Taja Samachar Nepal

Taja Samachar Nepal
News

Tuesday, October 13, 2015

प्रधानमन्त्री ओलीसँग विकास माग्दै तेह्रथुमबासी

धरान: २०७२ आस्विन २६ मंगलवार, प्रधानमन्त्रीमा एमाले अध्यक्ष केपी ओली निर्वाचित भएपछि उनको जन्मस्थान तेह्रथुम जिल्लाका बासिन्दाले खुसी व्यक्त गर्दै जिल्लाको दिगो विकास हुने अपेक्षा गरेका छन्।
 
तेह्रथुमबासीले नवनिर्वाचित प्रधानमन्त्रीसमक्ष देशको वर्तमान अवस्थाको समाधानसँगै जिल्लाको दिगो विकास गर्न माग गरेका छन्। ओली २००८ सालमा तेह्रथुमको इवा गाविसमा जन्मिएका थिए। 
 
प्रधानमन्त्रीमा निर्वाचित भएपछि जिल्लाबासीले ओलीलाई बधाई दिँदै सफल कार्यकालको शुभकामनासमेत दिएका छन्।पूर्वाञ्चलका १६ जिल्लामध्ये सानो जिल्ला तेह्रथुम विकासका हिसाबले पनि पछाडि छ। 
 
दुई नगरपालिका, २१ गाविस र एउटामात्र निर्वाचन क्षेत्र रहेको तेह्रथुम विकासमा पछाडि परेको जिल्लाबासीको गुनासो छ। केपी ओली प्रधानमन्त्री भएसँगै अब तेह्रथुमको विकासले गति लिने अपेक्षासहित जिल्लाबासी अत्यन्तै हर्षित छन्।
 
ओली साथ तत्कालीन समयमा झापामा बसाइँ सरी नेपाली राजनीतिमा होमिएका प्रधानमन्त्री ओलीलाई आफ्नो कार्यकालमा आफू जन्मिएको जिल्लाको समग्र विकासमा जोड दिन जिल्लाबासीले सचेत गराएका छन्। 
 
गुराँसको राजधानीका रूपमा चिनिने तेह्रथुमको पर्यटन प्रवद्र्धन, मोटरबाटो कालोपत्र र विमानस्थल निर्माण गरी जिल्लालाई सुविधा सम्पन्न बनाउन प्रधानमन्त्रीसमक्ष जिल्लाबासीले माग गरेका छन्।
 
'ओली प्रधानमन्त्रीमा निर्वाचित भएपछि जिल्लाबासीमा खुसीको सीमा छैन’, नागरिक समाज तेह्रथुमका अध्यक्ष तुलसी संग्रौलाले भने, ‘अब विकासले पछाडि परेको तेह्रथुमले मुहार फेर्नेछ।'
 
उनले प्रधानमन्त्री ओलीलाई मुलुकको तत्कालीन समस्या समाधान गर्न सतिसालझैं खडा भएर काम गर्न पनि सुझाव दिएका छन्।कांग्रेस तेह्रथुमका सचिव अर्जुन तुम्बाहाम्फेले पनि तेह्रथुममा जन्मिएका केपी ओली प्रधानमन्त्रीमा निर्वाचित भएकोमा बधाई दिएका छन्। 
 
उनले तेह्रथुमका कच्ची सडक पिच गरी सुविधा सम्पन्न बनाउन ओलीसमक्ष आग्रह पनि गरे।एमाले तेह्रथुमका अध्यक्ष तेजमान कन्दङ्वाले पनि पार्टीका अध्यक्ष ओली प्रधानमन्त्रीमा निर्वाचित भएपछि तेह्रथुम जिल्लाको विकासले गति लिने विश्वास व्यक्त गरेका छन्। 
 
उनले विद्यमान चुनौती तथा जातीय र क्षेत्रीयताको विवादमा सहमतिका नाममा गलत सम्झौता नगर्न पनि सुझाव दिएका छन्।कन्द्ङ्वाले आफ्नो पार्टीको प्रधानमन्त्रीको कार्यकालमा तेह्रथुममा विमानस्थल र मोटरबाटो कालोपत्र गर्न माग गरेका छन्। 
 
एमाओवादी तेह्रथुमका अध्यक्ष दुर्गा चापागाईंले पनि ओली प्रधानमन्त्रीमा निर्वाचित भएपछि तेह्रथुमबासी अत्यन्तै खुसी भएको प्रतिक्रिया दिए। उनले तेह्रथुममा जन्मिएका ओलीको कार्यकालमा पूर्वी पहाडी जिल्लाहरूको विकासमा जोड दिन आग्रह गर्दै देशको जटिल अवस्थालाई सहमतिका साथ समाधान गर्न सुझाव दिएका छन्।

संविधान स्वीकारेको भन्दै मधेसी मोर्चाको विरोध

जनकपुरधाम: विगत दुई महिनादेखि आन्दोलन गर्दै आएको मधेसवादी दलहरुले प्रधानमन्त्रीको निर्वाचनमा सहभागी भएपछि मधेसमा विरोध सुरु भएको छ । 
 
