सुविधासहित अब सचिव तथा सहसचिवले मासिक ८० हजारदेखि एक लाख रुपैयाँसम्म बुझ्ने भएका छन्। हाल सचिव र सहसचिवको तलब ३५ देखि ४० हजार रुपैयाँसम्म छ । निर्देशिकाअनुसार नयाँ गाडी पाउने सचिव तथा सहसचिवलाई गाडी नै नबिग्रिए पनि मर्मत खर्चका नाममा मासिक पाँच हजार रुपैयाँ दिइने भएको छ।
कसैले तीन वर्षसम्म पुरानो गाडी प्रयोग गरेको भएमा मासिक मर्मत खर्च १० हजार रुपैयाँ दिइनेछ । सचिवलाई मासिक एक सय २५ लिटर पेट्रोल र सहसचिवलाई मासिक सय लिटर पेट्रोलबराबरको रकम पनि तलबसँगै भुक्तानी दिइने भएको छ । सचिव र सहसचिवले आवश्यकताअनुसार थप पेट्रोल आफ्नै कार्यालयबाट समेत पाउनेछन् । सचिव र सहसचिवले गाडीमा डिजेल, पेट्रोल, लुब्रिकेट्स, चालक खर्च, मर्मत खर्चलगायतका कुनै पनि बिल पेस गर्नुनपर्ने निर्देशिकामा उल्लेख छ ।
निर्देशिकाअनुसार सचिवलाई कार भएमा कम्तीमा १३ सय सिसी वा जिप भएमा कम्तीमा दुई हजार सिसी क्षमताको सवारीसाधन उपलब्ध गराइनेछ । सहसचिवलाई कार भएमा एक हजार सिसी र जिप भएमा दुई हजार सिसी क्षमताको उपलब्ध गराइने निर्देशिकामा छ । निर्देशिकामा सचिव–सहसचिवहरूले आफैँ गाडी चलाएमा सुविधा दिने उल्लेख छ । तर, उनीहरूले चाहेमा आंशिक रूपमा चालक राख्न पाउने व्यवस्थासमेत गरिएको छ।
स्थायी चालक दरबन्दी रिक्त भएमा सो पद स्वत: खारेज हुने व्यवस्था गरिएको छ । सचिव र सहसचिवलाई आफैँ गाडी चलाउन आवश्यक पर्ने तालिम शुल्क पनि सरकार आफैँले व्यहोर्ने निर्देशिकामा उल्लेख छ । गाडीको ब्लुबुक नवीकरणलगायतका सबै खर्च सम्बन्धित कार्यालयले नै व्यहोर्नेछन् । विभिन्न काम लिएर जिल्लामा जानुपर्ने अवस्थामा आवश्यक सबै खर्च सरकारले नै व्यहोर्ने निर्देशिकामा उल्लेख छ। 

वार्ताका लागि मधेसी मोर्चाका ९ 'सर्त'

भाद्र ११, २०७२- संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले वार्ताका लागि ४ दलका केही नेताले ल्याएको संविधानको विधेयक तत्काल फिर्ता लिनुपर्नेलगायत ९ बुँदे सर्त अघि सार्ने भएको छ । प्रधानमन्त्री सुशील कोइरालाले बुधबार मोर्चामा आबद्ध दलका नेतालाई वार्ताका लागि समय निर्धारण गरेर पठाएको पत्रको जवाफमा मोर्चाले सर्त अघि सार्ने तयारी गरेको हो । पत्रमा प्रधानमन्त्रीले शनिबारसम्म वार्तामा आउन आग्रह गरेका छन् ।
मलंगवामा शुक्रबार मोर्चामा आबद्ध संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवको अनौपचारिक बैठकले वार्ताका सर्त तयार गरेको हो । औपचारिक बैठक बस्ने भनिए पनि साँझसम्म विरोधसभा चलेकाले हुन नसकेको हो । संविधानको मस्यौदामा रहेको संघीय संरचना, सीमांकन, नागरिकता, प्रादेशिक अधिकार, समानुपातिक समावेशी अधिकार, जनसंख्याका आधारमा निर्वाचन क्षेत्रजस्ता महत्त्वपूर्ण मुद्दा जनताको भावनाअनुरूप पुनर्लेखन गर्नुपर्ने सर्तमा रहेको स्रोतले बतायो ।

