Taja Samachar Nepal

Taja Samachar Nepal
News

Saturday, October 17, 2015

कष्टकर बन्दै दसैँ

          काठमाडौं, १ कात्तिक यसपटकको दसैँ अभावमै बित्ने भएको छ । अलि बढी मिहिनेत गरेर भए पनि दसैँमा राम्रो खाने र राम्रो लाउने आमनेपालीको इच्छामा भारतीय नाकाबन्दीले प्रभाव पारेको हो । नाकाबन्दीका कारण उपभोग्य वस्तुसँगै पेट्रोल, डिजेल, ग्यासलगायतको आपूिर्तसमेत ठप्प छ । दैनिक उपभोग्य खाद्यान्न, गेडागुडी, खानेतेललगायत पर्याप्त मौज्दात रहेको व्यवसायीले बताएका छन् । तर, इन्धन अभावले ढुवानी हुन नसकिरहेको व्यवसायीको दुखेसो छ । दसैँमा नयाँ लुगा खरिद गर्ने धेरै उपभोक्ताको चाहनासमेत यसपटक अपुरो हुने देखिन्छ । मध्यम र निम्न वर्गीय उपभोक्तको रोजाइमा पर्ने चिनियाँ लत्ताकपडा धेरै कम आयात भइरहेको व्यवसायीले बताएका छन् । ‘चिनियाँ लत्ताकपडा ३० प्रतिशत मात्रै आइरहेका छन्,’ नेपाल हिमालय सीमापार वाणिज्य संघका सचिव निरज राईले भने । उनका अनुसार लत्ताकपडाको कुल बजारमा चिनियाँ सामानको बजार हिस्सा ७५ प्रतिशतभन्दा बढी छ । बहुसंख्यक उपभोक्ताले प्रयोग गर्ने चिनियाँ लत्ताकपडा थोरै आउँदा मौज्दातमा रहेका पुरान डिजाइनका कपडा बजारमा बिक्री भइरहेको उनले जानकारी दिए । ‘बजारमा चिनियाँ लत्ताकपडाको कमी त छैन, मौज्दातमा रहेका पुराना डिजाइनका कपडा बिक्री भइरहेका छन्,’ उनले भने, ‘तर, नयाँ डिजाइन खोज्ने उपभोक्ता भने मर्कामा परेका छन् ।’ भूकम्पले चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानी अवरुद्ध पारेपछि व्यवसायीले भारतीय भूमि हुँदै सामान ल्याइरहेका थिए । तर, डेढ महिनादेखि सीमा क्षेत्रमा अवरोध हुँदा चिनियाँ सामान ३० प्रतिशत मात्रै उपलब्ध भइरहेको उनले बताए । पेट्रोल, डिजेल र खाना पकाउने एलपी ग्यासको पनि उत्तिकै हाहाकार छ । ‘अहिले कुल मागको १० प्रतिशत मात्रै इन्धन आपूर्ति गर्न सकिएको अवस्था छ,’ आयल निगमका प्रवक्ता दीपक बराल भन्छन् । पेट्रोल, डिजेलको अभाव हुँदा सहज रूपमा आवतजावत गर्न कठिनाइ भइरहेको छ भने ग्यास नहुँदा खाना पकाउनै समस्या हुन थालेको उपभोक्ताले गुनासो गर्न थालेका छन् । ‘धेरै उपभोक्ताले खाना पकाउने ग्यास नै छैन, कसरी दसैँ मनाउने भनेर गुनासो गदै पसलमा आउने गरेका छन्,’ ग्यास विक्रेता महासंघका उपाध्यक्ष अर्जुन देवकोटाले भने । डिजेल अभावमा दसैँमा घर फर्कन यात्रुले सुविस्ता दिएर ओसार्न नसकिएको यातायात व्यवसायी बताउँछन् । ‘डिजेल अभाव हुँदा सबै गाडी चलाउन सकिएको छैन, भएकै गाडीसमेत डिजेल लिने लाइनमा बस्दा समयमै यात्रुलाई सेवा दिन