Taja Samachar Nepal

Taja Samachar Nepal
News

Tuesday, October 13, 2015

सुशील कोइरालाको पराजय र ओलीको विजयले स्वाधीनता बाँचेको अनुभव सर्वत्र

निःसन्देह राजनीति सत्ता प्राप्तिको खेल हो । सत्ता कसरी प्राप्त गर्ने ? यहाँनिर आएपछि राजनीति दुर्बुद्धि र सद्बुद्धिको खेल बन्न पुग्छ। यस खेलमा मुलुकलाई माया गर्नेहरूले राष्ट्रलाई सुरक्षित राखेर जनतालाई जिउन सजिलो पारेका छन्। 
 
त्यस्तै, सत्ताप्राप्तिको कामान्धो बनेकाहरू या पराइको आशीर्वादको जोहो गरेर सत्तामा पुगेका या पुग्ने प्रतिस्पर्धामा लागेकाहरूले सिंगो राष्ट्रको हकहित, स्वाभिमान र पहिचानलाई बन्धक राखेर मुलुकको अस्मितासँग नै खेलबाड गरेका छन्। यसरी मुलुकलाई कमजोर, जनतालाई तेजोहीन र गरिब पारेका छन्।
 
यहाँनिर मैले पञ्चतन्त्र सम्झन पुगेको छु। पञचतन्त्र त्यस्तो 'एलिगोरिकल फेबल' अर्थात् मुसा, भ्यागुतो, सर्प, माछा र यस्तै जनावरहरूलाई पात्र बनाइएको कथाहरूको संग्रह हो, जसले राजनीति मर्म र मान्यतालाई एकदम सजिलोसँग बुझाउँछ। हाम्रो मुलुकको दुरन्त राजनीतिक रस्साकस्सी देख्दा यस ग्रन्थको यो 
श्लोक सम्झन पुगेको छु अहिले।
शतबुद्धिः शिरस्थोकयं लम्बते च सहस्रधीः।
एकबुद्धिरहं भद्रे ! क्रीणामी विमले जले।।
 
माछाहरूलाई पात्र बनाइएको यस कथामा छरछिमेक तलाउहरूमा माछा मार्न खप्पिस एउटा मछुवा नाइकेले एउटा सानो तलाउमा माछा मार्ने निधो गर्‍यो। त्यस तलाउमा सय बुद्धि र हजार बुद्धि भएका माछाहरू पनि रहन्थे। सँगै एक बुद्धि भएको माछा पनि। 
 
कथाको अन्त्यमा एक बुद्धि भएको माछा अन्ततः परिवारसहित सुखी भएर त्यहा बाँच्न सफल हुन्छ भने सय बुद्धि र हजार बुद्धि भएका माछाहरूलाई मछुवाले मारेर टाउको राखेर र झुन्ड्याएर लैजान्छ। यसको निष्कर्ष हो, सय र हजार बुद्धिले हुँदैन एक बुद्धि मात्र भए बाँच्न सकिन्छ।
 
राजनीतिसँग आबद्ध यस कथाले दिएको सन्देश हो-मुलुक बचाउन चाहिने बुद्धि भनेको एउटा मात्र हुन्छ, सय र हजार होइन। त्यो एउटै बुुद्धि भनेको के हो ? त्यो हो, मनले, वचनले अनि कर्मले नेपाली हुनुको पहिलो दायित्व नेपालको हित मात्र सोच्न सक्नु र गर्न सक्नु हो। अर्थात्, नेपालको हितपछि मात्र अरू थोक सोच्ने र गर्ने हो। 
 
हाम्रो यस सुन्दर मुलुक, हामीलाई पुग्नेछ यहाँ र हामी नेपालीले सजिलै व्यवस्थापन गर्न सक्न सक्छौँ-नेपालीको हकहित, स्वाभिमान, पहिचान र जनजीविका जगेर्ना गर्न। गरिखान सक्छौँ हामी आफैँ।पुर्खाको यस धरोहर, हाम्रो सामूहिक अभिव्यक्तिको थलो, जहाँ हामी बाँचेर आएका छौँ-कहिले नझुकेर, सधैँ आपसमा मिलेर।
 
तर त्यो मुलुकलाई नै अहिले विखण्डित हुने अवस्थामा पुर्‍याइएको छ। जनता एकपछि अर्को मारमा छन्-कहिले भूकम्पको त कहिले नाकाबन्दीको। त्यतिले नपुगेर यो मारबाट निस्केको दुःख झन् बल्झिँदै गएको छ-लुटपाटको राजनीति र पराइ-आशीर्वाद प्रत्याशी राजनीतिबाट।
 
