Taja Samachar Nepal

Taja Samachar Nepal
News

Saturday, October 10, 2015

राष्ट्रपति दाबी गर्न ढोका खुला'-दाहाल

काठमाडौं: एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री निर्वाचित हुने अवस्था आएपछि आफ्नो पार्टीका लागि राष्ट्रपति दाबी गर्न ढोका खुलेको बताएका छन्। 
 
एमाओवादी संसदीय दलको शनिबार साँझ सिंहदरबारमा बसेको बैठकमा उनले कांग्रेसले सहमतीय राजनीति तोडेका कारण राष्ट्रपतिमा दाबी गर्न आफ्नो पार्टीका लागि ढोका खुलेको जानकारी गराएका हुन्।
 
कांग्रेसले पहिले भएको सहमति उल्लंघन गरी कोइरालालाई उम्मेदवार बनाएपछि आफूहरूले ओलीलाई राजनीतिक इमानदारी प्रदर्शन गर्न पनि समर्थन गर्नुपरेको उनले बताए। व्यवस्थापिका संसद्मा आइतबार हुने प्रधानमन्त्री निर्वाचनमा कांग्रेस सभापति सुशील कोइराला र एमाले अध्यक्ष केपी ओली प्रतिस्पर्धी छन्। 
 
ओलीको प्रस्तावकमा दाहाल स्वयं छन्।बैठकमा केही सभासद्ले राष्ट्रपतिका विषयमा तत्काल नबोल्नुपर्ने सल्लाह दिएका थिए । आफूले कांग्रेस सभापति सुशील कोइरालालाई प्रधानमन्त्रीको उम्मेदवारी बनेर गम्भीर गल्ती गरेको बताएको जानकारी पनि दाहालले गराएका थिए। 
 
'तपाईंले प्रधानमन्त्रीमा उम्मेदवारी दिएर गल्ती गर्नुभयो। सहमतीय राजनीतिलाई तोड्नु हुँदैनथ्यो,' आफूले कोइरालालाई दिएको सुझाव उद्धृत गर्दै दाहालले बैठकमा भने। 
 
कांग्रेस, एमाले, एमाओवादी र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकबीच भएको १६ बुँदे सहमतिमा संविधानसभाबाट संविधान घोषणा भएलगत्तै कोइरालाले राजीनामा दिने र ओली प्रधानमन्त्री हुने भद्र सहमति भएको पनि दाहालले स्मरण गराएका थिए। प्रधानमन्त्रीमा उम्मेदवारी दिएपछि कोइरालाले संसद्भवन बानेश्वरमा दाहाललाई भेटेर आफ्नो पक्षमा मत दिन आग्रह गरेका थिए।
 
कांग्रेस भारतीयहरूको चलखेलमा परेको पनि दाहालले बैठकमा बताएका थिए। उनले आफ्ना सभासद्लाई आइतबार संसद्मा डेढ घन्टा अघि नै पुगेर ओलीको पक्षमा मतदान गर्न निर्देशन दिएका छन्। 
 
ओलीलाई प्रचलित कानुन, पार्टी विधान तथा व्यवस्थापिका संसद्को नियमावलीबमोजिम अनिवार्य मतदान गर्न सम्पूर्ण सभासद्हरूलाई ह्विप जारी गरिएको प्रमुख सचेतक गिरिराजमणि पोखरेलले बताए।ओलीका पक्षमा मतदान गर्ने एमाओवादीको निर्णयप्रति पार्टी परित्याग गरेका वरिष्ठ नेता डा. बाबुराम भट्टराई पक्षका नेताहरूले असहमति जनाएका छन्। 
 
संसदीय दलको बैठकमा भट्टराई पक्षका नेता प्रभु साहले आफू पार्टीको निर्णय मान्न तयार रहे पनि निर्णयप्रति आफ्नो फरक मत रहेको बताए। 'म पार्टीको निर्णय मान्छु तर पार्टीको बैठकमा मैले मेरो नोट अफ डिसेन्ट पेस गरेको छु,' साहले अन्नपूर्णसँग भने।
 