प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र एमाओवादीको विरुद्ध जनतालाई उक्साएर आन्दोलन गरिराखेका मधेसवादी दलहरुले तीनै नेताहरुलाई प्रधानमन्त्री बनाउन आफैंले वहिस्कार गरेको संसदमा सहभागी हुनु दुर्भाग्यपूर्ण रहेको टिप्पणी मधेसमा व्यापक रुपमा हुन थालेको छ । 
 
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सहित विभिन्न मधेसवादी दलहरुद्धारा छुट्टा छुट्टै आह्वान गरिने गरिएको आन्दोलनको प्रत्येक कार्यक्रमलाई सर्वसाधारणले सक्रिय रुपमा सहभागी भई सफल बनाउंदै आएपनि मधेसवादी दलहरु सत्ताको खेलमा लागेको भन्दै जनकपुरमा मधेसी मोर्चाका नेताहरुको विरोध गरिएको छ भने पुत्ला समेत दहन गरिएको छ । 
 
मधेसको अधिकार सुनिश्चित गर्न सकियोस् र त्यसका लागि धेरै दुःख सहेर पनि जनताले आन्दोलनलाई समर्थन दिईरहेको अवस्थामा मधेसी मोर्चाले प्रधानमन्त्री चुनावको प्रक्रियामा जानु गलत निर्णय रहेको मोर्चाका घटक दल सद्भावना पार्टीका जिल्ला अध्यक्ष संजय सिंहले बताए । अहिले जनताले आफुहरुलाई यस विषयमा विभिन्न खाले प्रश्नहरु गर्दैगर्दा  उत्तर दिन गाह्रो भएको सिंहको भनाई रहेको छ । 
 
संविधानको मस्यौदा जारी भएदेखि नै त्यसको विरोधमा आन्दोलित भएको मधेस अधिकार संघर्ष समितिले हालसम्म मधेसी दलहरुको सबै कार्यक्रममा समर्थन जनाउंदै कार्यक्रमलाई सफल पार्न सक्दो प्रयास गरेपनि अहिले आएर मोर्चाले संसद मागएर आन्दोलनको अपहेलना गरेको समितिका संयोजक सरोज मिश्रले बताए । आफुहरु मोर्चाको यस कदमको विरोध गर्ने मिश्रले जानकारी गराए ।  
 
जनतालाई आन्दोलनमा होमेर आफु सत्ताको खेलमा लागेको मधेसी मोर्चाले मधेससंग गद्दारी गरेको तराई मधेस राष्ट्रिय अभियानका केन्द्रिय सदस्य इन्द्रकुमार मधेसानन्दले बताए । 
 
मोर्चाको यो गल्तीबाट सजग भई आगामी दिनमा आन्दोलनमा समर्थन जनाएका विभिन्न पेशाकर्मी संघसंस्थाहरु, सामाजिक कार्यकर्ताहरुले नयाँ प्रकारका कार्यक्रमहरु ल्याएर आन्दोलन अघि बढाउनु पर्ने मधेसानन्दको भनाई रहेको छ । 

सुशील कोइरालाको पराजय र ओलीको विजयले स्वाधीनता बाँचेको अनुभव सर्वत्र

निःसन्देह राजनीति सत्ता प्राप्तिको खेल हो । सत्ता कसरी प्राप्त गर्ने ? यहाँनिर आएपछि राजनीति दुर्बुद्धि र सद्बुद्धिको खेल बन्न पुग्छ। यस खेलमा मुलुकलाई माया गर्नेहरूले राष्ट्रलाई सुरक्षित राखेर जनतालाई जिउन सजिलो पारेका छन्। 
 
त्यस्तै, सत्ताप्राप्तिको कामान्धो बनेकाहरू या पराइको आशीर्वादको जोहो गरेर सत्तामा पुगेका या पुग्ने प्रतिस्पर्धामा लागेकाहरूले सिंगो राष्ट्रको हकहित, स्वाभिमान र पहिचानलाई बन्धक राखेर मुलुकको अस्मितासँग नै खेलबाड गरेका छन्। यसरी मुलुकलाई कमजोर, जनतालाई तेजोहीन र गरिब पारेका छन्।
 
यहाँनिर मैले पञ्चतन्त्र सम्झन पुगेको छु। पञचतन्त्र त्यस्तो 'एलिगोरिकल फेबल' अर्थात् मुसा, भ्यागुतो, सर्प, माछा र यस्तै जनावरहरूलाई पात्र बनाइएको कथाहरूको संग्रह हो, जसले राजनीति मर्म र मान्यतालाई एकदम सजिलोसँग बुझाउँछ। हाम्रो मुलुकको दुरन्त राजनीतिक रस्साकस्सी देख्दा यस ग्रन्थको यो 
श्लोक सम्झन पुगेको छु अहिले।
शतबुद्धिः शिरस्थोकयं लम्बते च सहस्रधीः।
एकबुद्धिरहं भद्रे ! क्रीणामी विमले जले।।
 
माछाहरूलाई पात्र बनाइएको यस कथामा छरछिमेक तलाउहरूमा माछा मार्न खप्पिस एउटा मछुवा नाइकेले एउटा सानो तलाउमा माछा मार्ने निधो गर्‍यो। त्यस तलाउमा सय बुद्धि र हजार बुद्धि भएका माछाहरू पनि रहन्थे। सँगै एक बुद्धि भएको माछा पनि। 
 