साम, दाम दण्ड, भेद नीतिको सफल प्रयोगशाला तुल्याउन सफल भएका छन् हाम्रो यो मुलुकलाई मछुवारूपी पराइहरूले। सुशील कोइरालाको नयाँ रूपको यो आगमन यसैको परिणति हो। यस्तो रूप हेर्नुपर्दा दुखेको नेपालीलाई। 
 
नेपाली कांग्रेसलाई आफ्नो सम्पूर्ण जिन्दगी दिएकाहरूमध्ये कति रोएका छन् त कति लाजले शिर निहुराएका छन्-विचरा कांग्रेसजनहरू। नपत्याए पूर्णबहादुर खड्काहरूलाई सोधे हुन्छ। अझै नपत्याए शाहहरूलाई भेटे हुन्छ। यो कुरा बुझ्न गाउँगाउँमा गएर सोधे हुन्छ।
 
सुशीलजीले गर्ने गरेको प्रजातन्त्रको कुरा आजभोलि पट्यारलाग्दो हुँदै गएको थियो। अब त्यो पनि हुन छोड्यो। मुलुकको रक्षाका लागि वीर बलभद्रले उठाएको ढालसरह आफ्नो बदलिएको स्वरूप छेक्न प्रजातन्त्र प्रयोग गरेको देख्दा आक्रोशित भएका छन् नेपाली। मजाक बनाए उनले प्रजातन्त्रलाई। 
 
अन्ततः प्रजातन्त्रलाई ‘आवरण प्रजातन्त्र’ मा रूपान्तरण भए बने आफूलाई त्यसको बुख्याचा बनाएर प्रतिष्ठापित हुने श्रेय पनि प्राप्त गरेका छन्। धन्य हो सुशील कोइराला ! धन्य हो !! जसले बीपी कोइरालाको नजिक हुन पाएको थियो।
 
याद हुनुपर्ने हो, सुशीलजीलाई बीपीले कहिल्यै पनि पण्डित नेहरूभन्दा कम ठानेनन् आफूलाई सार्वभौम सम्पन्न मुलुकको प्रधानमन्त्रीको हैसियतमा। त्यस्तै कहिल्यै सम्झौता गरेनन् मुलुकको हितसँग। 
 
टक्कर लिए नेहरूसँग पनि जब खम्पा काण्डमा जब नेपालको आन्तरिक मामलामा नेहरूले दखल गर्न खोजे। यस क्रममा राजा महेन्द्रको भन्दा धेरै ज्यादा नेहरूको टाउको दुखाइ बनेका थिए बीपी। बीपीलाई कू गरेर हटाइँदा उनी ४६ वर्षका थिए। 
 
सुशीलले अन्यत्रको सन्देशमा पुनः प्रधानमन्त्री बन्न उम्मेदवारी दिँदा ७६ वर्षका छन्। त्यो नेपाली कांग्रेस बनाए बीपीले। त्यसलाई विसर्जन गराउँदै छन् सुशीलले। ज्यान हराएको पार्टीले प्रजातन्त्रको कुरा गर्दा पार्टी जिउँदो लाससरह हुँदै जान्छ भने प्रजातन्त्र एउटा बकबास।
 
पार्टीमा ज्यान कसरी आउँछ र कसरी हराउँछ? एक वाक्यमा भन्ने हो भने विचार र नेतृत्वको कारणले। विचारले जनतालाई गाँस्ने या समेट्ने काम गर्दछ र त्यो विचारमा समेटिएको जनतामा जुन विश्वास र आस्था जाग्छ त्यसलाई बचाउने काम नेतृत्वले गर्दछ। 
 
यसरी बाँचेको विश्वासको आधारमा नै त्यो पार्टीको संगठन मजबुत हुँदै जाने हो। यो अन्योन्याश्रित हुन्छ अर्थात् परस्परमा निर्भर गर्दछ। अनि पार्टीमा ज्यान आउँछ। कांग्रेसको विचारक र नेतृत्वकर्ता बीपी कोइराला थिए, जसले गर्दा पार्टीमा प्रशस्त ज्यान भरिँदै गएको थियो। 
 
अनि त उनको पनि ऊर्जा र कद दुवै बढ्न पुग्यो। त्यो बेला थियो जब उनीमाथि राज्यले सातोटा मुद्दा लगाएको थियो अनि उनलाई फाँसीसम्म हुन सक्थ्यो र पार्टी संगठन क्षत्विक्षत् थियो। त्यतिबेला पनि कांग्रेसमा ज्यान थियो र दुब्ला-पातला बीपीमा प्रशस्त ऊर्जा। 
 
