Taja Samachar Nepal

Taja Samachar Nepal
News

Monday, October 19, 2015

राजनीतिमा म्याच फिक्सिङ छैन् !

          ३ कार्तिक २०७२, रविराज थापा - जब मैले नेपाली खेलाडीहरु (म्याच-फिक्सिङ)को अभियोगमा पक्राउ परे भन्ने जानकारी पाँए, त्यसले मलाई अत्यन्तै  मर्माहत बनायो । पहिले त  यी अल्लरे केटाहरुको मूर्खतापूर्ण व्यावहार र निर्णय प्रति रिस उठ्यो। तर अर्को तिर, जब म पनि यी केटाहरुको उमेरको थिएँ, मैले पनि यिनीहरुले जस्तै नेपाल र नेपालीको लागि खेलकुद जगतमा केही गरेर देखाउने, नेपालको नाम राख्ने र आकाशकोतारा समेत झार्न सक्ने जस्तो सपना देख्न थालेँ। मैले बक्सिङ खेलेँ, नेपालमा कसैसँग कहिल्यै हारिन। पुलिस भएँ एआईजी सम्म पुगेँ, राम्रै भयो ठिकै भयो। तर म सँगै बक्सिङ खेल्ने बक्सरहरु कही पुग्न सकेनन्, खेलकुद चलाउने र खेलकुदमा शासन  जमाउनेहरु माथी माथीपुगे तर नेपालको ओलम्पिकका होनहार खेलाडीहरु कोही मरेर गए कोही हनुमान ढोकामा चिरीमा परे। यो सबैको कारण हो गरिब खेलाडीका धनी र शक्तिशाली खेलकुदका पदाधिकारी र ठेकेदारहरु।
मेरो समकक्षी बक्सर पुष्करध्वज शाही म भन्दा पनि राम्रो बक्सर थिए, उनी नेपालका चिफ कोच भए तर कहिले अनुशासनको कारवाहीमा परे त !  कहिले निलम्वित भए!यी बिभिन्न कारणले गर्दा उनलाई जीवन प्रति निराशा छायो, उनी पछि अल्पायुमै मरेर गए । सन् २०१० मा ग्वाङजाउमा आयोजित यशिएन गेम्समा नेपालको लागि एक मात्र मेडल जितेका बक्सर दीपक महर्जन नेपाल फर्केका मात्र के थिए, उनलाई राजनैतिक पार्टीले सदस्य बनाउने देखि लिएर अभिनन्दनको लर्को लाग्यो। उनले पनि बाटो भुले, अभिनन्दनको मूतको तातोमा लण्डन ओलम्पिकलाई नै विर्षे , ओलम्पिक सम्म पुग्नै सकेनन्। त्यस पछि उनी राजनैतिक पार्टीको  सदस्यता लिने देखि अभिनन्दित हुने मै रमाउन थाले। तर हाल सालै उनको घुँडामा समस्या देखियो, अप्रेशन गर्नको लागी खर्च जुटाउन साथीभाईको घरघर ढोकाढोका चहार्ने पार्यो । यो हो नेपाली खेलाडीहरुको कथाव्यथा !
खेलाडीहरु जोसिला हुन्छन, खेलाडीहरु खेल जित्नको लागि खेल्छन, गल्ती पनि गर्छन, तर देश र राज्यले उसको गल्तीलाई अन्जान केटाकेटीले गरेको गल्ती जस्तो मानेर चेतावनी, नसिहत दिएर फेरी खेल्नमा नै प्रेरित गर्छ। किन कि त्यस्ता खेलाडी  उत्पादन गर्न धेरै खर्च र मेहनत गर्नु पर्ने हुन्छ। फुटबल खेल्दा खेलाडीले फल खेल्यो बने पनि उसलाई रेफ्रीले नसिहत स्वरुप पहेँलो कार्ड देखाउला, ठुलो फल खेले रातो कार्ड (रेड कार्ड) देखाएर ग्राउण्डवाट निकाली देला, तर उ सँधैको लागि फुटबलको खेलबाट सन्यास लेओसभन्ने चाहीँ कहिल्यै चाहँदैन। हुन सक्छ त्यो खेलाडीलाई केही समयको लागी खेल्न बाट बञ्चित पनि गर्न सक्छ। तर नेपालको जस्तो राष्ट्र र अन्तर्राष्ट्रिय स्तरमा नेपालको झण्डा मुनी नेपालीको लागि खेलेको  र घरखेत, परिवार लाई विर्सिएर खेलकुदको लागि जीवननै बलिदान गरेका अल्लारे केटाहरुलाई म्याच फिक्स गरेको आरोपमा हतकडी नै लगाएर देशभरि बेईजत्तिको सामना गर्न वाध्य पारिएको घटनाले मेरो मनमा रोष र बिद्रोहले  जरो गाडेको छ। मलाई लाग्छ मनमा खेलाडी हुँ भन्ने र खेलकुदको लागि समर्पित युवाको लागि यो भन्दा ठुलो अनादर, अपमान र वेईज्जती नेपालको ईतिहासमा  पहिले कहिल्यै भएको थिएन होला।
वास्तवमा भन्ने हो भने नेपालको ईतिहास नै म्याच -  फिक्सिङ बाट चलेको छ। नेपालको राजनिती म्याच -  फिक्सिङ हो। नेपाल बाट राजसंस्था हटाउने र नेपाललाई धर्म निरपेक्ष राष्ट्र बनाउने कुरा पनि नेपालको राजनीतिमा  हस्तक्षेप गर्ने हरुको म्याच फिक्सिङ नै त हो।
२००५ नोभेम्बरको सात राजनैतिक दल र माओवादीको १२ बुँदे संझदारी म्याच फिक्सिङ हो भनेर  कसैले भनेमा हाम्रा शीर्ष  नेताहरुले के जवाफ देलान !  उनीहरुलाई के कस्तो कारवाही होला!  यदि कसैले १६ बुँदे सहमति पनि शीर्ष  नेताहरुको म्याच फिक्सिङ हो भन्यो भने के हुन्छ। तर यहाँ हामी म्याच - फिक्सिङलाई भद्र सहमति  भन्ने गरेका छौँ!