कथाको अन्त्यमा एक बुद्धि भएको माछा अन्ततः परिवारसहित सुखी भएर त्यहा बाँच्न सफल हुन्छ भने सय बुद्धि र हजार बुद्धि भएका माछाहरूलाई मछुवाले मारेर टाउको राखेर र झुन्ड्याएर लैजान्छ। यसको निष्कर्ष हो, सय र हजार बुद्धिले हुँदैन एक बुद्धि मात्र भए बाँच्न सकिन्छ।
 
राजनीतिसँग आबद्ध यस कथाले दिएको सन्देश हो-मुलुक बचाउन चाहिने बुद्धि भनेको एउटा मात्र हुन्छ, सय र हजार होइन। त्यो एउटै बुुद्धि भनेको के हो ? त्यो हो, मनले, वचनले अनि कर्मले नेपाली हुनुको पहिलो दायित्व नेपालको हित मात्र सोच्न सक्नु र गर्न सक्नु हो। अर्थात्, नेपालको हितपछि मात्र अरू थोक सोच्ने र गर्ने हो। 
 
हाम्रो यस सुन्दर मुलुक, हामीलाई पुग्नेछ यहाँ र हामी नेपालीले सजिलै व्यवस्थापन गर्न सक्न सक्छौँ-नेपालीको हकहित, स्वाभिमान, पहिचान र जनजीविका जगेर्ना गर्न। गरिखान सक्छौँ हामी आफैँ।पुर्खाको यस धरोहर, हाम्रो सामूहिक अभिव्यक्तिको थलो, जहाँ हामी बाँचेर आएका छौँ-कहिले नझुकेर, सधैँ आपसमा मिलेर।
 
तर त्यो मुलुकलाई नै अहिले विखण्डित हुने अवस्थामा पुर्‍याइएको छ। जनता एकपछि अर्को मारमा छन्-कहिले भूकम्पको त कहिले नाकाबन्दीको। त्यतिले नपुगेर यो मारबाट निस्केको दुःख झन् बल्झिँदै गएको छ-लुटपाटको राजनीति र पराइ-आशीर्वाद प्रत्याशी राजनीतिबाट।
 
साम, दाम दण्ड, भेद नीतिको सफल प्रयोगशाला तुल्याउन सफल भएका छन् हाम्रो यो मुलुकलाई मछुवारूपी पराइहरूले। सुशील कोइरालाको नयाँ रूपको यो आगमन यसैको परिणति हो। यस्तो रूप हेर्नुपर्दा दुखेको नेपालीलाई। 
 
नेपाली कांग्रेसलाई आफ्नो सम्पूर्ण जिन्दगी दिएकाहरूमध्ये कति रोएका छन् त कति लाजले शिर निहुराएका छन्-विचरा कांग्रेसजनहरू। नपत्याए पूर्णबहादुर खड्काहरूलाई सोधे हुन्छ। अझै नपत्याए शाहहरूलाई भेटे हुन्छ। यो कुरा बुझ्न गाउँगाउँमा गएर सोधे हुन्छ।
 
सुशीलजीले गर्ने गरेको प्रजातन्त्रको कुरा आजभोलि पट्यारलाग्दो हुँदै गएको थियो। अब त्यो पनि हुन छोड्यो। मुलुकको रक्षाका लागि वीर बलभद्रले उठाएको ढालसरह आफ्नो बदलिएको स्वरूप छेक्न प्रजातन्त्र प्रयोग गरेको देख्दा आक्रोशित भएका छन् नेपाली। मजाक बनाए उनले प्रजातन्त्रलाई। 
 
अन्ततः प्रजातन्त्रलाई ‘आवरण प्रजातन्त्र’ मा रूपान्तरण भए बने आफूलाई त्यसको बुख्याचा बनाएर प्रतिष्ठापित हुने श्रेय पनि प्राप्त गरेका छन्। धन्य हो सुशील कोइराला ! धन्य हो !! जसले बीपी कोइरालाको नजिक हुन पाएको थियो।
 
याद हुनुपर्ने हो, सुशीलजीलाई बीपीले कहिल्यै पनि पण्डित नेहरूभन्दा कम ठानेनन् आफूलाई सार्वभौम सम्पन्न मुलुकको प्रधानमन्त्रीको हैसियतमा। त्यस्तै कहिल्यै सम्झौता गरेनन् मुलुकको हितसँग। 
 
टक्कर लिए नेहरूसँग पनि जब खम्पा काण्डमा जब नेपालको आन्तरिक मामलामा नेहरूले दखल गर्न खोजे। यस क्रममा राजा महेन्द्रको भन्दा धेरै ज्यादा नेहरूको टाउको दुखाइ बनेका थिए बीपी। बीपीलाई कू गरेर हटाइँदा उनी ४६ वर्षका थिए। 
 