उनले जेलबाट छुटेर विराटनगरमा पुगेपछि गरेको भाषणमा पनि यसै भने-हेर्दा म कमजोर देखिएको हुँला तर मरो ऊर्जा बढेको छ, घटेको छैन । त्यसैले प्रजातन्त्र दुबोजस्तै कहिल्यै मरेन र बीपी कहिल्यै हारेनन्।
 
तर अहिले कांग्रेस हारेको छ। कारण, पार्टीको ज्यान हराएको छ। यसको पनि कारण हो, कांग्रेसको विचार दूधमा पानी मिसाएको जस्तो मात्र नभई पानीमा दूध मिसाएको जस्तो हुन पुगेको छ। अनि नेतृत्व हुन पुग्यो, हिलोमा गाडिएको किलो जस्तो। 
यो सब बल्झिँदै आएर अहिलेको अवस्थामा आइपुगेको छ। त्यही प्रधानमन्त्रीको पद हो-बीपीको र सुशीलको। बीपीले मुलुकको स्वाभिमानको लागि नेहरूसँग टक्कर लिए भने सुशीलले अघोषित भारतीय नाकाबन्दीको कारण मुलुकमा यत्रो संकट पर्दा पनि मोदीसँग फोनमा कुरासमेत गर्न सकेनन्।
सुशील कोइरालाको पराजय र ओलीको विजयले स्वाधीनता बाँचेको अनुभव सर्वत्र गरिएको छ। नयाँ संघर्षको र नयाँ मेलमिलापको सुरुआत हो यो।
उनका मन्त्रीहरू भारतले नाकाबन्दी गरेकै छैन भन्न हिच्किचाएनन्। सञ्चारमन्त्रीले कारबाहीको चेतावनी दिए आफ्ना मातहतका सम्पादकहरूलाई कारबाहीको नाकाबन्दी र मोदीको विरोधमा नाम मात्र लेखेमा। 
 
मुलुकको ऐन, कानुन र आर्थिक नियमको ठाडै उल्लंघन गरेर तराई जोड्ने फास्ट ट्र्याक मुलुकलाई अर्बौं होइन खर्बौ को नोक्सान पारेर हात धोएर लागिपरेका दुई मन्त्रीमध्ये एक मन्त्रीले गर्वसाथ भने, 'हो, म भारत परस्त हुँ। कसले के गर्न सक्छ?'
 
निरीह पारिएको हामीले के गर्न सक्छौँ र सिवाय आँसु पिएर आवाजविहीन रोदनबाहेक। पहाड र तराई जोड्ने बाटो भारत सकेसम्म बनाउनै दिँदैन र बन्ने नै भयो भने पनि अपांग पार्ने वा आफ्नै मातहतमा राख्ने चाहन्छ। यो जगजाहेर कुरा भएको छ अहिले। 
 
बीपी राजमार्गबारे त्यतिबेलाको सचिवले पछि भने, जापानले दुई लेन बनाइदिन्छु भन्दा पनि भारतले एक लेनभन्दा ठूलो बनाउन दिएन। यो तराई जोड्ने फास्ट ट्र्याक आफ्नै मातहतमा राख्न चाहन्छ, हाम्रै पैसाले बनाउन लगाएर।
 
यसरी सर्वत्र हस्तक्षेपकारी भूमिकाबीच प्रधानमन्त्रीले चाहनेबित्तिकै सुत्‍न पनि पाएनन्। सुत्‍ने चाहनालाई जित्यो अर्कैले। प्रधानमन्त्री हुन्न म भनेर सुत्‍न गएका कोइरालाले बिहान उठ्दा ‘हारे पनि जिते पनि प्रधानमन्त्री म' भन्ने पो सपना देखे। 
 
सपना देखाउने काम भारतीय खुफिया एजेन्सीका मठाधीसहरूले गरे। यहाँनिर म अझ बीपीलाई धेरै सम्झन्छु। बीपी सधैँ भन्ने गर्थे, 'मेरो राजनीति आम नेपालीको स्वाभिमानको लागि हो।' यो स्वाभिमानलाई सुशीलले परास्त गरेका छन्।
 