अब यो म्याच - फिक्सिङको अपराधमा नेपालमा के कस्तो कानुनी व्यबस्था छ, त्यो म विगत ४० बर्षदेखि खेलकुदमा लागेर ओलम्पिक र अन्तरर्राष्ट्रिय खेलमा खेलिसकेको भएतापनि मलाई थाहा छैन। नेपालमा म्याच - फिक्सिङ गरेको अभियोगमा नेपालको राष्ट्रिय स्तरका खेलाडीहरुलाई हतकडी लगाएर नेपाली जनता सामुन्ने रेडियो, पत्रिका र टेलिभिजन सामु लगातार देखाईरहनु आफ्नो देशको नाममा रगत पसिना बगाएर  मेहनत गरेर नेपालको लागि खेलेका युवाहरुलाई यसरी अपमान र वेईज्जत गर्नु कहाँसम्म न्याय सँगत छ। अहिलेका यी युवाहरुलाई कारवाही  गर्नु भन्दा यसको  मूल जरो पहिल्याउनु अत्यन्त जरुरी छ ।  यसमा नेपाली खेलाडी, खेलकुद पत्रकार जगतले अनुगमन र अनुसन्धानको थालनी गर्नु वढी फलदायी  हुनसक्छ। हुनत खेलकुद पत्रकारको हैसियत र अवश्था पनि नेपपालका श्रमजिवी खेलाडीको भन्दा कुनै फरक छैन। यो कुरा ४ वर्ष नेपाल ओलम्पिक कमिटीको उपाध्यक्ष र सात वर्ष नेपाल बक्सिङ सँघको अध्यक्ष हुदा मैले देखेको, जानेको र बुझेको हो । त्यसवेला नेपालका खेलकुद जगतका वाचडग मानिने खेलकुदका संचारकर्मीहरु पनि धेरै वजेट भएको एन्फा, खेलकुद परिषद र ओलम्पिक कमिटिको सभा समारोहमा धेरै रुची राख्थे, खेलाडीको स्वार्थ भन्दा आफ्नो फाइदा हेर्थे  ।
यहाँ बुझ्नुपर्ने कुरा के छ भने यी युवा खेलाडीहरु थुनि हाल्नु पर्ने, झुण्ड्याईहाल्नु पर्ने देशद्रोही भने होईनन्।  यीनिहरुलाई देशद्रोही मानेर हतकडी लगाएर खोरमा राख्नु पर्ने हो भने, ती भन्दा ठूला देशद्रोहीहरु आज नेपालमा प्रशस्तै छन। यहाँ यीनिहरुलाई कारवाही  नै गर्नै हुन्न भनेको पनि होईन, तर जुन तरिकाले यीनिहरुको उमेर, जोश, आवश्यकताको लागि यीनिहरुले आफ्नो मर्यादा, अनुशासनलाई विर्सिएर  त्यसको सजाय दिनु गर्छ  । यीनिहरुलाई थुनेर कारवाही गर्नुपर्ने कुन फौजदारी र सरकारी मुद्दा सम्बन्धी ऐनको कुन दफाले के सजाएँ तोकेको छ यो पनि जनताले जान्न जरुरी छ।
प्रहरी सँगठन देखी निजामती कर्मचारीतन्त्रको त प्रत्येक सरुवा, बढुवा, आयोग र बिभागको नियुक्तिमा  हुने राजनैतिक पार्टीको बागवण्डा म्याच - फिक्सिङ भन्दा कम  छैन। अब खेलकुद परिषदको त कुरै भएन। हालसालैको खेलकुद मन्त्रीको राजीनाम, बिगत देखी नेपालको राष्ट्रिय खेलकुद परिषदको सदस्यसचिवको  नियुक्ति देखी उनीहरुलाई अनाधिकृत रुपले खेलाडी बनाएर मानव तस्करी गर्ने काम के म्याचफिक्सिङ भन्दा कम हुन्छ । उनीहरुलाई पनि कहिल्यै थुनेर कारवाही भएको नजिर छैन। राजनीतिको खेलमा म्याच फिक्सिङ लाई भद्रसहमती भनिन्छ, किन भने त्यहाँ म्याच अर्थात प्रतिष्पर्धा नै  हुँदैन, सबैका सबै सहमतीमै टुङ्गिन्छ। जति प्रतिश्पर्धा हुने हो, त्यो पार्टी भित्र  हुन्छ।  भाग खानेहरु आफु भित्र नै हुने गर्छ।