सुशीलले अन्यत्रको सन्देशमा पुनः प्रधानमन्त्री बन्न उम्मेदवारी दिँदा ७६ वर्षका छन्। त्यो नेपाली कांग्रेस बनाए बीपीले। त्यसलाई विसर्जन गराउँदै छन् सुशीलले। ज्यान हराएको पार्टीले प्रजातन्त्रको कुरा गर्दा पार्टी जिउँदो लाससरह हुँदै जान्छ भने प्रजातन्त्र एउटा बकबास।
 
पार्टीमा ज्यान कसरी आउँछ र कसरी हराउँछ? एक वाक्यमा भन्ने हो भने विचार र नेतृत्वको कारणले। विचारले जनतालाई गाँस्ने या समेट्ने काम गर्दछ र त्यो विचारमा समेटिएको जनतामा जुन विश्वास र आस्था जाग्छ त्यसलाई बचाउने काम नेतृत्वले गर्दछ। 
 
यसरी बाँचेको विश्वासको आधारमा नै त्यो पार्टीको संगठन मजबुत हुँदै जाने हो। यो अन्योन्याश्रित हुन्छ अर्थात् परस्परमा निर्भर गर्दछ। अनि पार्टीमा ज्यान आउँछ। कांग्रेसको विचारक र नेतृत्वकर्ता बीपी कोइराला थिए, जसले गर्दा पार्टीमा प्रशस्त ज्यान भरिँदै गएको थियो। 
 
अनि त उनको पनि ऊर्जा र कद दुवै बढ्न पुग्यो। त्यो बेला थियो जब उनीमाथि राज्यले सातोटा मुद्दा लगाएको थियो अनि उनलाई फाँसीसम्म हुन सक्थ्यो र पार्टी संगठन क्षत्विक्षत् थियो। त्यतिबेला पनि कांग्रेसमा ज्यान थियो र दुब्ला-पातला बीपीमा प्रशस्त ऊर्जा। 
 
उनले जेलबाट छुटेर विराटनगरमा पुगेपछि गरेको भाषणमा पनि यसै भने-हेर्दा म कमजोर देखिएको हुँला तर मरो ऊर्जा बढेको छ, घटेको छैन । त्यसैले प्रजातन्त्र दुबोजस्तै कहिल्यै मरेन र बीपी कहिल्यै हारेनन्।
 
तर अहिले कांग्रेस हारेको छ। कारण, पार्टीको ज्यान हराएको छ। यसको पनि कारण हो, कांग्रेसको विचार दूधमा पानी मिसाएको जस्तो मात्र नभई पानीमा दूध मिसाएको जस्तो हुन पुगेको छ। अनि नेतृत्व हुन पुग्यो, हिलोमा गाडिएको किलो जस्तो। 
यो सब बल्झिँदै आएर अहिलेको अवस्थामा आइपुगेको छ। त्यही प्रधानमन्त्रीको पद हो-बीपीको र सुशीलको। बीपीले मुलुकको स्वाभिमानको लागि नेहरूसँग टक्कर लिए भने सुशीलले अघोषित भारतीय नाकाबन्दीको कारण मुलुकमा यत्रो संकट पर्दा पनि मोदीसँग फोनमा कुरासमेत गर्न सकेनन्।
सुशील कोइरालाको पराजय र ओलीको विजयले स्वाधीनता बाँचेको अनुभव सर्वत्र गरिएको छ। नयाँ संघर्षको र नयाँ मेलमिलापको सुरुआत हो यो।
उनका मन्त्रीहरू भारतले नाकाबन्दी गरेकै छैन भन्न हिच्किचाएनन्। सञ्चारमन्त्रीले कारबाहीको चेतावनी दिए आफ्ना मातहतका सम्पादकहरूलाई कारबाहीको नाकाबन्दी र मोदीको विरोधमा नाम मात्र लेखेमा। 
 
मुलुकको ऐन, कानुन र आर्थिक नियमको ठाडै उल्लंघन गरेर तराई जोड्ने फास्ट ट्र्याक मुलुकलाई अर्बौं होइन खर्बौ को नोक्सान पारेर हात धोएर लागिपरेका दुई मन्त्रीमध्ये एक मन्त्रीले गर्वसाथ भने, 'हो, म भारत परस्त हुँ। कसले के गर्न सक्छ?'
 
निरीह पारिएको हामीले के गर्न सक्छौँ र सिवाय आँसु पिएर आवाजविहीन रोदनबाहेक। पहाड र तराई जोड्ने बाटो भारत सकेसम्म बनाउनै दिँदैन र बन्ने नै भयो भने पनि अपांग पार्ने वा आफ्नै मातहतमा राख्ने चाहन्छ। यो जगजाहेर कुरा भएको छ अहिले। 
 
बीपी राजमार्गबारे त्यतिबेलाको सचिवले पछि भने, जापानले दुई लेन बनाइदिन्छु भन्दा पनि भारतले एक लेनभन्दा ठूलो बनाउन दिएन। यो तराई जोड्ने फास्ट ट्र्याक आफ्नै मातहतमा राख्न चाहन्छ, हाम्रै पैसाले बनाउन लगाएर।
 
