Taja Samachar Nepal

Taja Samachar Nepal
News

Sunday, October 18, 2015

भारतीय नाकाबाट न्यूनमात्रामा इन्धन आपूर्ति

काठमाडौं, कार्तिक २ । भारतीय आयल कर्पोरेशनले मागे जति इन्धन नपठाउँदा नेपालमा पर्याप्त पेट्रोलियम पदार्थ भित्रन सकेको छैन । अघोषित नाकाबन्दीले देशका प्रमुख नाकाहरुबाट आइतबार पनि सहज रुपमा आपूर्ति हुन सकेन ।
झापाको कांकडभिट्टा–पानीट्याङ्की नाकाबाट हिजो ७१ वटा मालवाहक सवारी नेपाल भित्रिए पनि इन्धन बोकेका कुनैट्याङ्कर आएनन् ।
नेपालगञ्ज–रुपैडिहा नाकाबाट १२ वटा मात्रै पेट्रोलियम पदार्थको ट्याङ्कर नेपाल प्रवेश गरेकोमा सातवटा पेट्रोल र पाँचवटा डिजलका ट्याङ्कर छन् । त्यस्तै एउटा ग्यास बुलेट र ८० वटा मालवाहक ट्रक भित्रिएको छ ।
बिराटनगरको रानी–जोगबनी नाकाबाट चार बुलेट ग्यास र ५८ वटा मालवाहक ट्रकमात्र भित्रियो । भैरहवा–सुनौली नाकाबाट २०८ वटा गाडी नेपाल आएकामा १३८ वटा मालवाहक ट्रक र अरु पीकअप भ्यान छन् ।
यस नाकाबाट १९ वटा पेट्रोलियम पदार्थका गाडी आएकामा ११ ट्याङ्कर डिजल, ६ ट्याङ्कर पेट्रोल र २ बुलेट ग्यास छन् ।
सुनौली नाकामा भारतीय सुरक्षा बलले चेकजाँचमा निकै कडाई गरेको छ ।
उता, कैलालीको धनगढी–गौरीफन्टा नाकाबाट थोरै मात्रामा मालवाहक ट्रक र पेट्रोलियम पदार्थ बोकेको गाडी नेपाल भित्रिएको छ ।
मुलुकको प्रमुख भन्सार बीरगञ्ज–रक्सौल नाका भने लामो समयदेखि ठप्प छ । नेपालका लागि लाइफ लाइन मानिने यो नाका बन्द भएको २५ दिन भइसक्यो । नाका क्षेत्रमा रहेको मितेरी पुलमा मधेशी मोर्चाले धर्ना दिने र त्यही धर्नालाई देखाएर नेपालतर्फ इन्धनलगायतका कुनै सामग्री पनि प्रवेश नदिने भारतीय खेल जारी छ । जसका कारण देशैभर पेट्रोल, डिजल र ग्यासमा चरम अभाव देखिएको छ ।