भट्टराईले आफू पक्षका नेताहरूलाई शनिबार आफ्नै निवास सानेपामा बोलाएर ओलीलाई समर्थन गर्ने एमाओवादीको निर्णय गलत भएको भन्दै त्यसको विपक्षमा उत्रन नेताहरूलाई आग्रह गरेका थिए। 
बिहान सात बजेदेखि तीन बजेसम्म बसेको भट्टराई पक्षधर नेताहरूको बैठकले ओली मुलुकलाई सही दिशा दिन सक्ने लायक नेता नरहेको ठहर गरेको थियो। बैठकमा सहभागी नेता रामरिझन यादवले भने, ‘स्थायी समिति बैठकमा देवेन्द्र पौडेलजीले ओलीलाई निःर्सत प्रधानमन्त्रीमा समर्थन गर्ने पार्टीको निर्णयमा नोट अफ डिसेन्ट पेस गर्नुभएको थियो, त्यसैका आधारमा हामीले विरोध जनाएका हौं।'
 
दाहाल निवास लाजिम्पाटमा शनिबार बिहान बसेको स्थायी समिति बैठकमा भट्टराई पक्षका नेता मानिँदै आएका टोपबहादुर रायमाझीले ओलीका पक्षमा मतदान गर्ने निर्णयमा सहमति जनाएका थिए भने अर्का नेता देवेन्द्र पौडेलले नोट अफ डिसेन्ट लेखेका थिए।
 
'देशको विद्यमान परिस्थितिको जिम्मेवारपूर्ण रूपमा हल गर्ने पहलकदमी लिनुको साटो निःसर्त एमालेलाई समर्थन गर्ने निर्णयले देश झनै दलदलमा फस्ने खतरा रहेको हुँदा हाम्रो जस्ता शान्तिप्रक्रियाको महत्वपूर्ण हिस्सा रहेको जिम्मेवार पार्टीको यस्तो गलत र गैरजिम्मेवार निर्णयप्रति हाम्रो विमति रहेको जानकारी गराउन चाहन्छौं,' पौडेलसहित २९ जना केन्द्रीय सदस्यको सूची रहेको प्रेसविज्ञप्तिमा उल्लेख छ।
 
पौडेल, हिसिला यमी, नवराज सुवेदी, गंगा श्रेष्ठ, महेन्द्र पासवान, खिमलाल देवकोटा, कुमार पौडेल, देवी खड्का, रामचन्द्र झा, रामरिझन यादव र रामकुमार शर्माले मात्र हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, ‘कयौ आफ्ना जायज मागसहित आन्दोलनमा रहेका पक्षहरूलाई वार्तामा ल्याउने वातावरण बनाउन लाग्नुपर्ने, सम्पूर्ण नेपालीहरू मिलेर पुनर्निर्माणमा लाग्नुपर्ने कैयौं बाँकी रहेका शान्तिप्रक्रियाका विषयहरूलाई पूरा गर्नुपर्ने, चाडपर्वहरूको पूर्वसन्ध्यामा उपभोग्य वस्तुहरूको सहज आपूर्तिका लागि पहल गर्नुपर्ने, स्वाधीनताको भावनासहितका सम्पूर्ण नेपालीलाई आन्तरिक रूपमा गोलबन्द गरेर देशको विद्यमान समस्याको समाधान गर्ने, राष्ट्रिय एकता र सार्वभौमसत्ता रक्षाका लागि राष्ट्रिय सहमति कायम गरेर जानुपर्ने अवस्थामा यो निर्णयले हामीलाई गम्भीर र आश्चर्य चकित बनाएको छ।'
 
एमाले अध्यक्ष ओली र एमाओवादी अध्यक्ष दाहालबीच सरकार निर्माणका लागि शनिबार भएको १४ बुँदे सहमतिमा नेपालले सामाना गर्नुपरेको अघोषित नाकाबन्दी र यसको परिणामलाई ध्यान दिई तत्कालिक र दीर्घकालीन रूपमा अत्यावश्यक वस्तुको आपूर्ति गर्न र राष्ट्रलाई आत्मनिर्भर बनाउन योजनाबद्ध नीति र कार्यक्रम तर्जुमा गरी लागू गर्ने उल्लेख छ। 
 