यसरी सर्वत्र हस्तक्षेपकारी भूमिकाबीच प्रधानमन्त्रीले चाहनेबित्तिकै सुत्‍न पनि पाएनन्। सुत्‍ने चाहनालाई जित्यो अर्कैले। प्रधानमन्त्री हुन्न म भनेर सुत्‍न गएका कोइरालाले बिहान उठ्दा ‘हारे पनि जिते पनि प्रधानमन्त्री म' भन्ने पो सपना देखे। 
 
सपना देखाउने काम भारतीय खुफिया एजेन्सीका मठाधीसहरूले गरे। यहाँनिर म अझ बीपीलाई धेरै सम्झन्छु। बीपी सधैँ भन्ने गर्थे, 'मेरो राजनीति आम नेपालीको स्वाभिमानको लागि हो।' यो स्वाभिमानलाई सुशीलले परास्त गरेका छन्।
 
सुशीलजीले जस्तो प्रजातन्त्र रटेर हुँदैन त्यो आत्मसात गर्ने कुरो हो। उहाँले आत्मसात गर्न सक्नुभएको रहेनछ। हामीलाई प्रजातन्त्र चाहिने कारण के हो? यसमा अन्तरनिहित मान्यता जसले राष्ट्रिय स्वार्थको जहिले पनि हिफाजत गर्दछ भन्ने हो।
 
बेलायतका पूर्वप्रधानमन्त्री चर्चिलले एकपटक भनेका थिए-प्रजातन्त्र सबभन्दा नराम्रो व्यवस्था हो, तर योभन्दा राम्रो व्यवस्था नपाउञ्जेल यो नै उत्तम हो । यसमा भएको राम्रोपना हराउँछ जब मान्यतालाई दूषित पारिँदै लगिन्छ। त्यस्तो अवस्थामा प्रजातन्त्र जाँदै खतरनाक साबित हुन पुग्छ। 
 
राष्ट्रिय अस्मिता जल्न सक्छ, मुलुक विखण्डित हुन सक्छ, अझ नरहनै पनि सक्छ। यो मान्यता दूषित पार्ने काममा समयको यो क्षणको यो बिन्दुमा उनको अग्रता देखिएको छ-चाहेर या नचाहेर।
 
यसरी उनी लाचार छाया बनेका छन्। उनको पनि दोष छैन एक अर्थमा। आखिर उनी जीवनभर ‘आज्ञाकारी राजनीति’ गर्दै आएका व्यक्ति न हुन्। यहाँनिर अब प्रश्न गरौँ, राजनीति केको लागि? 
 
हो, राजनीति मुलुकको बृहत्तर स्वार्थलाई हिफाजत गर्दै आम नागरिकको जीवनस्तर उकास्नको लागि हो। तर यो काम सक्षम नेतृत्वबाट मात्र सम्भव हुन सक्छ। दुर्बल चरित्रका धनी व्यक्तिहरूबाट होइन। राजनीतिमा एउटा गजबको कुरो देखिएको छ। 
 
सबै मुलुकमा देखिएको त्यो चाखलाग्दो कुरो हो सरकार चलाउने ठाउँमा अधिकांश मिडिओकर अर्थात् मध्यम खालका व्यक्तिहरू पुगेका हुन्छन्। त्यसैले तिनीहरूको सय र हजार बुद्धिका हुन पुग्ने सम्भावना बलियो हुन्छ। 
 
एक बुद्धिका कहिलेकाहीं मात्र पाइन्छ। नेपालमा पंक्तिकारले यस्ता व्यक्ति चारजना मात्र देखेको ३५ वर्षअगाडि लेखेको थियो, ती थिए-पृथ्वीनारायण शाह, जंगबहादुर, राजा महेन्द्र र बीपी कोइराला।
 
हिलोको किलो जस्तो सुशीलबाट आशा गर्ने ठाउँ सुरुबाटै थिएन । निष्ठाको राजनीति गर्ने भनेर चित्रण गरिएका उनले राम्रो गर्न नसके पनि मुलुकलाई हानि पुर्‍याउँदैनन् होला बन्ने धेरैले सोचेका थिए। आखिरी समयमा आएर खराब सपना किन्दा आर्जित राजनीतिक पनि गुमाए। 
 
उनको निष्ठाको राजनीति भनेको ‘आज्ञाकारी राजनीति' मै सीमित रहेछ। एरिस्टोटलले एकपटक भनेथे, कुनै पनि चिजको सुरुआत हुन्छ भने त्यसको अन्त्य पनि अवश्य हुन्छ। सुशीलको राजनीतिक अन्त्य महत्वपूर्ण छैन। धेरै महत्वपूर्ण 'आज्ञाकारी राजनीति' को कारण उनी जसरी अहिले दलिन बालेर आगो ताप्न खोज्दै छन्, त्यसबाट हाम्रो सामूहिक घर भत्किँदै जाने हुँदा सामूहिक पीडा झन बढ्दै जाने स्थिति छ।
 
उनको पराजय र ओलीको विजयले स्वाधीनता बाँचेको अनुभव सर्वत्र गरिएको छ। नयाँ संघर्षको र नयाँ मेलमिलापको सुरुआत हो यो। सय र हजार बुद्धि भएकाहरूले मुलुकको स्वाधीनतासँग सत्ता प्राप्तिको व्यापार गर्न नपाऊन्। एक बुद्ध भएकाहरू सदा विजयी रहून्। विजयादशमीको शुभकामना भन्न चाहन्छु, हामो दलिन बालेर आगो ताप्ने धृष्टता कहिल्यै कसैले गर्न नपाऊन्।

