Taja Samachar Nepal

Taja Samachar Nepal
News

Sunday, October 18, 2015

राष्ट्रपति निर्वाचनका लागि लबिङ गर्दै कांग्रेस

काठमाडौं, कार्तिक २ । सभामुख र उपसभामुख निर्वाचनमा सरकारी उम्मेदवारलाई नै समर्थन गरेको प्रमुख प्रतिपक्षी दल कांग्रेसले राष्ट्रपति निर्वाचनमा भने उम्मेदवारी दिने भएको छ । राष्ट्रपतिमा समर्थन पाउन सरकारमा आउनुपर्ने एमालेको प्रस्ताव भने कांग्रेसले अस्वीकार गरेको छ ।
नयाँ संविधानको प्रावधान अनुसार कार्तिक ८ गतेभित्रसंसदले नयाँ राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन प्रक्रिया शुरु गर्नुपर्नेछ । प्रधानमन्त्री निर्वाचनबाट टाढिएका प्रमुख दल नेपाली कांग्रेस, नेकपा एमाले, एकीकृत माओवादी र मधेशी मोर्चा सबैले राष्ट्रपति पदमा भने लोभ देखाइरहेका छन् ।
प्रधानमन्त्री निर्वाचनमा एक्लिएको कांग्रेसले राष्ट्रपतिका लागि दलका तर्फबाट उम्मेदवारी दिने बताइसकेको छ । यसका लागि उसले लबिङ पनि थालेको छ । अन्यथा नभएको अवस्थामा सत्तारुढ दलले त राष्ट्रपतिमा उम्मेदवारी दिने नै भैहाल्यो । यसले सत्ता र प्रतिपक्षी दुबैको तर्फबाट छुट्टा–छुट्टै उम्मेदवारी पर्ने देखिएको छ ।
तराई मधेसमा देखिएको आन्दोलनको सम्बोधनका लागि तत्काल संविधान संशोधन गर्नुपर्ने र त्यसका लागि कांग्रेसको समर्थन जरुरी पर्ने भएकाले राष्ट्रपति कांग्रेसलाई नै दिएर भएपनि सहमति गर्नुपर्ने आवाज स्वयं सत्तारुढ दलभित्रै उठेको छ ।
सभामुख निर्वाचनमा एमाओवादीले औपचारिक पत्र पठाएपछि उसकै उम्मेदवारलाई सहयोग गरेको कांग्रेसले राष्ट्रपति निर्वाचनमा अरु दलबाट आफ्नो उम्मेदवारलाई सहयोग हुने अपेक्षा गरेको छ ।
कांग्रेस उपसभापति रामचन्द्र पौडेल कांग्रेसले उठाउने राष्ट्रपतिको उम्मेदवारलाई सकभर सर्वसम्मत बनाइने दावी गर्छन् । त्यसका लागि सत्तारुढ दलहरु नै पनि सकारात्मक रहेको उनको भनाई छ । सत्ता नेतृत्वकर्ता एमालेका तर्फबाट पनि घुमाउरो पारामा कांग्रेसलाई राष्ट्रपति दिन सकिने अभिव्यक्ति आइरहेको छ । तर त्यसका लागि कांग्रेस सरकारमा आउनुपर्ने शर्त छ ।
उपसभापति पौडेल भने राष्ट्रपतिका लागि शर्त स्वीकारेर सरकारमा जाने सम्भावना नरहेको बताउँछन् ।
कांग्रेसले कसलाई उम्मेदवार बनाउँछ भन्ने विषय पनि त्यत्तिकै चासोमा छ । अहिलेकै राष्ट्रपतिलाई दोहो¥याउने वा नयाँ खोज्ने भन्ने विषयमा कांग्रेसभित्र चर्चा चुलिएको छ । राष्ट्रपति मुलुक र जनता बुझेको सबैलाई मिलाएर लान सक्ने व्यक्ति हुनुपर्ने बुझाई कांग्रेसको छ । यद्यपि, व्यक्ति भने तय भइसकेको छैन ।
संविधान संशोधनसहित संविधान कार्यान्वयनको प्रमुख कार्यभार पूरा गर्न प्रमुख दलहरु मिलेनन् भने त्यसले आम जनतामा सकारात्मक सन्देश दिने छैन । मुलुक र जनताको सुखद भविष्य बनाउने हो भने दलहरुले आपसी स्वार्थ त्यागेर प्रतिष्पर्धाकै बीचमा पनि सहमतिको बाटो रोज्न सक्नुपर्छ ।