कुनै जमानामा एमालेको भागमा खेलकुद मन्त्री थिए, जीवनराम श्रेष्ठ । एमालेवाट सदस्य सचीव बने, अहिले उनको राजनीतिले बिश्राम लिएको छ । उनी आज ओलम्पिक कमिटीका अध्यक्ष हुन पुगेका छन। पछि मधेशी पार्टीका खेलकुद मन्त्री भए। उनले खेलकुद को कुनै खेल नखेले पनि मधेशी कोटामा सदस्य सचीव बनाए। उनी पछि माओवादीबाट खेलकुद मन्त्री आाए , उनले पनि माओवादीको तर्फबाट युवराज लामालाई सदस्य सचिव बनाए। उनले पनि बिभिन्न राष्ट्रिय खेलकुद संघहरुलाइ माओबादीकरण गरे,  नयाँनयाँ संघ खडा गरे माओवादीहरुलाई खेलकुदका पदाधिकारी अध्यक्ष , उपाध्यक्षा सचिव कोषाध्यक्षको पदमा भरे। उदाहरणको लागि नेपालको खेलकुद जगत ढाक्ने पूर्व ओलम्पिक कमिटिका अध्यक्ष रुक्मशम्शेर राणा देखि लिएर ध्रुबबहादुर प्रधान हुन या  जीवनराम श्रेष्ट सम्म, एन्फाका गणेश थापा देखि  राष्ट्रिय खेलकुद परिषदका पूर्व उपाध्यक्षहरु सीताराम  मास्के, पिताम्वर तिम्सिना, टेन्डी शेर्पा र नेपालका प्राय सबै राष्ट्रिय र अन्तरर्राष्ट्रिय पदाधिकारीहरु नेपालको खेलकुद जगतका प्रशासनिक म्याचफिक्सरहरु भन्दा बढी केही होईनन् ।
यस्ता खेलकुदका म्याचफिक्सरहरु त नेपालमा अनगिन्ती छन्। यी सबैको अन्तरर्राष्ट्रिय खेलकुद र खेलाडीको आँखाले तिनीहरुको हैशसयत र स्तर परीक्षा गर्ने हो भने यी सबै अन्तरर्राष्ट्रिय, राष्ट्रिय, राजनैतिक र प्रशासनिक म्याचफिक्सर भन्दा बढी केही होईनन भनेर टडकारो रुपले देख्न सकिन्छ। तिनीहरुले नेपालको लागि कुनै अन्तरर्राष्ट्रिय जगतमा कहिल्यै खेलेनन् र खेलेका पनि छैनन् र खेल्ने पनि छैनन्। तर दुर्भाग्य, विश्वको खेलमैदानमा खेल्ने नेपालका राष्ट्रिय स्तरका खेलाडीले जानी नजानी, वाध्यतावस यो गल्ती गरे, यसमा हतकडी र खोरमा राख्ने जस्ता कामले राष्ट्रिय अन्तरर्राष्ट्रिय खेलाडीमा पर्न जाने शारिरिक र मनोवेज्ञानिक प्रभाव वारे पनि ध्यान दिनु अति आवश्यका छ। यो सवै सरोकारवालाहरुको धर्म र कर्तव्य पनि हो ।
यसर्थ अहिले नेपालमा लोकतन्त्र छ, खेलकुद मन्त्रालय छ, राष्ट्रिय खेलकुद परिषद छ, फुटवलको राष्ट्रिय संघ एन्फा पनि छ।
 नेपाल प्रहरीके नेपालका टाष्ट्रिय खेलाडीहरुलाई हतकडी लगाएर ठुलो काम गरेँ भन्नु जनतालाई देखाउने भ्रममात्र हो  म पूर्व प्रहरी अधिकृत र पूर्ब ओलम्पिक खेलाडी, पूर्व नेपाल ओलम्पिक कमिटिको उपाध्यक्ष र पूर्व बक्सिङ संघको अध्यक्षको हैशियतले सबै सरोकारवालाहरुलाई यो प्रश्न गर्न उपयुक्त ठान्छु। देशका होनहार युवा खेलाडीले एउटा गल्ती गरे भन्दैमा उनलाई ठाडै टेलिभिजन, पत्रिकामा झ्याली पिटाएर, प्रोपगण्डा गरेर खोरमा थुन्नुको सट्टा आयोग गठन गरेर अनुगमन गर्नु बढी उपयुक्त देखिन्छ।