विराटनगरको रानी भन्सार नाका खुल्यो

विराटनगर, असोज २६ । विराटनगरको रानी भन्सार नाका मंगलबार दिउँसोदेखि खुलेको छ ।

नाका खुलेसँगै अहिलेसम्म ११ ओटा ग्यास बुलेट र १७ ओटा डिजल बोकेका ट्रयांकर नेपाल भित्रिएका छन् ।

नाका खुलेसँगै निर्वाधरुपमा यो नाकाबाट मालबाहक समान भित्रिएका छन्  ।

विहार विधान चुनावका कारण सोमबारदेखि रानी भन्सार भएर मालबाहक गाडीहरु नेपालप्रवेशमा भारतीय पक्षले रोक लगाएकोथियो |
प्रवेशमा भारतीय पक्षले रोक लगाएको 

बारीको कान्लामा तेल उत्पादन ,सरकार चासो दिँदैनन् |

काठमाडौँ, २६ असोज – बारीको कान्ला, कान्लामा तेल उत्पादन हुनसक्छ र मुलुकमा जारी ऊर्जा संकटलाई समाधान गर्न सकिन्छ भन्ने कुरा थोरै मान्छेलाई मात्र थाहा छ । तर सरकारले प्रभावकारीरुपमा सहयोग गर्न नसक्दा बारीको कान्लामा उत्पादन हुने तेललाई न त मुलुकले सदुपयोग गर्न सकेको छ, न त त्यसको व्यावसायिक उत्पादन नै हुन सकेको छ । केही प्रयास गरिएको भएपनि त्यसले साकार रुप पाउन सकेको छैन ।
यो सजिवनको कुरा हो । यसको चर्चा त्यतिबेला हुन थाल्छ, जब मुलुकमा इन्धनको चरम सङ्कट हुन पुग्छ । नेपालको जुनसुकै स्थानमा पनि सजिवनको सहजरुपमा खेती गर्न सकिन्छ । तर त्यसतर्फ हालसम्म कुनै पनि औपचारिक प्रयास हुन सकेको छैन । जब जब मुलुकमा इन्धनको चरम अभाव हुन थाल्छ तब मात्रै सजिवन खेतीको चर्चा परिचर्चा हुने गरेको छ । तर सजिवन खेतीमा संलग्न भएका किसान भने क्रमशःसजिवन खेती छाड्दै अन्य खेतीमा लाग्न थालेका छन् ।
वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले मुलुकमा सजिवन खेतीलाई प्रभावकारीरुपमा अगाडि बढाउने उद्देश्यका साथ कार्यक्रम पनि सुरु ग¥यो, तर हाल सो कार्यक्रम कुन रुपमा अगाडि बढिरहेको छ भन्नेमा न त केन्द्रलाई जानकारी छ न त किसानलाई नै त्यस बारेमा जानकारी छ ।
मुलुकमा वार्षिक करिब रु दुई खर्बभन्दा बढीको पेट्रोलियम पदार्थ आयात हुने गरेको छ । तर बारीको कान्लामा फल्ने सजिवनलाई व्यावसायिकरुपमा अगाडि बढाउन नसक्दा मुलुकले ठूलो परिणामको रकम बाहिरिने गरेको छ । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) ले ठूलो परिमाणमा बायोडिजेल निर्यात गर्न सकिने प्रस्तावसहितको अनुसन्धान थालेको थियो । तर त्यो अनुसन्धानले पनि कुनै पनि काम गर्न सकेको छैन ।
ठूलो चर्चा र परिचर्चाका साथ मुलुकमा सजिवनको खेती गर्ने कुरा आएपनि सोचेजति सहयोग नपाउँदा दुःख लागेको बताउनुहुन्छ रुपन्देही मणिग्रामका ध्रुव तुलाचन । तुलाचनले मणिग्राम एग्रो फरेष्टी एण्ड रिसर्च सेन्टर नै स्थापना गरेर सजिवन खेती सुरु गर्नुभएको थियो । तर चर्चामा आएजस्तो गरेर न त बिक्री वितरण भयो न त सजिवन किन्छु भन्नेहरुले नै सम्पर्क गरे, उहाँले रासससँग गुनासो गर्नुभयो ।
आपूmले सजिवनको नर्सरीसमेत राखेको र धेरै किसान उत्साहित भएपनि सरकारले कुनै पनि सहयोग नगर्दा निराश भएको तुलाचनको अनुभव छ ।पेट्रोलियम पदार्थको अभाव हुन थालेपछि मात्रै चर्चामा आउने सजिवनको चर्चा अरु बेलामा भइदिए राम्रो हुने उहाँको अनुभव छ । सरकारले सहयोग गरे र सजिवन किन्न चाहनेहरु देखिए आपूmहरु अझै पनि त्यसको खेती गर्न तयार रहेको तुलाचनको भनाइ छ ।