भारतीय नाकाबाट न्यूनमात्रामा इन्धन आपूर्ति

काठमाडौं, कार्तिक २ । भारतीय आयल कर्पोरेशनले मागे जति इन्धन नपठाउँदा नेपालमा पर्याप्त पेट्रोलियम पदार्थ भित्रन सकेको छैन । अघोषित नाकाबन्दीले देशका प्रमुख नाकाहरुबाट आइतबार पनि सहज रुपमा आपूर्ति हुन सकेन ।
झापाको कांकडभिट्टा–पानीट्याङ्की नाकाबाट हिजो ७१ वटा मालवाहक सवारी नेपाल भित्रिए पनि इन्धन बोकेका कुनैट्याङ्कर आएनन् ।
नेपालगञ्ज–रुपैडिहा नाकाबाट १२ वटा मात्रै पेट्रोलियम पदार्थको ट्याङ्कर नेपाल प्रवेश गरेकोमा सातवटा पेट्रोल र पाँचवटा डिजलका ट्याङ्कर छन् । त्यस्तै एउटा ग्यास बुलेट र ८० वटा मालवाहक ट्रक भित्रिएको छ ।
बिराटनगरको रानी–जोगबनी नाकाबाट चार बुलेट ग्यास र ५८ वटा मालवाहक ट्रकमात्र भित्रियो । भैरहवा–सुनौली नाकाबाट २०८ वटा गाडी नेपाल आएकामा १३८ वटा मालवाहक ट्रक र अरु पीकअप भ्यान छन् ।
यस नाकाबाट १९ वटा पेट्रोलियम पदार्थका गाडी आएकामा ११ ट्याङ्कर डिजल, ६ ट्याङ्कर पेट्रोल र २ बुलेट ग्यास छन् ।
सुनौली नाकामा भारतीय सुरक्षा बलले चेकजाँचमा निकै कडाई गरेको छ ।
उता, कैलालीको धनगढी–गौरीफन्टा नाकाबाट थोरै मात्रामा मालवाहक ट्रक र पेट्रोलियम पदार्थ बोकेको गाडी नेपाल भित्रिएको छ ।
मुलुकको प्रमुख भन्सार बीरगञ्ज–रक्सौल नाका भने लामो समयदेखि ठप्प छ । नेपालका लागि लाइफ लाइन मानिने यो नाका बन्द भएको २५ दिन भइसक्यो । नाका क्षेत्रमा रहेको मितेरी पुलमा मधेशी मोर्चाले धर्ना दिने र त्यही धर्नालाई देखाएर नेपालतर्फ इन्धनलगायतका कुनै सामग्री पनि प्रवेश नदिने भारतीय खेल जारी छ । जसका कारण देशैभर पेट्रोल, डिजल र ग्यासमा चरम अभाव देखिएको छ ।

दिल्ली गएका कमल थापा असफल, नाकाबन्दी तत्काल ‘नखुल्ने|

काठमाडौं, २ कात्तिक । भारतले आफ्नो पूर्ववत अडान दोहोर्‍याउँदै मधेस मामिलालाई तत्काल सम्बोधन गर्न आग्रह गर्दै नेपालभित्रको राजनीतिक समस्या र द्धिदशीय सीमावर्ती तनाव नसुल्झुन्जेल सुरक्षा खतराका कारण सहज ढुवानी  नुहने संकत दिएको छ ।
भारतद्वारा जारी अघोषित नाकाबन्दीसहितका मामिलामा छलफल गर्न र निकासा पहिल्याउन दिल्ली उत्रिएका उपप्रधान एवम परराष्ट्रमन्त्री कमल थापाले द्धिदेशीय पारवहन समस्या सुल्झने कुरामा सकारात्मक बन्न सकिने भएपनि तत्काल केही भन्न नसकिने प्रतिक्रिया दिए ।
मधेसमा देखिएको अशान्त गतिविधि र आन्दोलन हाम्रो आन्तरिक राजनीतिक समस्या हो। यसलाई हामी राजनीतिक तबरमा मिलाउँछौं भन्दै भारतीय सद्भाव लिने प्रयत्नमा जुटेका थापाले आइताबर भारतीय विदेशमन्त्री सुष्मा स्वराज, गृहमन्त्री राजनाथ सिंह र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोबलसँग भेटवार्ता गरेका थिए ।
Birgunj_custom

