Taja Samachar Nepal

Taja Samachar Nepal
News

Saturday, October 17, 2015

आन्दोलनका नाममा लुटपाट

  १ कार्तिक २०७२ वीरगन्ज : मधेसमा आन्दोलनका नाममा लुटपाट, तोडफोड र आगलागीको घटना बढ्दै गएको छ । मधेसी मोर्चाले आह्वान गरेको बन्द र हडताल दुई महिना नाघिसकेको छ भने मुलुककै प्रमुख नाका वीरगन्ज तीन सातादेखि ठप्प छ । वीरगन्ज–रक्सौलको सीमामा रहेको मितेरी पुलस्थित दसगजा क्षेत्रमा मधेसी दलका नेता र कार्यकर्ताले असोज ७ देखि चौबीसै घन्टा धर्ना दिएर नाकाबन्दी गरेका हुन् ।
 
बन्द, हडताल र नाकाबन्दीको सबैभन्दा बढी मारमा परेका उद्योगी, व्यपारी, उद्योग र मालवाहक गाडीमा लुटपाट र आगलागी हुन थालेपछि दोहोरो मारमा परेका छन् । आन्दोलनकारीकै नाममा एक समूहले शनिबार बिहान वीरगन्ज पोखरिया सडकखण्डअन्तर्गत पर्साको बहुअर्वाभाठा गाविस ७ मा रहेको श्रीगणेश खाद्य उद्योगमा तोडफोड गर्दै धान लुटेर लगेको छ ।
 
मधेस बन्दको अवज्ञा गर्दै उद्योग सञ्चालन गर्नुका साथै रातिको समयमा ट्रकमा चामल ओसारेको भन्दै करिब तीन सयजनाको संख्यामा रहेको समूहले उद्योगको मूल गेटमा तोडफोड गर्दै गोदाममा रहेको करिब एक सय ५० बोरा धान लुटेर लगेको हो ।
 
उनीहरूले उद्योगमा रहेको ना १६ प ७२३४ नम्बरको मोटरसाइकल, जेनेरेटर, चामल कुट्ने मेसिन र फर्निचरमा तोडफोड गरेका छन् । ‘हातमा लट्ठी र फलामको रड बोकेर आएको समूह हडतालका बेला रातिराति चामल किन ओसोरेको भन्दै मेनगेटको ढोका तोडेर भित्र पस्यो’, उद्योगका कर्मचारी जाकिर हुसेनले भने, ‘उनीहरूले गोदाममा रहेको एक सय ५० बोरा धान पनि लुटेर लगे ।’
 
तोडफोड र लुटपाटका कारण उद्योगलाई झन्डै दुई लाख रुपैयाँबराबरको क्षति भएको छ । लुटपाटको खबर पाएपछि घटनास्थल पुगेका प्रहरी र स्थानीयवासीबीच झडप भएको थियो । झडपका क्रममा प्रहरीले लाठी चार्ज गर्नुका साथै १९ राउन्ड गोलीसमेत फायर गरेको थियो ।
 
लुटेराहरूले लुटेर लग्न थालेको धानको बोरा नियन्त्रणमा लिने क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट १९ राउन्ड हवाईफायर गर्नुपरेको पर्साका प्रहरीउपरीक्षक राजुबाबु श्रेष्ठले बताए ।
 
लुटेराहरूले प्रहरीमाथि ढुंगामुढा गर्न थालेपछि प्रहरीले हवाईफायर गरेको उनले बताए । उनका अनुसार प्रहरी घटनास्थलमा समयमै पुगेकाले उद्योगमा ठूलो क्षति हुन पाएन । प्रहरी पुग्नुभन्दा पहिले लुटेराहरूले २०/३० बोरामात्र धान लुटेर फरार भए पनि अरू धानका बोरा प्रहरीले खोसेर उद्योगमा राखिदिएको जानकारी प्रहरीउपरीक्षक श्रेष्ठले दिए ।
 
प्रहरी पुगेपछि लुटेराहरू धानका बोरा र साइकल फालेर भागेका थिए । उद्योगनजिकको सडक र खेतबाट प्रहरीले लुटेराहरूका दुई दर्जनभन्दा बढी साइकल बरामद गरेको प्रहरीउपरीक्षक श्रेष्ठले बताए । शनिबार नै आन्दोलनकारीको एक समूहले वीरगन्जमा एउटा मालवाहक ट्रकमा आगो लगाएको छ । 
 
आदर्शनगरस्थित मनीष ट्रेडर्सको गोदामअगाडि सुपारी लोड गरी राखिएको ना ४ ख ६३५ नम्बरको ट्रकमा आगो लगाइएको हो । १०/१२ जनाको संख्यामा आएको अपरचित युवाको समूहले ट्रकमा पेट्रोल छर्केर आगो लगाएको प्रत्यक्षदर्शी भोला वर्णवालले बताए ।
 
आगलागीबाट ट्रकअगाडिको भाग जलेर ध्वस्त भए पनि ट्रकमा रहेको सुपारीमा भने क्षति पुगेको छैन । ट्रकमा लगाइएको आगो वीरगन्ज उपमहानगरपालिका कार्यालयको वारुणयन्त्रको सहयोगमा निभाइएको छ । आगो लगाउने समूहको खोजी भइरहेको प्रहरीउपरीक्षक श्रेष्ठले बताए । आन्दोलनका नाममा भारतसँग सीमा जोडिएको पर्साको ग्रामीण क्षेत्रमा पनि लुटपाटका घटना बढेको छ ।
 
सीमापारि भारतबाट डिजेल र पेट्रोल लिएर आउने गरेका मोटरसाइकल र साना गाडीहरू स्थानीय युवाहरूले रोकेर लुट्ने गरेका छन् । एक साताअघि मात्रै रक्सौलबाट डिजेल लिएर आउँदै गरेको रेडियो वीरगन्जको गाडीबाट आन्दोलनकारीले तीन ग्यालेन डिजेल लुटेर लगेका थिए ।
 
उद्योग व्यवसायमा लुटपाट र आगलागी हुनु आन्दोलनको खतरनाक रूप भएको वीरगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष अशोक वैद्य बताउँछन् । ‘बन्द र हडतालले यसै पनि दुई महिनादेखि उद्योग र व्यपार ठप्प छ’, उनले भने, ‘अब त आगलागी र लुटपाट पनि हुन थाल्यो ।
 
क्रान्ति शाह
१ र २ ः पर्साको बहुअर्वाभाठास्थित श्रीगणेश खाद्य उद्योगमा लुटपाट गर्ने क्रममा आन्दोलनकारीले छरेका धानका बोरा ।
क्रान्ति शाह
३ ः वीरगन्जको आदर्शनगरमा आन्दोलनकारीले आगो लगाएको सुपारी लोड गरिएको ट्रक ।