दुईपक्षीय र बहुपक्षीय अन्तर्राष्ट्रिय सन्धिसम्झौता र अभिसन्धिअनुरूप नेपालले प्राप्त गर्ने पारवहन तथा व्यापार वाणिज्य अधिकार सुनिश्चित गर्दै तिनको पूर्ण र सहज उपभोगको दिशामा क्रियाशील रहने, नेपाली जनताद्वारा निर्वाचित सार्वभौम संविधानसभा र नेपालका राजनीतिक दलहरूले गरेका संविधान जारी गर्नेलगायतका निर्णयको सम्मान गर्न तथा नेपालले सामाना गरिरहेको अघोषित नाकाबन्दीको अन्त्य गरी भूपरिवेष्टित राष्ट्रले अन्तर्राष्ट्रिय कानुनबमोजिम उपभोग गर्न पाउने पारवहन अधिकार निर्बाध रूपमा उपयोग गर्ने स्थिति सुनिश्चित गर्न र दुई छिमेकी मित्र राष्ट्रबीचको सम्बन्धलाई सहज बनाउन मित्र राष्ट्रसँग आग्रह गर्ने पनि सहमतिमा उल्लेख छ।
 
असन्तुष्ट आन्दोलनरत तराईमधेस केन्द्रित दलहरू थारू समुदाय र विभिन्न रूपमा आफ्ना मुद्दा र आवाज उठाइरहेका आदिवासी जनजातिलगायत अन्य उत्पीडित समुदायसँग वार्तामार्फत समस्याको राजनीतिक सम्बोधन गरी समाधान गर्ने, वार्ता र सहमतिका माध्यमबाट संविधानमा आवश्यकताअनुसार संशोधन गर्ने सहमति पनि ओली र दाहालबीच भएको छ।

चर्को विवादबीच कोइराला

काठमाडौं: कांग्रेसले उम्मेदवारी दिने वा नदिने भन्ने चर्को विवादका बीच पार्टी सभापति एवं प्रधानमन्त्री सुशील कोइरालालाई फेरि प्रधानमन्त्रीको उम्मेदवार बनाएको छ। 
 
बुधबारदेखि लगातार तीन दिनसम्म चलेको केन्द्रीय कार्य समितिले निर्णय गर्न नसकेपछि प्रधानमन्त्रीको उम्मेदवारी दिने दिन शनिबार बिहान कोइरालाले वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेललाई बोलाएर आफैं उम्मेदवार हुने निर्णय सुनाएका हुन्।बालुवाटार उच्च स्रोतका अनुसार कोइरालाले पार्टीबाट नयाँ उम्मेदवार बनाउँदा विधानअनुसार दलको नेता हुनुपर्ने भएकाले समय अभावमा आफैं हुनुपर्ने अवस्था आएको बताएका थिए। 
 
'असोज २०, २१ र २२ गते बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले पार्टीको नेतृत्वमा अधिकतम बहुमतीय सरकार निर्माण गर्ने सन्दर्भमा गम्भीर छलफल र रायसुझावसहित पार्टी सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेललाई जिम्मा दिएअनुसार संविधानको धारा २९८ को उपधारा ३ बमोजिम प्रधानमन्त्री पदका लागि यही असोज २४ गते सम्पन्न हुने निर्वाचनमा कांग्रेसका तर्फबाट पार्टी सभापति एवं संसदीय दलका नेता सुशील कोइरालालाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरियो,’ कांग्रेसद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
 
स्रोतका अनुसार कोइरालाले आफू प्रधानमन्त्री निर्वाचित हुने निश्चित रहेको भन्दै देउवा र पौडेललाई मनाएका थिए। शनिबार बिहान कोइराला, देउवा र पौडेलबीच सहमति भएपछि केन्द्रीय समितिले औपचारिक रूपमा उम्मेदवारको निर्णय गरेको हो। 
 