तातोपानी कुण्डमा स्वदेशी तथा विदेशी पर्यटकको चाप

बेनी (म्याग्दी), २ कात्तिक । म्याग्दीको उत्तरी पर्यटकीयस्थल भुरुङ तातोपानीमा रहेको तातोपानी कुण्डमा स्वदेशी तथा विदेशी पर्यटकको चाप बढेको छ ।
बेनी–जोमसोम सडकखण्डअन्तर्गत पर्ने तातोपानीमा मौसम सुरुसँगै कुण्डमा स्नान गर्न आउने पर्यटकको चाप बढेको कुण्ड सञ्चालक प्रेम तुलाचनले बताउनुभयो ।
कालीगण्डकी नदीको किनारमा ६९ डिग्री सेल्सियसमा मूलबाट निस्किएको पानीलाई ३६ डिग्रीदेखि ३८ डिग्री सेल्सियससम्ममा तापक्रम मिलाइएको पानीमा पर्यटकले स्नान गरी मनोरञ्जन लिने गर्छन् । पर्यटकको सुविधाका लागि दुईवटा कुण्ड बनाएर स्नान गर्ने व्यवस्थासमेत गरिएको छ ।
अन्नपूर्ण पदमार्गअन्तर्गत शिख, घारा हुँदै आउने पर्यटकसमेत तातोपानी झरेर स्नान गरी नारच्याङ हुँदै मुस्ताङ पुग्ने गर्छन् भने हिमाली जिल्ला मुस्ताङ जाने पर्यटक र तीर्थयात्रीसमेत सोही कुण्ड हुँदै जाने भएकाले कुण्डमा स्नान गर्नेको सङ्ख्या बढेको कुण्ड व्यवस्थापन समितिका अध्यक्ष भुवन गौचनले बताउनुभयो ।
कालीगण्डकी नदी नजिकै रहेको कुण्ड कटानको जोखिममा परेपछि जिविस म्याग्दी, भुरुङ तातोपानी गाविसका साथै पर्यटन व्यवसायीले समेत संरक्षणमा सहयोग गर्ने गरेका छन् ।
कुण्डमा स्नान गरेमा विभिन्न बाथरोग, मर्केको, सुन्निएको, ग्यास्ट्रिक, गानोगोलालगायतका रोग निको हुने विश्वासमा पर्यटक आउने गर्छन् ।
उक्त कुण्डबाट हुने आम्दानीमध्ये बर्सेनि रु १० लाखभन्दा धेरै रकम स्थानीय सर्वोदय उच्च माध्यमिक विद्यालयमा खर्च हुने गरेको विद्यालयले जनाएको छ । म्याग्दीको सिंगा, मुदी, दग्नाम, शिखलगायत विभिन्न गाविसमा करिब आधा दर्जन तातोपानी कुण्ड रहेका छन् ।
तातोपानी कुण्डमा पर्यटकको चहलपहल

दशैंका लागि पोखरामा १६ हजार च्याङ्ग्रा भित्रिए

          पोखरा, कार्तिक २ । दशैंका लागि पोखरामा करिब १६ हजार भेडा, च्याङ्ग्राा भित्रिएका छन् । मुस्ताङ, डोल्पा, मुगु, तिब्बतबाट ३० करोड बराबरका भेडा च्याङ्ग्रा पोखरा ल्याएको व्यवसायीहरुले बताएका छन् ।गत वर्ष भन्दा १ हजार बढी भेडा, च्याङ्ग्रा पोखरामा भित्र्याइएको हो । हिमाली भेगमा पाइने जडिबुटी खाएर हुर्केको भेडा, च्याङ्ग्राको माग बढी हुने गर्दछ । 
दशैंको बेलामा पोखरा आसपासका क्षेत्रमा मात्रै करिब ३० करोड रुपैयाँ बराबरको भेडा, च्याङ्ग्राको कारोबार हुने गर्दछ ।
कास्कीको याम्दीमा भेडा, च्याङग्रा बिक्रीका लागि राखिएको छ भने फुलपातीको दिन पोखरा टुँडिखेलमा राख्ने गरिन्छ ।
यस बर्ष मुस्ताङ लगायतका बिभिन्न क्षेत्रबाट ल्याइएका च्याङ्ग्राको मुल्य १८ हजार देखि २५ हजारसम्म रहेको व्यापारीहरु बताउँछन् ।

नौ मन्त्री थपिए

       काठमाडौं :२ कार्तिक २०७२  एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा आइतबार नौजना मन्त्री थपिएका छन् । आफ्नै पार्टी एमालेले थप मन्त्रीका लागि नाम सिफारिस गर्न नसकेपछि प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति डा. रामवरण यादवले आइतबार शीतल निवासमा एमाओवादी, मधेसी जनअधिकार फोरम लोकतान्त्रिक र बहुजन शक्ति पार्टीबाट प्रतिनिधित्व गर्ने मन्त्रीलाई शपथ ग्रहण गराएका हुन् । 
 
