Taja Samachar Nepal

Taja Samachar Nepal
News

Tuesday, October 13, 2015

संविधान स्वीकारेको भन्दै मधेसी मोर्चाको विरोध

जनकपुरधाम: विगत दुई महिनादेखि आन्दोलन गर्दै आएको मधेसवादी दलहरुले प्रधानमन्त्रीको निर्वाचनमा सहभागी भएपछि मधेसमा विरोध सुरु भएको छ । 
 
प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र एमाओवादीको विरुद्ध जनतालाई उक्साएर आन्दोलन गरिराखेका मधेसवादी दलहरुले तीनै नेताहरुलाई प्रधानमन्त्री बनाउन आफैंले वहिस्कार गरेको संसदमा सहभागी हुनु दुर्भाग्यपूर्ण रहेको टिप्पणी मधेसमा व्यापक रुपमा हुन थालेको छ । 
 
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सहित विभिन्न मधेसवादी दलहरुद्धारा छुट्टा छुट्टै आह्वान गरिने गरिएको आन्दोलनको प्रत्येक कार्यक्रमलाई सर्वसाधारणले सक्रिय रुपमा सहभागी भई सफल बनाउंदै आएपनि मधेसवादी दलहरु सत्ताको खेलमा लागेको भन्दै जनकपुरमा मधेसी मोर्चाका नेताहरुको विरोध गरिएको छ भने पुत्ला समेत दहन गरिएको छ । 
 
मधेसको अधिकार सुनिश्चित गर्न सकियोस् र त्यसका लागि धेरै दुःख सहेर पनि जनताले आन्दोलनलाई समर्थन दिईरहेको अवस्थामा मधेसी मोर्चाले प्रधानमन्त्री चुनावको प्रक्रियामा जानु गलत निर्णय रहेको मोर्चाका घटक दल सद्भावना पार्टीका जिल्ला अध्यक्ष संजय सिंहले बताए । अहिले जनताले आफुहरुलाई यस विषयमा विभिन्न खाले प्रश्नहरु गर्दैगर्दा  उत्तर दिन गाह्रो भएको सिंहको भनाई रहेको छ । 
 
संविधानको मस्यौदा जारी भएदेखि नै त्यसको विरोधमा आन्दोलित भएको मधेस अधिकार संघर्ष समितिले हालसम्म मधेसी दलहरुको सबै कार्यक्रममा समर्थन जनाउंदै कार्यक्रमलाई सफल पार्न सक्दो प्रयास गरेपनि अहिले आएर मोर्चाले संसद मागएर आन्दोलनको अपहेलना गरेको समितिका संयोजक सरोज मिश्रले बताए । आफुहरु मोर्चाको यस कदमको विरोध गर्ने मिश्रले जानकारी गराए ।  
 
जनतालाई आन्दोलनमा होमेर आफु सत्ताको खेलमा लागेको मधेसी मोर्चाले मधेससंग गद्दारी गरेको तराई मधेस राष्ट्रिय अभियानका केन्द्रिय सदस्य इन्द्रकुमार मधेसानन्दले बताए । 
 
मोर्चाको यो गल्तीबाट सजग भई आगामी दिनमा आन्दोलनमा समर्थन जनाएका विभिन्न पेशाकर्मी संघसंस्थाहरु, सामाजिक कार्यकर्ताहरुले नयाँ प्रकारका कार्यक्रमहरु ल्याएर आन्दोलन अघि बढाउनु पर्ने मधेसानन्दको भनाई रहेको छ ।