Taja Samachar Nepal

Taja Samachar Nepal
News

Friday, September 25, 2015

असोज २१ भित्र नयाँ प्रधानमन्त्री'

काठमाडौं: रूपान्तरित संसद्को अधिवेशन आह्वानसँगै असोज तेस्रो साताभित्र नयाँ सरकार गठन हुने सम्भावना देखिएको छ। प्रधानमन्त्री सुशील कोइरालाको सिफारिसमा राष्ट्रपति डा.रामवरण यादवले असोज १५ गते १ बजे बस्ने गरी शुक्रबार अधिवेशन आह्वान गरेपछि अधिवेशनको पहिलो काम नयाँ प्रधानमन्त्रीको निर्वाचन गर्नु हुनेछ। 
 
तीन प्रमुख दलहरूबीचको हालको एकताले सहमतीय सरकार गठनमा अप्ठ्यारो नपर्ने नेताहरूको विश्वास छ। संविधान निर्माणको काम सम्पन्न भई संविधानसभा स्वतः संसद्मा रूपान्तरित भएपछि संसद्को पहिलो अधिवेशन बस्न लागेको हो।
यो अधिवेशनले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र उपसभामुखको निर्वाचन गर्नेछ। नयाँ संविधानअनुसार अधिवेशन बसेको सात दिनभित्र राजनीतिक सहमतिमा प्रधानमन्त्री निर्वाचन गर्नुपर्ने व्यवस्था छ। 
 
सहमति नभए बहुमतीय आधारमा प्रधानमन्त्रीको निर्वाचन हुनेछ। संविधानको धारा २९८ को उपधारा २ मा भनिएको छ, ‘यो संविधान प्रारम्भ हुँदाका बखत व्यवस्थापिका संसद्को अधिवेशन चलिरहेको रहेनछ भने धारा २९६ को उपधारा (६) बमोजिम आह्वान भएको मितिले सात दिनभित्र राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गरी निजको अध्यक्षतामा मन्त्रिपरिषद्को गठन हुनेछ।'
 
राजनीतिक सहमति नभए धारा २९८ को उपधारा (३) मा व्यवस्थापिका संसद्को तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहुमतका आधारमा प्रधानमन्त्रीको निर्वाचन गर्नुपर्ने व्यवस्था छ । नयाँ प्रधानमन्त्रीको निर्वाचनका लागि हालका प्रधानमन्त्री सुशील कोइरालाले भने राजीनामा दिएका छैनन्।
 
'असोजको तेस्रो साताभित्र नयाँ प्रधानमन्त्री आउने सम्भावना छ,' एमाले प्रमुख सचेतक अग्नि खरेलले भने। 'राजनीतिक सहमति भए तेस्रो साता नभए अरू केही दिन पनि लाग्न सक्छ,' कांग्रेसका रमेश लेखकले भने। संसद् अधिवेशन आह्वानसँगै नेताहरूबीच सरकार गठनका विषयमा छलफल सुरु भएको छ।
 
सुशील कोइराला प्रधानमन्त्री बनाउने क्रममा संविधान जारी भएपछि एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्री बनाउने सहमति कांग्रेस र एमालेबीच भएको थियो। 'प्रधानमन्त्री मात्र होइन, राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुखको पनि निर्वाचन गर्नुपर्ने भएकाले दलहरूबीच प्याकेजमा सहमति गर्नुपर्ने अवस्था छ,' एमाओवादी प्रमुख सचेतक गिरिराजमणि पोखरेलले भने।
 
एमालेका एक पदाधिकारीले भने, ‘तीन दलबीचको हालको एकताले सहमतीय सरकार गठनमा अप्ठ्यारो पर्ने देखिँदैन। पहिलो चरणमै प्रधानमन्त्री निर्वाचित हुने सम्भावना छ।' अब बन्ने सरकारमा सभासद्मात्र मन्त्री बन्न पाउने व्यवस्था संविधानमा छ। 
 ‘यस धाराबमोजिम नियुक्त प्रधानमन्त्रीले उपधारा (५) बमोजिम मन्त्री नियुक्त गर्दा सम्वन्धित दलको सिफारिसमा व्यवस्थापिका संसद्का सदस्यहरूमध्ये नियुक्ति गर्नुपर्नेछ,’ धारा २९८ को उपधारा (६)मा उल्लेख छ। 
 