आइतबार शपथ लिने मन्त्रीमा एमाओवादीका सचिव टोपबहादुर रायमाझी उपप्रधान तथा ऊर्जामन्त्री भएका छन् भने अर्का सचिव गिरिराजमणि पोखरेल शिक्षामन्त्री भएका छन् । त्यस्तै स्थायी समिति सदस्य अग्नि सापकोटा वन तथा भूसंरक्षणमन्त्री भएका छन् भने अर्का स्थायी समिति सदस्य शक्ति बस्नेतले गृहमन्त्रीको जिम्मेवारी पाएका छन् । 
 
अर्घाखाँची—१ बाट प्रत्यक्ष निर्वाचित रायमाझीले यसअघि संघीय मामिला तथा स्थानीय विकास र भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी समालिसकेका थिए । महोत्तरी—१ बाट प्रत्यक्ष निर्वाचित पोखरेल यसअघि एमाओवादीका प्रमुख सचेतक थिए । उनले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पनि समालिसकेका छन् । खोटाङमा जन्मिएका 
 
अविवाहित पोखरेल मोरङका स्थायी बासिन्दा हुन् । सिन्धुपाल्चोक—२ बाट प्रत्यक्ष निर्वाचित सापकोटा यसअघि सूचना तथा सञ्चारमन्त्री भइसकेका थिए । जनजागृति माध्यमिक विद्यालय साँगाचोक सिन्धुपाल्चोकको प्रधानाध्यापकबाट राजीनामा दिएर २०४८ को निर्वाचनमा उम्मेवार भएका सापकोटा संविधानसभाका दुवै निर्वाचनमा विजयी भएका थिए । 
 
जाजरकोट—१ बाट प्रत्यक्ष निर्वाचित बस्नेत यसअघि स्वास्थ्यमन्त्री भएका थिए । माओवादी लडाकुका कमिसार रहेका बस्नेत एमाओवादीका महासचिव कृष्णबहादुर महरालाई पछाडि पार्दै गृहमन्त्री भएका हुन् । यसअघि बस्नेतकी पत्नी सत्या पहाडी पनि शान्ति तथा पुनर्निर्माणमन्त्री भएकी थिइन् । 
 
वाणिज्य तथा आपूर्तिमन्त्रीको जिम्मेवारी पाएका गणेशमान पुन एमाओवादी युवा संगठन वाईसीएलका पूर्वअध्यक्ष हुन् । रुकुमबाट प्रत्यक्ष निर्वाचित पुन एमाओवादीका पोलिटब्युरो सदस्य छन् । मोहन वैद्य नेतृत्वको नेकपा—माओवादी परित्याग गरी एमाओवादीमा प्रवेश गरेकी रेखा शर्मा छोटो समयमा धेरै अवसर पाउने भाग्यमानी महिला नेत्री भएकी छिन् । दोस्रो संविधानसभा निर्वाचनपछि समानुपातिक तर्फबाट सभासद् बनेकी शर्मा एमाओवादीको सचेतक थिइन् । 
 
अहिले उनले सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पाएकी छिन् । दाङमा जन्मिएकी शर्मा सशस्त्र द्वन्द्वका बेला पति कृष्णध्वज खड्कासँगै लामो समय सैनिक हिरासतमा बसेकी थिइन् । सप्तरी—३ बाट प्रत्यक्ष निर्वाचित उमेश यादव मधेसको प्रतिनिधित्व गर्दै सिँचाइमन्त्री भएका छन् । बहुमतीय प्रक्रियाबाट संविधान जारी गर्ने 
 
कांग्रेस–एमालेको प्रयासविरुद्ध एमाओवादी सभासद्हरू आन्दोलनमा रहेका बेला यादवले फालेको कुर्सी सर्वत्र चर्चा हुने विषय हो । एमाओवादीका तर्फबाट मन्त्री भएका पुन, शर्मा र यादव सरकारमा नयाँ अनुहार हुन् । बहुजन शक्ति पार्टीका नेता विश्वेन्द्र पासवान पहिलोपटक मन्त्री भएका हुन् भने मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका तर्फबाट सिफारिस भएर मन्त्री भएका रामजनम चौधरी यसअघि पनि पटकपटक मन्त्री भइसकेका थिए । 
 
पासवान र चौधरीले राष्ट्रपतिसमक्ष शपथ लिए पनि उनीहरू दुवैलाई मन्त्रालयको जिम्मेवारी दिइएको छैन ।