सुशीलजीले जस्तो प्रजातन्त्र रटेर हुँदैन त्यो आत्मसात गर्ने कुरो हो। उहाँले आत्मसात गर्न सक्नुभएको रहेनछ। हामीलाई प्रजातन्त्र चाहिने कारण के हो? यसमा अन्तरनिहित मान्यता जसले राष्ट्रिय स्वार्थको जहिले पनि हिफाजत गर्दछ भन्ने हो।
 
बेलायतका पूर्वप्रधानमन्त्री चर्चिलले एकपटक भनेका थिए-प्रजातन्त्र सबभन्दा नराम्रो व्यवस्था हो, तर योभन्दा राम्रो व्यवस्था नपाउञ्जेल यो नै उत्तम हो । यसमा भएको राम्रोपना हराउँछ जब मान्यतालाई दूषित पारिँदै लगिन्छ। त्यस्तो अवस्थामा प्रजातन्त्र जाँदै खतरनाक साबित हुन पुग्छ। 
 
राष्ट्रिय अस्मिता जल्न सक्छ, मुलुक विखण्डित हुन सक्छ, अझ नरहनै पनि सक्छ। यो मान्यता दूषित पार्ने काममा समयको यो क्षणको यो बिन्दुमा उनको अग्रता देखिएको छ-चाहेर या नचाहेर।
 
यसरी उनी लाचार छाया बनेका छन्। उनको पनि दोष छैन एक अर्थमा। आखिर उनी जीवनभर ‘आज्ञाकारी राजनीति’ गर्दै आएका व्यक्ति न हुन्। यहाँनिर अब प्रश्न गरौँ, राजनीति केको लागि? 
 
हो, राजनीति मुलुकको बृहत्तर स्वार्थलाई हिफाजत गर्दै आम नागरिकको जीवनस्तर उकास्नको लागि हो। तर यो काम सक्षम नेतृत्वबाट मात्र सम्भव हुन सक्छ। दुर्बल चरित्रका धनी व्यक्तिहरूबाट होइन। राजनीतिमा एउटा गजबको कुरो देखिएको छ। 
 
सबै मुलुकमा देखिएको त्यो चाखलाग्दो कुरो हो सरकार चलाउने ठाउँमा अधिकांश मिडिओकर अर्थात् मध्यम खालका व्यक्तिहरू पुगेका हुन्छन्। त्यसैले तिनीहरूको सय र हजार बुद्धिका हुन पुग्ने सम्भावना बलियो हुन्छ। 
 
एक बुद्धिका कहिलेकाहीं मात्र पाइन्छ। नेपालमा पंक्तिकारले यस्ता व्यक्ति चारजना मात्र देखेको ३५ वर्षअगाडि लेखेको थियो, ती थिए-पृथ्वीनारायण शाह, जंगबहादुर, राजा महेन्द्र र बीपी कोइराला।
 
हिलोको किलो जस्तो सुशीलबाट आशा गर्ने ठाउँ सुरुबाटै थिएन । निष्ठाको राजनीति गर्ने भनेर चित्रण गरिएका उनले राम्रो गर्न नसके पनि मुलुकलाई हानि पुर्‍याउँदैनन् होला बन्ने धेरैले सोचेका थिए। आखिरी समयमा आएर खराब सपना किन्दा आर्जित राजनीतिक पनि गुमाए। 
 
उनको निष्ठाको राजनीति भनेको ‘आज्ञाकारी राजनीति' मै सीमित रहेछ। एरिस्टोटलले एकपटक भनेथे, कुनै पनि चिजको सुरुआत हुन्छ भने त्यसको अन्त्य पनि अवश्य हुन्छ। सुशीलको राजनीतिक अन्त्य महत्वपूर्ण छैन। धेरै महत्वपूर्ण 'आज्ञाकारी राजनीति' को कारण उनी जसरी अहिले दलिन बालेर आगो ताप्न खोज्दै छन्, त्यसबाट हाम्रो सामूहिक घर भत्किँदै जाने हुँदा सामूहिक पीडा झन बढ्दै जाने स्थिति छ।
 
उनको पराजय र ओलीको विजयले स्वाधीनता बाँचेको अनुभव सर्वत्र गरिएको छ। नयाँ संघर्षको र नयाँ मेलमिलापको सुरुआत हो यो। सय र हजार बुद्धि भएकाहरूले मुलुकको स्वाधीनतासँग सत्ता प्राप्तिको व्यापार गर्न नपाऊन्। एक बुद्ध भएकाहरू सदा विजयी रहून्। विजयादशमीको शुभकामना भन्न चाहन्छु, हामो दलिन बालेर आगो ताप्ने धृष्टता कहिल्यै कसैले गर्न नपाऊन्।