कोइरालालाई मधेसवादी दलहरूले सहयोग गर्ने प्रतिबद्धता जनाएको स्रोतले बतायो।कांग्रेस प्रवक्ता दिलेन्द्रप्रसाद बडूले शनिबार साँझ अपिल जारी गरी कोइरालाका पक्षमा मतदान गर्न सबै दललाई आग्रह गरेका छन्। 
 
अपिलमा वर्तमान समयमा मुलुकमा देखापरेको राजनीतिक ध्रुवीकरणले यथार्थमा राष्ट्र र समाजको तत्कालीन र दीर्घकालीन हित हुन नसक्ने भन्दै विनाशकारी भूकम्पबाट क्षतिग्रस्त संरचनाहरूको पुनर्निर्माण र नवनिर्माणको चुनौतीपूर्ण कार्य सम्पन्न गर्नका निमित्त देशमा राजनीतिक स्थिरता र दिगो शान्ति कायम गर्न पनि कोइरालाकै नेतृत्वमा सरकार आवश्यक भएको उल्लेख छ।
 
सहमहामन्त्री खड्काद्वारा राजीनामा
तीन दलबीचको एकता तोडेर पार्टी सभापति आफैं उम्मेदवार बन्ने निर्णयप्रति असहमति राख्दै कांग्रेस सहमहामन्त्री पूर्णबहादुर खड्काले आफ्नो पदबाट राजीनामा गरेका छन्। 
 
उनले यसअघि बसेको केन्द्रीय समिति बैठकमा पनि तीन दलबीचको एकता तोड्न नहुने भन्दै एमाले अध्यक्ष केपी ओलीलाई समर्थन गर्नुपर्ने अडान राख्दै आएका थिए।
 
उनले नेतृत्वप्रति असन्तुष्टि जनाउँदै सभापतिले मनोनयन गरेको पदबाट राजीनामा गरेका हुन्। यद्यपि उनले केन्द्रीय सदस्यबाट भने राजीनामा गरेका छैनन्। 
खड्काले संविधान जारी भएपछि राजीनामा गर्छु भन्ने सार्वजनिक प्रतिबद्धता गरेको व्यक्तिले फेरि उम्मेदवारी दिने निर्णय गर्नुले १६ बुँदे सहमति तोड्दै दलहरूबीचको संविधान निर्माणको सहमति भत्कने भन्दै गम्भीर असहमति राखेका थिए। 
 
'जसले मलाई सहमहामन्त्री मनोनीत गर्‍यो ऊसँग मेरो मौलिक असहमति भएकाले मैले राजीनामा गरेको हुँ,' खड्काले अन्नपूर्णसँग भने। 
 
उनले कोइरालाले फेरि प्रधानमन्त्रीको उम्मेदवार हुनु एक सय एक प्रतिशत गलत भएको बताउँदै आमकार्यकर्ता र जनता नै बेखुसी हुनेगरी आएको निर्णयको विरोध गरेका हुन्। उनले अब राजनीतिले गम्भीर मोड लिएको पनि बताए।
 
कालोसूचीमा नपर्नुहोस्: ओली
बालकुमार नेपाल
काठमाडौं: एमाले अध्यक्ष केपी ओलीले प्रमुख दलहरूबीच भएको सहमतिबाट पछि हटेर कालोसूचीमा नपर्न प्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइरालालाई आग्रह गरेका छन्। 
 
संसद्‌भवन नयाँबानेश्वरमा बसेको पार्टी संसदीय दलको बैठकमा बोल्दै ओलीले यसबारे जानकारी दिएका हुन्।
 
‘मैले बैठकलाई सम्बोधन गर्नुभन्दा केही समयअगाडि प्रधानमन्त्री कोइरालाको फोन आयो, फोनमा उहाँले कांग्रेसका दुई नेताले प्रधानमन्त्रीमा उम्मेदवारी दिन निर्णय गरेकाले आफूले उम्मेदवारी दिने सुनाउनुभयो। 
 
जबाफमा मैले त्यसो नगर्नुस्, त्यसो गर्नुभयो भने कांग्रेसमा मात्र होइन जनताको मन मनमा तपाईं कालोसूचीमा पर्नुहुन्छ भने,'ओलीलाई उद्धृत गर्दै एमाले केन्द्रीय सदस्य एवं सांसद यज्ञराज सुनुवारले भने।
 