‘‘हामीले २०६० सालदेखि नै खेती गरेका थियाँै, लगाइएको बोटसमेत स्याहार नहुँदा मर्न थालेका छन्, नीति र कार्यक्रम आयो भने पुनः खेती गर्छौँ,’’ तुलाचनले भन्न्ुभयो । भौगोलिक सूचना प्रणालीको आधारमा नेपालमा हाल करिब १९ लाख हेक्टर जमिन खेर गइरहेको छ । अर्थात त्यस क्षेत्रमा खेती, वन, सिमसार, हिमाल जताततै जमिन खाली छ । त्यसमा प्रतिहेक्टर औसत एक हजार ५०० किलोग्राम कच्चा तेल सजिवनबाट उत्पादन गर्न सकिन्छ ।
गोरखाको आँपपिपल गाविसमा सजिवन खेती गर्ने मनसायका साथ काम सुरु गर्नुभएका काशीराज मरहट्ठाको अनुभव पनि नकारात्मक नै छ । बाँझो जग्गालाई सदुपयोग गर्ने उद्देश्यका साथ सजिवन खेती सुरु गर्नुभएका उहाँले जुन लक्ष्यका साथ खेती सुरु गर्नुभयो, तर सोचेजति परिणाम आएन । ‘‘आपूmले रोपेको बिउबिजन पनि खेर गयो, बिलायो, सरकारी निकायबाटै सोचेजति सहयोग प्राप्त भएन, हामी निरास छाँै,’’ मरहट्ठाले भन्नुभयो ।
गोरखाको आँपपिपलमा एक हजारभन्दा बढी सजिवनको बिरुवा लगाएको बताउनुहुने मरहट्ठाले आपूmले रोपेको बिरुवा अहिले बारीमा त्यतिकै खेर गएको दुखेको पोख्नुभयो । विसं २०६६ मा सजिवन खेती सुरु गरेको, राम्रो गोडमेल गरेको र सबैलाई खेती गर्न अभिपे्ररित गरेको भएपनि सरकारले कुनै सहयोग नगर्दा सोचेजति परिणाम नआएको उहाँको भनाइ छ ।
प्रतिकिलो रु १२ सम्ममा बेच्न सकिने भनिएपनि फलेको फल खोज्न कोही पनि नआएको र उत्पादन भएपनि राम्रो मूल्य नआएको भन्दै धेरै जसो किसान सजिवन खेतीबाट पलायन भएका मरहट्ठा बताउनुहुन्छ । पेट्रोलको संकट भएको बेलामा मात्रै विषय उठ्ने र अरु बेला कुरै नसुनिने प्रवृत्ति गलत भएको भन्दै उहाँले सरकारले सहयोग गरे नेपालमा नै उल्लेख्य मात्रामा बायो इन्धन उत्पादन गर्न सकिनेमा जोड दिनुभयो ।
सङ्कट परेको बेलामा मात्र सम्झने र अरु बेला चटक्कै बिर्सने प्रवृत्तिका कारण सजिवनको चर्चा पनि त्यसैमा हराउने गरेको छ । नेपालमै भएको विभिन्न अनुसन्धानले पनि बायो डिजलको प्रयोगबाट ४० देखि ८५ प्रतिशतसम्म हरितगृह ग्यास उत्सर्जन घटाउन सकिने पाइएको छ । डिजलमा प्रयोग हुने इथानोललगायत अन्य पदार्थको आधारमा यसको उत्सर्जन निर्धारण हुन्छ । जैविक इन्धनको प्रयोगबाट ७० देखि ८० प्रतिशतसम्म हाइड्रो कार्बनको उत्सर्जन घटाउन सकिन्छ ।
सुदुरपश्चिम जैविक विविधता प्रवद्र्धन सहकारीले मुलुकका नौ जिल्लाको नौ हजार हेक्टर जमिनमा सजिवन खेती गरिएको छ । नास्टका अनुसन्धानकर्ता डा रवीन्द्र ढकालले सरकारले योजनावद्धरुपमा सजिवन खेती गर्ने हो भने आगामी २० वर्षभित्र नेपालले तेल निर्यात गर्न सक्ने बताउनुहन्छ । नास्टले सजिवन खेतीको विषयमा अध्ययन गरेको भएपनि प्रभावकारी योजनाको अभावमा व्यावसायिकरुपमा अगाडि बढ्न सकेको छैन ।
नेपालमा डडेल्धुरा, कञ्चनपुर, कैलाली, बर्दिया, सुर्खेत, जाजरकोट, गुल्मी, अर्घाखाँची, कपिलवस्तु, रुपन्देही, पाल्पा, नवलपरासी, तनहुँ, लम्जुङ, गोरखा, धादिङ, चितवन, मकवानपुर, पर्सा, बारा, रौतहट, महोत्तरी, सिराहा, उदयपुर, सुनसरी, मोरङ, धनकुटा, तेह्रथुम, पाँचथर, इलाम र झापामा सजिवनको खेती गर्न सकिने वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले जनाएको छ
बारीको कान्लामै प्रसस्त पाइन्छ तेल : सरकारले चासो दिदैन : दुख नेपाली जनतालाई

