Taja Samachar Nepal

Taja Samachar Nepal
News

Saturday, October 10, 2015

म्याग्दीमा नुन खानी छ, सरकारले कानमा तेल हाल्या छ

बेनी : म्याग्दीको शिख गाविसको कालीगण्डकी नदी किनारमा चार वर्षअघि फेला परेको नुन खानी सरकारी बेवास्ताका कारण अलपत्र परेको छ ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाअन्तर्गत पर्ने शिख र नारच्याङ गाविसको सिमानामा कालीगण्डकी नदी किनारामा २०६८ सालमा नुनिलो पानीको मुहान भेटिएको थियो ।

मुहान भेटिएपछि त्यसको अनुसन्धान सुरु गरे पनि आर्थिक अभावमा पूर्णता पाउन नसकेको तातोपानी संरक्षण समितिका सदस्य पूर्णबहादुर पुनले बताए ।

'तातोपानीसँगै नुनसमेत देखिएको छ', उनले भने, 'पानीको स्वाद नुन हालेको जस्तो भएकाले पनि खानी तथा भूगर्भ विभागमार्फत अनुसन्धान गर्नुपर्ने आवश्यकता देखिएको छ ।'

करिब ५० डिग्री सेल्सियस तापक्रममा नुनिलो पानीको मुहान तथा आसपासको जग्गामा सेताम्मे नुन जस्तै पदार्थ देखिएको थियो ।

नुनखानी भेटिएका चार वर्ष भइसक्दा पनि सरकारले बेवास्ता गरेको स्थानीयबासीले अारोप लगाएका छन् ।

कालीगण्डकी नदीको किनारमा फेला परेको तातोपानीलाई संरक्षणका लागि डोजरले स्नान कुण्ड बनाउने क्रममा नुनको खानी फेला परेको स्थानीय समाजसेवी चन्द्रबहादुर पाइजाले जानकारी दिए।

सो खानीको उत्खनन हुन सकेमा जिल्लाका लागि आवश्यक पर्ने नुन प्राप्त गर्न सकिने अनुमान गरिएको उनको भनाइ रहेको छ । 'उत्खननका लागि नमुना पठाइसकेका छाैं, उनले भने ।

नुनखानी उत्खनन गर्न आवश्यक सहयोगका लागि स्थानीयवासीले सरोकारवालासँग सहयोग मागेपछि स्थलगत अवलोकनमा गएको एक टोलीले अन्य क्षेत्रको तातोपानीभन्दा स्वाद फरक रहेकाले यसको अनुसन्धान हुनुपर्ने बताएका थिए ।