ओलीले विगतमा भएको ७ बुँदे र १६ बुँदे सहमतिको ख्याल गर्न र संविधान कार्यान्वयनको चुनौतीलाई सामना गर्न पनि सहकार्य आवश्यक भएको बताएका थिए।
 
'विगतमा सुशील कोइरालालाई प्रधानमन्त्री बनाउँदा म आफू प्रस्तावक बसेको थिएँ, अहिले त्यो जिम्मेवारी अब तपाईंले निर्वाह गर्नुपर्छ,’ कोइरालालाई ओलीले भनेका थिए। 

म्याग्दीमा नुन खानी छ, सरकारले कानमा तेल हाल्या छ

बेनी : म्याग्दीको शिख गाविसको कालीगण्डकी नदी किनारमा चार वर्षअघि फेला परेको नुन खानी सरकारी बेवास्ताका कारण अलपत्र परेको छ ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाअन्तर्गत पर्ने शिख र नारच्याङ गाविसको सिमानामा कालीगण्डकी नदी किनारामा २०६८ सालमा नुनिलो पानीको मुहान भेटिएको थियो ।

मुहान भेटिएपछि त्यसको अनुसन्धान सुरु गरे पनि आर्थिक अभावमा पूर्णता पाउन नसकेको तातोपानी संरक्षण समितिका सदस्य पूर्णबहादुर पुनले बताए ।

'तातोपानीसँगै नुनसमेत देखिएको छ', उनले भने, 'पानीको स्वाद नुन हालेको जस्तो भएकाले पनि खानी तथा भूगर्भ विभागमार्फत अनुसन्धान गर्नुपर्ने आवश्यकता देखिएको छ ।'

करिब ५० डिग्री सेल्सियस तापक्रममा नुनिलो पानीको मुहान तथा आसपासको जग्गामा सेताम्मे नुन जस्तै पदार्थ देखिएको थियो ।

नुनखानी भेटिएका चार वर्ष भइसक्दा पनि सरकारले बेवास्ता गरेको स्थानीयबासीले अारोप लगाएका छन् ।

कालीगण्डकी नदीको किनारमा फेला परेको तातोपानीलाई संरक्षणका लागि डोजरले स्नान कुण्ड बनाउने क्रममा नुनको खानी फेला परेको स्थानीय समाजसेवी चन्द्रबहादुर पाइजाले जानकारी दिए।

सो खानीको उत्खनन हुन सकेमा जिल्लाका लागि आवश्यक पर्ने नुन प्राप्त गर्न सकिने अनुमान गरिएको उनको भनाइ रहेको छ । 'उत्खननका लागि नमुना पठाइसकेका छाैं, उनले भने ।

नुनखानी उत्खनन गर्न आवश्यक सहयोगका लागि स्थानीयवासीले सरोकारवालासँग सहयोग मागेपछि स्थलगत अवलोकनमा गएको एक टोलीले अन्य क्षेत्रको तातोपानीभन्दा स्वाद फरक रहेकाले यसको अनुसन्धान हुनुपर्ने बताएका थिए ।

""आज बिहान जोमसोमको भिरबाट ३९ वटा भेडा-च्याङ्ग्रा खसेर मरे""

""आज बिहान जोमसोमको भिरबाट ३९ वटा भेडा-च्याङ्ग्रा खसेर मरे""
आज बिहान पोखराबाट जोमसोम तर्फ उडान गरेको प्लेनले ल्यान्डिङका लागि जोमसोमको डाडाबाट यु -ट्रन गर्न खोज्दा प्लेनको क्राउडले गर्दा जोमसोमको भिर माथी चराइरहेका ३९ वटा भेडा-च्याङ्ग्राहरू भिरबाट खसेर मरेका छन्।
लोमान्थान्ङ निबासी पासाङ गुरुङ्ले दशैका लागि बिक्री गर्न भनेर सो भेडा च्याङ्ग्रा जोमसोम ल्याइएको थिए।
भिरमा खसेका ती भेडा च्याङ्ग्रा "अलकत्र" भाउमा पाउने आशाले र मरेका भेडा- च्याङग्रा हेर्नका लागी सयौको संख्यामा जोमसोम आसपासका जनताहरू घटनास्थल भएको ठाउँमा पुगेका थिए।
ती मृत भेडा च्याङ्ग्राहरू अलि अली जिउदोको रु १२,००० र मरेकाको , १०,००० र अन्यहरु उचित मुल्यमा बिक्रि गरेएको पासाङ गुरूङले मुस्ताङ अपडेटलाई बताए छ्न्।सो बाट पासाङ गुरुङ्लाइ अन्दाजी ३००,००० लाख जति नोकसान भएको विश्लेषकहरूको भनाई छ।