दाङमा दुईवटा मोटरसाइकल एक–आपसमा ठोकिँदा दुवै चालकको मृत्यु

दाङ:  दाङमा दुईवटा मोटरसाइकल एक–आपसमा ठोकिँदा दुवै चालकको मृत्युभएको छ । 
घोराही–तुलसीपुर सडक खण्डको सर्रा नजिकै हेमन्तपुरबाट घोराही आउँदै गरेको रा २ प ९९६१ नम्बरको मोटरसाइकल र घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको रा १ प ९६०८ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिँदा दुवै चालकको मृत्युभएको हो । 
घोराही आउँदै गरेका घोराही–११ भरतपुर निवासी ४३ वर्षीय पूर्णचन्द्र पौडेल र तुलसीपुरतर्फ जाँदै गरेका घोराही–५ का २५ वर्षीय भूपेन्द्र पुरीको मृत्युभएको दाङका ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक वीरबहादुर थापाले जानकारी दिए । 

रेस्टुरेन्टका ५० प्रतिशत मेनुमा कटौती

काठमाडौं: नयाँ संविधान जारी भएपछि असन्तुष्टि जनाउँदै भारतले गरेको अघोषित नाकाबन्दीका कारण नेपालीको जनजीवन निकै कष्टकर बनेको छ।
 
 कामकाजीहरूलाई घरबाट बाहिर गएर खाना तथा खाजा खान निकै समस्या पर्न थालेको छ। दुई सातादेखिको इन्धन अभावले राजधानीका ४० प्रतिशत समान्य खाजा घर बन्द भएका छन्।
 
राजधानीको ठमेल क्षेत्रमा केही नामै चलेका रेस्टुरेन्टसमेत बन्द हुन थालेका छन्। 
 
बल्लतल्ल सञ्चाल भैरहेका रेस्टुरेन्टले अवस्था सहज नभए हरेक दिन मेनुमा कटौती र यस्तै अवस्था केही दिन लम्बिए बन्द गर्नुको विकल्प नरहेको रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेवान)का अध्यक्ष प्रमोद जैसवालले बताए।
 
जैसवालका अनुसार दसैंको मुख भएकाले नियमित सेवामा खटिरहेका रेस्टुरेन्ट बन्द गर्नुभन्दा थोरै मात्र सेवा दिएर भए पनि सञ्चालन भइरहेका हुन्। 
 
दुई सातादेखि इन्धन अभावकै कारण पर्यटकीय सेवा दिइरहेका करिब २० प्रतिशत रेस्टुरेन्ट बन्द भइसकेको उनले बताए। बाँकी रेस्टुरेन्ट पनि दसैंको बिदापछि इन्धन आपूर्ति नभए खुल्न नसक्ने उनको भनाइ छ।
 
जैसवालको आफ्नै मेला रेस्टुरेन्ट इन्धन अभावले बन्द हुने चरणमा पुगेको छ। 'दसैंसम्म मेनु घटाएर, बिहानको ब्रेकफास्ट बन्द गरेर र रातमा छिट्टै बन्द गरेर भए पनि जेनतेन सञ्चालन हुन्छ। 
 
यस्तै हो भने दसैंपछि मेरो रेस्टुरेन्ट खुल्न सक्दैन', जैसवालले भने। धेरैजसो रेस्टुरेन्टले बिहानको ब्रेकफास्ट बन्द गरेका छन। 
 
पर्यटक तथा ग्राहलाई मनोरञ्जन दिने गरी राती अबेरसम्म सञ्चालन हुने रेस्टुरेन्टले आफ्नो संचालनको अवधि घटाएका छन्।
 
'रेस्टुरेन्टमा लामो समय बसेर चिया, कफि खाने ग्राहकलाई पनि यसको विकल्पमा कोल्ड ड्रिङ्ग लिन आग्रह गर्न थालिएको छ। 
 
धेरैजसो रेस्टुरेन्टले भने आफ्नो अनुकुल स्थान बनाएर दाउरा बालेर पनि अत्यावश्यक सेवालाई निरन्तरता दिइरहेको उनको भनाइ छ। 
 
चिया तथा खाजा होटलले चिया नमाग्नुस चिसो खानुस, मःमः छैन, कफी बन्दैन भन्न थालेका छन्। 
 
इन्धन आपूर्ति नभएकोले सबै होटल तथा रेस्टुरेन्ट अप्ठारो अवस्थामा पुगेको होटल संघ नेपाल (हान)का महासचिव विनायक शाहले बताए।

प्रधानमन्त्री ओली र अमेरिकी राजदूतबीच भेटवार्ता

      काठमाडौ: प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि अमेरिकी राजदूत अलाइना बी टेपलेट्जले आज प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा शिष्टाचार भेट गरेका छन्। भेटमा नेपाल-अमेरिका सम्बन्धका साथै नयाँ संविधान कार्यान्वयनबारे छलफल भएको छ। 
 राजदूत टेपलेट्जले अमेरिकी सरकारकातर्फबाट प्रधानमन्त्री ओलीलाई बधाई ज्ञापन गर्दै उनको कार्यकालको सफलताको कामना गरेा छन्।  गत साता मात्र आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेकी अमेरिकी राजदूतको प्रधानमन्त्री ओलीसँगको यो पहिलो भेटवार्ता हो।