Taja Samachar Nepal

Taja Samachar Nepal
News

Tuesday, October 13, 2015

रेस्टुरेन्टका ५० प्रतिशत मेनुमा कटौती

काठमाडौं: नयाँ संविधान जारी भएपछि असन्तुष्टि जनाउँदै भारतले गरेको अघोषित नाकाबन्दीका कारण नेपालीको जनजीवन निकै कष्टकर बनेको छ।
 
 कामकाजीहरूलाई घरबाट बाहिर गएर खाना तथा खाजा खान निकै समस्या पर्न थालेको छ। दुई सातादेखिको इन्धन अभावले राजधानीका ४० प्रतिशत समान्य खाजा घर बन्द भएका छन्।
 
राजधानीको ठमेल क्षेत्रमा केही नामै चलेका रेस्टुरेन्टसमेत बन्द हुन थालेका छन्। 
 
बल्लतल्ल सञ्चाल भैरहेका रेस्टुरेन्टले अवस्था सहज नभए हरेक दिन मेनुमा कटौती र यस्तै अवस्था केही दिन लम्बिए बन्द गर्नुको विकल्प नरहेको रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेवान)का अध्यक्ष प्रमोद जैसवालले बताए।
 
जैसवालका अनुसार दसैंको मुख भएकाले नियमित सेवामा खटिरहेका रेस्टुरेन्ट बन्द गर्नुभन्दा थोरै मात्र सेवा दिएर भए पनि सञ्चालन भइरहेका हुन्। 
 
दुई सातादेखि इन्धन अभावकै कारण पर्यटकीय सेवा दिइरहेका करिब २० प्रतिशत रेस्टुरेन्ट बन्द भइसकेको उनले बताए। बाँकी रेस्टुरेन्ट पनि दसैंको बिदापछि इन्धन आपूर्ति नभए खुल्न नसक्ने उनको भनाइ छ।
 
जैसवालको आफ्नै मेला रेस्टुरेन्ट इन्धन अभावले बन्द हुने चरणमा पुगेको छ। 'दसैंसम्म मेनु घटाएर, बिहानको ब्रेकफास्ट बन्द गरेर र रातमा छिट्टै बन्द गरेर भए पनि जेनतेन सञ्चालन हुन्छ। 
 
यस्तै हो भने दसैंपछि मेरो रेस्टुरेन्ट खुल्न सक्दैन', जैसवालले भने। धेरैजसो रेस्टुरेन्टले बिहानको ब्रेकफास्ट बन्द गरेका छन। 
 
पर्यटक तथा ग्राहलाई मनोरञ्जन दिने गरी राती अबेरसम्म सञ्चालन हुने रेस्टुरेन्टले आफ्नो संचालनको अवधि घटाएका छन्।
 
'रेस्टुरेन्टमा लामो समय बसेर चिया, कफि खाने ग्राहकलाई पनि यसको विकल्पमा कोल्ड ड्रिङ्ग लिन आग्रह गर्न थालिएको छ। 
 
धेरैजसो रेस्टुरेन्टले भने आफ्नो अनुकुल स्थान बनाएर दाउरा बालेर पनि अत्यावश्यक सेवालाई निरन्तरता दिइरहेको उनको भनाइ छ। 
 
चिया तथा खाजा होटलले चिया नमाग्नुस चिसो खानुस, मःमः छैन, कफी बन्दैन भन्न थालेका छन्। 
 
इन्धन आपूर्ति नभएकोले सबै होटल तथा रेस्टुरेन्ट अप्ठारो अवस्थामा पुगेको होटल संघ नेपाल (हान)का महासचिव विनायक शाहले बताए।