Taja Samachar Nepal

Taja Samachar Nepal
News

Sunday, October 18, 2015

नौ मन्त्री थपिए

       काठमाडौं :२ कार्तिक २०७२  एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा आइतबार नौजना मन्त्री थपिएका छन् । आफ्नै पार्टी एमालेले थप मन्त्रीका लागि नाम सिफारिस गर्न नसकेपछि प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति डा. रामवरण यादवले आइतबार शीतल निवासमा एमाओवादी, मधेसी जनअधिकार फोरम लोकतान्त्रिक र बहुजन शक्ति पार्टीबाट प्रतिनिधित्व गर्ने मन्त्रीलाई शपथ ग्रहण गराएका हुन् । 
 
आइतबार शपथ लिने मन्त्रीमा एमाओवादीका सचिव टोपबहादुर रायमाझी उपप्रधान तथा ऊर्जामन्त्री भएका छन् भने अर्का सचिव गिरिराजमणि पोखरेल शिक्षामन्त्री भएका छन् । त्यस्तै स्थायी समिति सदस्य अग्नि सापकोटा वन तथा भूसंरक्षणमन्त्री भएका छन् भने अर्का स्थायी समिति सदस्य शक्ति बस्नेतले गृहमन्त्रीको जिम्मेवारी पाएका छन् । 
 
अर्घाखाँची—१ बाट प्रत्यक्ष निर्वाचित रायमाझीले यसअघि संघीय मामिला तथा स्थानीय विकास र भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी समालिसकेका थिए । महोत्तरी—१ बाट प्रत्यक्ष निर्वाचित पोखरेल यसअघि एमाओवादीका प्रमुख सचेतक थिए । उनले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पनि समालिसकेका छन् । खोटाङमा जन्मिएका 
 
अविवाहित पोखरेल मोरङका स्थायी बासिन्दा हुन् । सिन्धुपाल्चोक—२ बाट प्रत्यक्ष निर्वाचित सापकोटा यसअघि सूचना तथा सञ्चारमन्त्री भइसकेका थिए । जनजागृति माध्यमिक विद्यालय साँगाचोक सिन्धुपाल्चोकको प्रधानाध्यापकबाट राजीनामा दिएर २०४८ को निर्वाचनमा उम्मेवार भएका सापकोटा संविधानसभाका दुवै निर्वाचनमा विजयी भएका थिए । 
 
जाजरकोट—१ बाट प्रत्यक्ष निर्वाचित बस्नेत यसअघि स्वास्थ्यमन्त्री भएका थिए । माओवादी लडाकुका कमिसार रहेका बस्नेत एमाओवादीका महासचिव कृष्णबहादुर महरालाई पछाडि पार्दै गृहमन्त्री भएका हुन् । यसअघि बस्नेतकी पत्नी सत्या पहाडी पनि शान्ति तथा पुनर्निर्माणमन्त्री भएकी थिइन् । 
 
वाणिज्य तथा आपूर्तिमन्त्रीको जिम्मेवारी पाएका गणेशमान पुन एमाओवादी युवा संगठन वाईसीएलका पूर्वअध्यक्ष हुन् । रुकुमबाट प्रत्यक्ष निर्वाचित पुन एमाओवादीका पोलिटब्युरो सदस्य छन् । मोहन वैद्य नेतृत्वको नेकपा—माओवादी परित्याग गरी एमाओवादीमा प्रवेश गरेकी रेखा शर्मा छोटो समयमा धेरै अवसर पाउने भाग्यमानी महिला नेत्री भएकी छिन् । दोस्रो संविधानसभा निर्वाचनपछि समानुपातिक तर्फबाट सभासद् बनेकी शर्मा एमाओवादीको सचेतक थिइन् । 
 
अहिले उनले सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पाएकी छिन् । दाङमा जन्मिएकी शर्मा सशस्त्र द्वन्द्वका बेला पति कृष्णध्वज खड्कासँगै लामो समय सैनिक हिरासतमा बसेकी थिइन् । सप्तरी—३ बाट प्रत्यक्ष निर्वाचित उमेश यादव मधेसको प्रतिनिधित्व गर्दै सिँचाइमन्त्री भएका छन् । बहुमतीय प्रक्रियाबाट संविधान जारी गर्ने 
 
कांग्रेस–एमालेको प्रयासविरुद्ध एमाओवादी सभासद्हरू आन्दोलनमा रहेका बेला यादवले फालेको कुर्सी सर्वत्र चर्चा हुने विषय हो । एमाओवादीका तर्फबाट मन्त्री भएका पुन, शर्मा र यादव सरकारमा नयाँ अनुहार हुन् । बहुजन शक्ति पार्टीका नेता विश्वेन्द्र पासवान पहिलोपटक मन्त्री भएका हुन् भने मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका तर्फबाट सिफारिस भएर मन्त्री भएका रामजनम चौधरी यसअघि पनि पटकपटक मन्त्री भइसकेका थिए । 
 
पासवान र चौधरीले राष्ट्रपतिसमक्ष शपथ लिए पनि उनीहरू दुवैलाई मन्त्रालयको जिम्मेवारी दिइएको छैन ।