झुण्डिएको अवस्थामा भेटिएकी सरिताको हत्या भएको आशंका

ललितपुर । ललितपुरको ठूलादुर्लुङ गाविस स्थित बालुवाडाँडाकी सरिता तिमल्सिना (घिमिरे) को आत्महत्या नभइ हत्या भएको आशंका उनका माइती पक्ष र सरोकारवालहरुले गरेको छ ।
गत १७ गते आईतबार बिहान झुन्डिएको अवस्थामा फेला परेकी साढे चार महिनाकी गर्भवती तिमल्सिनाकोे मृत्यु रहस्यमय भएको भन्दै परिवारले आशङ्का गरेपछि उनका श्रीमान उपेन्द्र घिमिरेलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मृतकको शव पोष्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा लगिएको र अस्पतालले दिएको पोष्टमर्टमको रिपोर्टमा सत्यता नभएको भन्दै उनका माइती पक्ष र सरोकारवालहरुले भोली असोज २४ गते आइतवार राष्ट्रिय मानव अधिकार आयोगमा ज्ञापन पत्र बुझाउने तयारी गरेका छन् । माइती पक्षले गरेको दावी अनुसार मृतक सरितालाई तातो पानी खन्याएर हत्या गरी रुखमा लगेर झुण्ड्याइएको हो भन्ने छ । मृतकको शरिर भरी निलडाम रहेको तस्वीरहरु समेत उनीहरुले रेकर्डमा देखाएका छन् ।
कक्षा ९ मा पढ्दै गरेकी सरिता तिमल्सिनासंग ७ महिना अघि उपेन्द्र घिमिरेले आफूखुशी विवाह गरेका थिए । १९ वर्षीया तिमल्सिनालाई आईतवार घर नजिकै पाखामा रुखमा झुण्ड्याइएको अवस्थामा फेला पारिएको थियो।
suicideमृतकका फुपुका छोरा राजन प्रसाद बञ्जराले आफ्नी बहिनीको हत्या भएको हुनसक्ने बताउनुभयो। ‘बहिनीको शरीर भरी पोलेको फोकाहरू छन, छाला पुरै खुइलिएको छ । हामीले त्यसको पनि मेडिकल रिपोर्ट मागेका छौ। मृतकको घाँटीमा पनि एउटा डोरीको निसाना पहिले नै थियो र पछि झुन्डिएको डोरीको निसाना अर्कै छ’ बन्जाराले भन्नुभयो। ‘एउटा डोरीले पासो लाएको भए दुइ ओटाको निशाना कसरी आयो ?’ उहाँ भन्नुहुन्छ।
बन्जाराले बहिनीको आधा शरीर भुईमा लत्रिएको भन्दै बसेर घाँटीमा डोरी लगाएजस्तो देखिएको बताउनुभयो। यी कुराले बहिनीले आत्महत्या गरेका भनेर पत्याउन नसकिने उहाँको भनाइ छ । डाक्टरले पनि प्रहरीको मुचुल्काको फोटोकपी, घट्नास्थलको फोटो अनि बहिनीको मोवाइलमा गएको म्यासेज मागेको बन्जाराले बताउनुभयो । अहिले प्रहरीले किटानी जाहेरी दर्ता गर्न नमानेकाले पोष्टमार्टम रिपोर्ट आएपछि पुन दर्ता गर्ने तयारीमा माइती पक्ष रहेको छ।