चुनावमा हारेका र चुनावमा नउठेका व्यक्तिहरूको मन्त्रिपरिषद्मा बाहुल्य हुने गरेको भन्दै सर्वत्र आचोचना भएपछि सभासद्मात्र मन्त्री बन्न पाउने व्यवस्था गरिएको हो। यस्तै संसद् बसेको एक महिनाभित्र राष्ट्रपति र उपराष्ट्रपति तथा २० दिनभित्र सभामुखको निर्वाचन गर्नुपर्ने व्यवस्था संविधानमा छ। 
 
राष्ट्रपति र उपराष्ट्रपतिको नयाँ निर्वाचन एकैसाथ गर्नुपर्ने भएकाले हाल कायम राष्ट्रपति र उपराष्ट्रपतिले को समक्ष राजीनामा दिने भन्ने व्यवस्था भने संविधानमा स्पष्ट छैन। नयाँ निर्वाचित राष्ट्रपतिको अवधि प्रदेशहरू बनेर त्यसको निर्वाचक मण्डलबाट अर्को राष्ट्रपति निर्वाचित नभएसम्मका लागि हुनेछ।

छिमेक चीनले नेपाललाई आवश्यक पर्ने सबै सहयोग आपूर्ति गर्ने

९ असोज, काठमाडौं । संविधान जारी भएपछिको नेपालको राजनीतिक परिस्थितिलाई गम्भीर चासोसाथ हेरिरहेको चीनले तातोपानी र रसुवागढी दुवै नाका खोलेर नेपालमा उपभोग्य सामग्री आपूर्ति सहज बनाउन तयार रहेको जनाएको छ।
मधेसमा भइरहेको आन्दोलनलाई कारण देखाउँदै भारतले तेलसहितका उपभोग्य सामग्री आपूर्तिमा अवरोध सिर्जना गरेको अवस्थामा उत्तरी छिमेक चीनले नेपाललाई आवश्यक पर्ने सबै सहयोग गर्ने प्रतिबद्धता जनाएको  छ ।
चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) को अन्तर्राष्ट्रिय विभागमा नेपालसहित दक्षिण तथा दक्षिणपूर्व एसिया मामिला हेर्ने उपमन्त्री छन फेङस्याङले शुक्रबार बेइजिङमा राजदूत महेश मास्केसँग भएको भेटवार्तामा नेपालसँगको नाका खोल्ने कामलाई चीनले पहिलो प्राथमिकतामा राखेको जानकारी दिए।
उपमन्त्री छन नेसनल पिपुल्स कंग्रेसको अन्तर्राष्ट्रिय मामिला कमिटीका उपाध्यक्ष पनि हुन्। चीनको उपविदेशमन्त्री सरहकै हैसियत राख्ने उपमन्त्री छन नेपाल मामिलामा बेइजिङमा निकै प्रभावशाली मानिन्छन्।
उपमन्त्री छनसँग भएको भेटवार्तामा राजदूत मास्केले नेपालको अहिलेको परिस्थितिबारे ब्रिफिङ गर्दै दशैँ पर्व समेत नजिक आएकाले तातोपानी र रसुवागढी नाका खोलेर सीमा व्यापार सुचालु गरिए धेरै नेपालीले सहजता महसुस गर्ने बताएका थिए। ‘पर्वका लागि पनि सहज हुने गरी चीनले नेपालसँगका दुवै नाका खोल्न प्राथमिकतासाथ काम गर्नेछ,’ उपमन्त्री छनको जवाफ उद्धृत गर्दै राजदूत मास्केले भने, ‘नेपाललाई आवश्यक परे उपभोग्य सामग्री आपूर्ति गर्नसमेत चीन तयार छ।’


दाङमा ईदको पुजापाठ रोडमा बसेर गदै

            दाङ,असोज ८, २०७२ ईदको पुजापाठ रोडमा बसेर गदै |दाङमा दुबै मुस्लिम मस्जित बिच बार्ता नमिल्दा फैजाने गौसिया मस्जित समुहले कव्रस्थानमा पुजा पाठ गर्न नपाए पछि रोडमा बसेर पुजा पाठ गरेका छन्| मस्लिम धर्मलम्बीहरू उता जामे अलसलिसिया मस्जित समुहले कव्रस्थान माथी टेकेर पुजापाठ गर्न दिदा पुर्खाको आत्माहरूको अपमान र पाप लाग्ने हूनाले पुजा गर्न नदिएको बताएका छन् | कुनई घटना नहोस भन्दै प्रहरीले समयमा ताला लागाएको थियो भने दुबै समुहलाई बार्ता मिले पछि मात्र ताला खोल्ने वडा प्रहरी प्रमुख प्रकाश सापकोटाले बताए|
Photo : Sagar Thapa

Photo:Sagar Thapa
Photo: Sagar Thapa