Taja Samachar Nepal

Taja Samachar Nepal
News

Thursday, October 8, 2015

भारतद्वारा नाकाहरुमा झन् कडाइ

काठमाडौं: भारतीय पक्षले नेपालसँगका प्रमुख भन्सारनाकामा बिहीबार फेरि कडाइ गरेको छ। नेपालमा सामान आयात हुने प्रमुख भन्सारनाका वीरगन्ज, विराटनगर, भैरहवा, नेपालगन्ज र काँकडभिट्टाबाट पेट्रोलियम पदार्थ बोकेका गाडी प्रवेश गरेका छैनन्।
 
काँकडभिट्टास्थित मेची भन्सार कार्यालयका सूचना अधिकृत दीपेन्द्र झाले दिएको जानकारीअनुसार बिहीबार साँझसम्म पेट्रोलियम पदार्थ बोकेका पाँचवटा ट्यांकर पानीट्यांकीस्थित भारतीय भन्सार आइपुगेका छन्। मेची भन्सारबाट जम्मा ७५ वटा मालवाहक सवारीसाधन प्रवेश गरेका छन्, जसमा आलु–प्याज, सिमेन्टका क्लिंकरजस्ता सामग्रीमात्र थिए।
 
भारत पश्चिमबंगाल न्यु जलपाइगुडीस्थित डिपोमा ट्यांकर लिएर गएका नेपाली चालक महमद इब्राहिमले भने, 'सहचालकले १५ दिनसम्म तेल पाउने आशामा जलपाइगुडीमा ट्यांकर कुरेर बस्नुपर्‍यो।' नेपालका ट्यांकरका कारण त्यहाँ आवतजावत बन्द हुने स्थिति आएपछि मात्रै भारतीय आयल निगमले त्यहाँ रहेका ३५ वटा ट्यांकरलाई पेट्रोलियम पदार्थ लिएर जान अनुमति दिएको उनले बताए।
 
ट्यांकर चालकका अनुसार नेपालको तराई क्षेत्रमा भइरहेको हडताल अन्त्य नभएसम्म भारतीय आयल निगमले पेट्रोलियम पदार्थ लोड गर्न नदिने बताउँदै आएको छ। चालक इब्राहिमले भने, ‘उनीहरूले जबसम्म तपाईंहरूको हडताल सकिँदैन, तबसम्म पेट्रोलियम पदार्थ लिन नआउनू भनेका छन्।'
 
मेची पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष लय भण्डारीका अनुसार अब तेल भर्न जानेमध्ये १० प्रतिशतलाई मात्र तेल दिने भारतीय पक्षले बताएको छ । तर आयल निगम चारआलीका प्रमुख कमलेश अर्यालका अनुसार खाली भएका ट्यांकर तेल भर्न न्यु जलपाइगुडी पठाइनेछ। उनले भने,'डिपोअगाडि नेपालका खाली ट्यांकर देखेपछि भारतीय पक्ष तेल दिन बाध्य हुनेछ।'
 
विराटनगरको जोगबनी नाकामा भारतीय पक्षले फेरि कडाइ गरेको छ। भारतीय पक्षको कडाइका कारण बिहीबार पेट्रोल र डिजेल भित्रन सकेन। एउटामात्र ग्यास बुलेट भित्रिएको छ। उक्त नाकाबाट बिहीबार साँझ ७ बजेसम्ममा ४५ वटा मालवाहक सवारीसाधन भित्रिएका छन्, जसमा औद्योगिक कच्चा पदार्थ, कुखुराका दाना, चामल र धान लोड गरिएको थियो।
 
जोगबनी भन्सारले जाँचपासमा आनाकानी गर्दै मालवाहक सवारीसाधन तथा इन्धनका ट्यांकर नपठाएको जानकारी नेपाली अधिकारीले गराएका छन्।जोगबनी नाका हुँदै मालवाहक सवारीसाधन र इन्धन नेपाल नभित्रिएपछि बिहीबार अपराह्न नेपाली अधिकारीले चासो लिएका थिए। 
 
विराटनगर भन्सारप्रमुख कृष्ण बस्नेतका अनुसार मध्याह्न १२ बजेपछि इन्धन बोकेका ट्यांकरसहितका मालवाहक सवारीसाधन नेपाल पठाउने आश्वासन जोगबनी भन्सारका कर्मचारीले दिएका थिए। 'हामी काम गर्दैछौं। केही बेरमै फटाफट पठाउँछौं भनेर भनेका थिए तर अघिल्लो दिनको तुलनामा अति नै कम गाडी भित्रिए’, बस्नेतले भने, ‘पेट्रोलियम पदार्थ बोकेका एउटा पनि ट्यांकर आएका छैनन्। भारतीय पक्षबाट सर्भरमा खराबी आएर समस्या उत्पन्न भएका कारण जाँचपास गर्न नसकिएको जबाफ आएको छ।'
 
भैरहवा-सुनौली नाकामा तैनाथ सुरक्षाकर्मीले बुधबारदेखि मानिसलाई समेत आवत-जावतमा रोक लगाएका छन्। बेलहिया नाकामा मधेसी मोर्चा र सुरक्षाकर्मीबीचको झडपपछि दुवै देशका सीमावर्ती सुरक्षाकर्मीले सुरक्षाको कारण देखाउँदै सर्वसाधारणलाई रोकेर फर्काउन थालेका हुन्।
 
महाराजगन्जका डीएसपी पंकजकुमार सिंह र सीमावर्ती प्रहरीचौकीका सई भरत यादवको टोलीले भारतीय नागरिकलाई नेपाल प्रवेश गर्न रोकेका छन्। नेपालको बेलहिया इलाका प्रहरी कार्यालयका प्रहरीनिरीक्षक रवीन्द्रबाबु रेग्मी र सशस्त्र प्रहरीनिरीक्षक तुल्सीराम पाण्डेको टोलीले नेपाली नागरिकलाई भारतमा असुरक्षा भएको बताउँदै सीमा नाकाबाटै फर्काउने गरिरहेका छन्। पर्यटक, बिरामी, ट्रेन एवं बसको टिकट लिएका व्यक्तिबाहेक अन्य सबैलाई फर्काउने काम दुवैतर्फबाट भइरहेको प्रहरीनिरीक्षक रेग्मीले बताए।
 
नेपालगन्ज-रूपैडिया नाका पनि बिहीबार ठप्प भएको छ। दसगजामा मधेसी मोर्चाका कार्यकर्ता धर्ना बसेपछि नाका ठप्प भएको हो। नेपालगन्ज-रूपैडिया नाकामा मधेसी मोर्चाको प्रभाव कम भएको भन्दै नेपाल सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो भारतीय बाटो हुँदै आन्दोलनलाई ऊर्जा दिन आएका छन् । महतो भारतीय बाटो हुँदै नेपालगन्ज रूपैडिया नाकामा आएर धर्नामा बसे।
 
इलाका प्रहरी कार्यालय जमुनाहाले धर्ना सुरु नहुँदै बिहान आठ बजेअघि नै रूपैडिया नाकाबाट पाँचवटा मालवाहक गाडी भित्रिएको जनाएको छ। प्रमुख भन्सारनाका वीरगन्जबाट १५ दिनदेखि एउटा पनि सवारीसाधन प्रवेश गरेको छैन।