Taja Samachar Nepal

Taja Samachar Nepal
News

Sunday, August 23, 2015

आन्दोलनरत पक्षलाई वार्तामा आउन प्रधानमन्त्रीको आह्वान


काठमाडौं, भदौ ७ । प्रधानमन्त्री सुशील कोइरालाले आन्दोलनरत राजनीतिक दल तथा विभिन्न पक्षलाई वार्तामा आउन आह्वान गरेका छन् ।
प्रधानमन्त्री कोइरालाले आइतबार राति देशवासीका नाममा सन्देश जारी गर्दै शान्तिपूर्ण तवरबाटै आफ्ना मागहरुको समाधान गर्नेतर्फ लाग्न आग्रह गरेका हुन् । उनले मुलुकको भूराजनीतिक संवेदनशीलता र धरातलीययथार्थतालाई मनन् गर्दै सबैलाई संयमित र एकताबद्ध हुन अपील गरेका हुन् ।
संविधान निर्माण प्रक्रिया द्रुत गतिमा अघि बढिरहेका बेला केही राजनीतिक दलले संविधानसभा नै छाड्ने र बहिस्कार गर्ने क्रम बढाएपछि प्रधानमन्त्री कोइरालाले उनीहरुलाई समेट्ने प्रयासस्वरुप वार्ताको आह्वान गरेका हुन् ।
प्रमुख चार दलको आइतबार बसेको बैठकले प्रधानमन्त्रीमार्फत् असन्तुष्टहरुसँग वार्ता प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा प्रधानमन्त्रीले देशवासीका नाममा सन्देश जारी गर्दै असन्तुष्टहरुलाई वार्तामा आउन आह्वान गरेका हुन् ।
प्रधानमन्त्री कोइरालाले संविधान गतिशील दस्तावेज भएकाले यसलाई चाहेको अवस्थामा परिमार्जन गर्न सकिने भन्दै संविधानसभाबाट संविधान जारी गर्ने प्रक्रियामा सामेल भइरहन र सहयोग गर्न असन्तुष्टहरुसँग आग्रह गरे ।
उनले देशभरबाट प्राप्त सुझावलाई संशोधित मस्यौदामा समेटिएको भन्दै अझै पनि समेट्न सकिने बताएका छन् । प्रधानमन्त्री कोइरालाले संविधानसभा बाहिर रहेका दलहरुलाई पनि आफ्ना मागहरु वार्ताका माध्यमबाट संविधानसभामा शान्तिपूर्ण रुपमा पुर्‍याउन अपील गरेका छन् ।
उनले संघीयता, समावेशीता र समानुपातिक निर्वाचन प्रणालीसहितको लोकतान्त्रिक गणतन्त्रात्मक संविधान आफूहरुको प्रतिबद्धता रहेको सन्देशमा उल्लेख गरेका छन् ।

बन्दका कारण वीरगञ्ज भन्सार कार्यालयमा ८० हजार टन सामान अलपत्र


७ साउन, काठमाडौं । मधेसकेन्द्रित तथा अन्य राजनीतिक दलको १० दिनदेखि जारी बन्दका कारण चार हजार मालबहाक गाडी मुलुकको प्रमुख नाका वीरगन्जनजिकै भारतीय सीमामा थन्किएका छन् । औसत २० टन बोक्ने गाडीहरु साताभन्दा बढी समयदेखि रोकिँदा कम्तीमा ८० हजार टन सामान अलपत्र परेको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।
मालबाहक ट्रक, कन्टेनर, प्लेटर्फम ट्रक, भेहिकल कार्गोलगायत गाडीको लर्को सीमावती भारतीय सहर रक्सौलको लक्ष्मीपुरदेखि करिब २५ किलोमिटरसम्म देखिएको छ । 

मधेसी मोर्चाले अह्वान गरेको अनिश्चितकालीन बन्द : सप्तरीको जनजीवन अत्यन्त कष्टकर



सप्तरी, ७ भदौ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले अह्वान गरेको अनिश्चितकालीन बन्दको कारण अत्यन्त  सप्तरीको जनजीवन अत्यन्त कष्टकर भएको छ । सङ्घीय समाजवादी फोरम नेपाल, सद्भावना पार्टी, तराई मधेस लोकतान्त्रिक पार्टीलगायत मधेस केन्द्रित दलले आह्वान गरेको बन्दका कारण सप्तरीलगायत तराईका जिल्लामा बन्दको निकै प्रभाव परेको छ । बन्दका कारण सप्तरी सदरमुकाम राजविराजबाट छुट्ने लामो तथा छोटो दूरीका कुनै पनि सवारी साधन चल्न सकेका छैनन् ।
आन्दोलनकारीले पूर्व–पश्चिम राजमार्गको भारदह, कन्चनपुर, रुपनी, कल्यानपुरलगायत सडकमा ढुङ्गा थुपारेर सडक अवरुद्ध पारेका छन् । यस्तै बन्दबाट उद्योग कलकारखाना, पसल, बजार, शिक्षण संस्थासमेत ठप्प छन् । यता नौ दिनदेखिको बन्दका कारण बजारमा दैनिक उपभोग्य सामग्रीको अभाव हुनाका साथै महँगी निकै बढेको छ ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आज सप्तरी सदरमुकाम राजविराजमा सिठ्ठी जुलुस प्रदर्शन गरेको छ । स्थानीय शिव मन्दिरको प्रगणबाट निकालिएको जुलुस नगरको विभिन्न भाग परिक्रमा गरी दर्शनचोकमा पुगी कोणसभामा परिणत भएको थियो । उनीहरुले समग्र मधेस एक प्रदेश हुनुपर्ने माग गरेका थिए ।