Taja Samachar Nepal

Taja Samachar Nepal
News

Tuesday, October 13, 2015

प्रधानमन्त्री ओलीसँग विकास माग्दै तेह्रथुमबासी

धरान: २०७२ आस्विन २६ मंगलवार, प्रधानमन्त्रीमा एमाले अध्यक्ष केपी ओली निर्वाचित भएपछि उनको जन्मस्थान तेह्रथुम जिल्लाका बासिन्दाले खुसी व्यक्त गर्दै जिल्लाको दिगो विकास हुने अपेक्षा गरेका छन्।
 
तेह्रथुमबासीले नवनिर्वाचित प्रधानमन्त्रीसमक्ष देशको वर्तमान अवस्थाको समाधानसँगै जिल्लाको दिगो विकास गर्न माग गरेका छन्। ओली २००८ सालमा तेह्रथुमको इवा गाविसमा जन्मिएका थिए। 
 
प्रधानमन्त्रीमा निर्वाचित भएपछि जिल्लाबासीले ओलीलाई बधाई दिँदै सफल कार्यकालको शुभकामनासमेत दिएका छन्।पूर्वाञ्चलका १६ जिल्लामध्ये सानो जिल्ला तेह्रथुम विकासका हिसाबले पनि पछाडि छ। 
 
दुई नगरपालिका, २१ गाविस र एउटामात्र निर्वाचन क्षेत्र रहेको तेह्रथुम विकासमा पछाडि परेको जिल्लाबासीको गुनासो छ। केपी ओली प्रधानमन्त्री भएसँगै अब तेह्रथुमको विकासले गति लिने अपेक्षासहित जिल्लाबासी अत्यन्तै हर्षित छन्।
 
ओली साथ तत्कालीन समयमा झापामा बसाइँ सरी नेपाली राजनीतिमा होमिएका प्रधानमन्त्री ओलीलाई आफ्नो कार्यकालमा आफू जन्मिएको जिल्लाको समग्र विकासमा जोड दिन जिल्लाबासीले सचेत गराएका छन्। 
 
गुराँसको राजधानीका रूपमा चिनिने तेह्रथुमको पर्यटन प्रवद्र्धन, मोटरबाटो कालोपत्र र विमानस्थल निर्माण गरी जिल्लालाई सुविधा सम्पन्न बनाउन प्रधानमन्त्रीसमक्ष जिल्लाबासीले माग गरेका छन्।
 
'ओली प्रधानमन्त्रीमा निर्वाचित भएपछि जिल्लाबासीमा खुसीको सीमा छैन’, नागरिक समाज तेह्रथुमका अध्यक्ष तुलसी संग्रौलाले भने, ‘अब विकासले पछाडि परेको तेह्रथुमले मुहार फेर्नेछ।'
 
उनले प्रधानमन्त्री ओलीलाई मुलुकको तत्कालीन समस्या समाधान गर्न सतिसालझैं खडा भएर काम गर्न पनि सुझाव दिएका छन्।कांग्रेस तेह्रथुमका सचिव अर्जुन तुम्बाहाम्फेले पनि तेह्रथुममा जन्मिएका केपी ओली प्रधानमन्त्रीमा निर्वाचित भएकोमा बधाई दिएका छन्। 
 
उनले तेह्रथुमका कच्ची सडक पिच गरी सुविधा सम्पन्न बनाउन ओलीसमक्ष आग्रह पनि गरे।एमाले तेह्रथुमका अध्यक्ष तेजमान कन्दङ्वाले पनि पार्टीका अध्यक्ष ओली प्रधानमन्त्रीमा निर्वाचित भएपछि तेह्रथुम जिल्लाको विकासले गति लिने विश्वास व्यक्त गरेका छन्। 
 
उनले विद्यमान चुनौती तथा जातीय र क्षेत्रीयताको विवादमा सहमतिका नाममा गलत सम्झौता नगर्न पनि सुझाव दिएका छन्।कन्द्ङ्वाले आफ्नो पार्टीको प्रधानमन्त्रीको कार्यकालमा तेह्रथुममा विमानस्थल र मोटरबाटो कालोपत्र गर्न माग गरेका छन्। 
 
एमाओवादी तेह्रथुमका अध्यक्ष दुर्गा चापागाईंले पनि ओली प्रधानमन्त्रीमा निर्वाचित भएपछि तेह्रथुमबासी अत्यन्तै खुसी भएको प्रतिक्रिया दिए। उनले तेह्रथुममा जन्मिएका ओलीको कार्यकालमा पूर्वी पहाडी जिल्लाहरूको विकासमा जोड दिन आग्रह गर्दै देशको जटिल अवस्थालाई सहमतिका साथ समाधान गर्न सुझाव दिएका छन्।