बैठकले मधेसको जिल्लामा सेना परिचालनको निर्णय तत्काल फिर्ता लिनुपर्ने, मधेस थरुहटमा आन्दोलनकारीमाथि जारी दमन तत्काल बन्द गर्नुपर्ने, कैलाली घटनापछि त्यहाँका जनतामाथि गरेको दुव्र्यवहार र दमनको छानबिन गर्न न्यायिक आयोग गठन गर्नुपर्नेलगायत माग पनि राखेको छ । मोर्चाले कैलालीबाट विस्थापित स्थानीयको सकुशल फिर्ता र उनीहरूको पुनर्बासको व्यवस्था सरकारले गर्नुपर्ने, कैलालीमा राज्य संयन्त्रद्वारा बेपत्ता पारिएका स्थानीयको अवस्था तत्काल सार्वजनिक गर्नुपर्ने माग सर्तमा उल्लेख छ ।
सप्तरी, रौतहट, नवलपरासी र कैलालीमा प्रहरीको गोलीले मारिएका आन्दोलनकारीलाई सहिद घोषणा गर्नुपर्ने र मधेस आन्दोलनमा घाइते परिवारलाई तत्काल आर्थिक राहत प्रदान दिनुपर्ने माग छ । मोर्चा र तत्कालीन सरकारबीच २०६४ फागुन १६ गते गरिएको ८ बुँदे सम्झौताको कार्यान्वयनका लागि ठोस प्रतिबद्धता आउनुपर्ने अडान मोर्चाले नछाड्ने भएको सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले वार्ता नहुने बताए । 'निर्णय गर्न बाँकी छ,' उनले भने, 'तर वार्ता हुँदैन । राति नभए भोलि बैठक बस्छ ।' उनले वार्ता नहुनुको कारण बैठक निर्णयपछि स्पष्ट हुने उल्लेख गरे । तमसपाका अध्यक्ष महेन्द्र राय यादवले पनि वार्ता सजिलै नहुने स्पष्ट पारे । 'सजिलै वार्ता हुँदैन,' उनले भने, 'बैठकले वार्तामा जाने निर्णय गर्न गाह्रो छ ।'
प्रधानमन्त्रीले आन्दोलनरत मोर्चाका अध्यक्षलाई पठाएको पत्रमा ठूलो प्रयत्न र प्रतीक्षाप्रति संविधान निर्माणको अन्तिम चरणमा आइपुगेको अवस्थामा आन्दोलनले हत्या, हिंसा निम्त्याउनु कसैका लागि पनि स्वीकार्य र उचित नहुने उल्लेख छ । संविधान निर्माणको क्रममा छलफल र बहसलाई नै महत्त्व दिनुपर्ने कोइरालाले पठाएको पत्रमा लेखिएको छ ।

आज देशभर जनै पूर्णिमा मनाउँदै

काठमाडौं, भदौ १२ । शनिबार (आज) हिन्दू धर्मावलम्बीहरुले देशभर जनै पूर्णिमा अर्थात ऋषि तर्पणी पर्व मनाउँदैछन् ।
जनै लगाउनेहरुले ऋषिको सम्झना गर्दै जलाशय तथा धारामा गई माटो, गोबर, कुश, खरानी, अपमार्गले स्नान गरी विशेष मन्त्रबाट मन्त्रिएको जनै लगाउने गर्छन् ।
यस्तै सुरक्षाको लागिभन्दै नाडीमा मन्त्रिएको डोरो बाँधी रक्षाबन्धन पनि गरिन्छ । आज बाँधिएको डोरो गाई तिहारका दिन गाईका पुच्छरमा बाँधेमा मृत्युपछिको वैतरणी पार भइन्छ भन्ने जनविश्वास छ ।
यस्तै वर्षाभरको हिलोपानीमा चलेर गर्मीसर्दीले प्रभावित असरमा फेरि ऊर्जा ल्याउन भन्दै आज नौ जातका अंकुरित गेडागुडी मिसाएर पकाएको पौष्टिकतत्वयुक्त क्वाँटी खाने गरिन्छ ।
उता, रसुवाको धार्मिक तथा पबित्र तिर्थस्थल गोसाईकुण्डमा जनै पूर्णिमाको अवसरमा मेला लागेको छ ।
भगवान् शिवको वासस्थानको रूपमा हिमालयको काखमा रहेको यस गोसाइँकुण्डमा स्नान गर्नाले गरेका पापबाट मुक्ति मिल्ने तथा मनले चिताएको पूरा हुने जनविश्वास रही आएको छ ।
मेला भर्न देशका बिभिन्न स्थानको साथै बिदेशबाट समेत भक्तजनहरु गोसाईकुण्ड पुगेका छन् । अघिल्लो बर्षहरुको तुलनामा यस बर्ष यहाँ पुग्ने भक्तजनको संख्या भने निकै कम रहेको छ ।
भाद्र शुक्ल एकादशीदेखि सुरु भएको जनै पूर्णिमा मेला आजसम्म लाग्दछ । यस बर्ष गएको भूकम्पका कारण भक्तजनको उपस्थिति न्युन देखिएको हो । मेलाको व्यवस्थापनमा नेपाली सेना, नेपाल रेडक्रस सोसाईटी, नेपाल प्रहरी र स्काउट खटिएका छन् ।
गोसाईकुण्ड समुन्द्रीसतहदेखि चार हजार तीन सय ८० मिटरको उचाईमा रहेको छ भने यसको लम्बाई ६ सय मिटर छ भने चौडाई ३ सय ७० मिटर रहेको छ ।
त्यस्तै भाइ र बहिनीको प्रेम प्रतीकको रुपमा मनाइने रक्षा बन्धन पर्व र र जनै पूर्णिमा आज मिथिलाअञ्चल क्षेत्रमा पनि धूमधामका साथ मनाइंदै छ ।
जनकपुरको जानकी मन्दिर, राममन्दिरमा पूजापाठ गर्न श्रद्धालु भक्तजनको भीड लागेको छ । रक्षा बन्धनको अवसरमा दिदी बहिनहरुले आफ्ना दाजु भाइहरुलाई राखी बानी रक्षा बन्धन पर्व मनाइंदैछ ।
उता, पुर्बको गोसाईकुण्ड भनेर चिनिने संखुवासभाको प्रसिद्ध धार्मिक तिर्थस्थल सभापोखरीमा पनि भक्तजनको घुईचो लागेको छ ।
म्याग्दीको नागी वाराही र शिखको खयरवाराही मन्दिरमा पनि जनैपूर्णिमाको अवसरमा मेला लागेको छ ।