गाह्रो परिरहेको छ,’ यातायात व्यवसायी सरोज सिटौला भन्छन् । इन्धन अभावको मौका छोपेर व्यवसायीले भाडादर पनि चर्को असुलेर उपभोक्तालाई थप मारमा पारेका छन् । ‘अधिकांश यात्रुबाहक बस, माइक्रो, बोलेरोलगायतले सरकारले तोकेको भाडादरभन्दा बढी रकम यात्रुबाट असुलेको पाइयो,’ नियमनकारी निकाय यातायात व्यवस्था विभागका निर्देशक वसन्त अधिकारीले भने, ‘दसैँ मनाउन घर जाने यात्रुले आरामदायी यात्रा त गर्न पाएका छैनन् नै भाडासमेत बढी तिर्नुपर्दा थप मर्कामा परिरहेका छन् ।’ दसैँमा उपभोग हुने खसी, बोकाको मासु भने मागअनुसार नै आपूर्ति भइरहेको व्यवसायीले बताएका छन् । ‘उपत्यकामा दसैँका लागि खसी, बोकाचाहिँ मागअनुसार नै आपूर्ति भइरहेको छ,’ चौपाया व्यवसायी संघका अध्यक्ष जीवन थापाले भने । शनिबार करिब २५ सय खसी, बोका बिक्री गरेको उनले जानकारी दिए । चिनियाँ सामग्री ३० प्रतिशत मात्रै उपलब्ध छन् निरज राई, सचिव नेपाल हिमालय सीमापार वाणिज्य संघ १२ वैशाखको विनाशकारी भूकम्पयता चीनसँग व्यापार गर्ने प्रमुख नाका तातोपानी खुल्न सकेको छैन । तातोपानीको विकल्पका रूपमा व्यवसायीले कोलकातासम्म जहाजमा चिनियाँ सामान ओसार्ने र त्यहाँ वीरगन्ज, भैरहवालगायतका नाका हुँदै ल्याउने गरेका छौँ । तर, भारतको बोर्डरमै अवरोध हुँदा चिनियाँ सामान बोकेका धेरै कन्टेनर कोलकातामै रोकिएका छन् । कोलकातामा कन्टेनर राख्दै ठाउँ नै नभएपछि चिनियाँ व्यापारीले नेपालमा सामान पठाउनसमेत इच्छा देखाउन छाडिसकेका छन् । चिनियाँ लत्ताकपडाको व्यापार हिस्सा नेपाली बजारमा ७५ प्रतिशत छ । मध्यम तथा निम्नवर्गीय परिवारले चिनियाँ लत्ताकपडा, जुत्तालगायत प्रयोग गर्दै आएका छन् । तर, चिनियाँ नाका ठप्प हुँदा र भारतबाट समेत सामान ल्याउन नपाउँदा करिब ३० प्रतिशत मात्रै चिनियाँ सामग्री आइरहेका छन् । यति थोरै सामान आउँदा व्यापारीसँगै आमसर्वसाधारण पनि मर्कामा परेका छन् । यद्यपि उपभोक्ताले दसैँमा नयाँ लुगा पाएका छैनन् भन्ने होइन । हामीसँग मौज्दात रहेका पुराना डिजाइनका लत्ताकपडा भने बजारमा उपलब्ध छन् । नयाँ डिजाइनका लुगा बजारमा छैनन् । पुरानो डिजाइनले पुरुषलाई त खासै फरक पर्दैन, तर बच्चा र स्त्री वर्गले भने नयाँ डिजाइनकै लुगा मनपराउने हुँदा उनीहरूलाई बढी मर्का परेको छ । दसैँमा तातोपानी नाकाबाट दैनिक २ करोड रुपैयाँ भन्सार तिरेर चिनियाँ सामग्री आउने गरेका थिए । तर, चीनतिरको नाका र भारतको बोर्डमा भइरहेको अवरोधलाई हेर्दा दसैँ, तिहारपछि मात्रै चिनियाँ सामग्री नेपाली उपभोक्तासम्म आइपुग्ने देखिन्छ । 
कष्टकर बन्दै दसैँ