Taja Samachar Nepal

Taja Samachar Nepal
News

Saturday, October 17, 2015

केन्द्रसँग गाउँका कांग्रेसी दुःखी

१ कार्तिक २०७२ अश्राङ (गोरखा) : भूकम्प र नाकाबन्दीले गाउँको जनजीवन बिग्रँदै गएका बेला केन्द्रको राजनीति पनि बिगारेको भन्दै गाउँका कांग्रेस कार्यकर्ता केन्द्रीय नेतासँग आक्रोशित भएका छन् । उनीहरूको आक्रोश सभापति सुशील कोइराला सहमति तोडेर प्रधानमन्त्रीको चुनाव लडेर हार्नुप्रति लक्षित थियो ।
 
अहिले कांग्रेस पार्टीको घर भुइँचालोले भत्केको बोर्लाङ गाविसका पार्टी सभापति दुर्गाप्रसाद रेग्मी बताउँछन् । ‘गाउँमा वैशाख १२ गते भुइँचालो गयो, कांग्रेस पार्टीमा अहिले भुइँचालो गयो । अहिले हाम्रो पार्टीको घर भत्केको छ । अब हामी कहाँ जाने ? ’ रेग्मी भन्छन्, ‘सभापति सुशील कोइरालाले सहमति तोडेर चुनावमा उठ्नै हुँदैनथ्यो । गाउँमा बेइज्जत भएको छ ।
 
सर्वसाधारणको चित्त कसरी बुझाउने, आफ्नो चित्त कसरी बुझाउने ? सबैले तिम्रो पार्टी यस्तो र त्यस्तो भन्छन् । नानाथरी कुरा सोध्छन् । के जबाफ दिने ? कार्यकर्तालाई कसरी समाल्ने हामीले ? ’ अरू पार्टीले पनि गिज्याएको र आफ्नै तल्लो तहका कार्यकर्ताले आक्रोश पोख्ने गरेको उनले गुनासो गरे ।
 
भारतले नाकाबन्दी गरेर नेपालीलाई अत्याइरहेका बेला सबै नेता मिलेर संकटको सामना गर्नुपर्ने बेला अदृश्य शक्तिको इशारामा सभापति कोइरालाले सहमति तोडी चुनाव लडेर पार्टीलाई हराएको ताप्ले गाविसका सभापति खिलबहादुर थापाले बताए ।
 
‘नेताको मतिभ्रष्ट भएपछि गाउँका जनताको चित्त हामीले कसरी बुझाउने ? ’ थापाले भने, ‘जनताको चाहनाविपरीत, पार्टी कार्यकर्ताको भावनाविपरीत काम गरेर सभापतिले पार्टीको बदनाम गरे ।’
 
सभापति कोइरालाले चुनाव लडेपछि गाउँमा जहाँतहीं कांग्रेसको विरोधमा आवाज उठेको अ श्राङ गाउँ पार्टी सभापति भीमबहादुर थापाको भनाइ छ । ‘आफैंले गरेका हुन् कि अरूले अराएर गरेका हुन्, सभापतिले किन देश र जनताको हितविपरीत काम गरेका ? ’ थापाले भने, ‘एउटा सहमति भएको भए यस्तो सहमति छ, सहमतिअनुसार चल्नुपर्छ भन्नुपथ्र्यो । 
 
दोस्रो, चुनाव लड्नैपर्ने भए आफैं किन लडेका ? अरू पनि थिए नि ? चुनाव लडिसकेपछि जित्नुपथ्र्यो ।’ पार्टीलाई नै पत्तासाफ गराउने खेल भएको हुनसक्ने तर्क उनले गरे ।
 
अहिलेसम्म सबैको मत र माया पाएको भए पनि सभापति कोइरालाको अहिलेको कदमले पार्टी बदनाम भएको बगुवाका सीताराम भट्टले बताए ।
 
संकट परेका बेला सहमतिमा समाधान खोज्नुपर्ने समयमा जानाजान हार्ने चुनाव लडेर सभापति कोइरालाले आफ्नो र कांग्रेसको पनि बेइज्जत गरेको उनको भनाइ छ । अ श्राङ गाउँ पार्टीका पूर्वउपसभापति मेघनाथ पाण्डेले पनि अहिले जनस्तरमा उब्जिएको कांग्रेसप्रतिको वितृष्णाको चित्त बुझाउनै नसकेको गुनासो गरे ।
 
यो क्षतिपूर्ति गर्न पार्टीका केन्द्रीय नेता तत्काल जिल्ला र गाउँमा जानुपर्ने सुझाव उनले दिए । अर्का पूर्वसभापति लोकप्रसाद भन्तनाले भने प्रतिपक्षमा बस्ने कांग्रेसको यो कदम बहुदलीय परिपाटीअनुसारै भएको भन्दै कोइरालाको कदमको स्वागत गरे ।
अन्नपूर्ण
अ श्राङ २ सल्लाघारीमा भेला भएका ज्येष्ठ कांग्रेस कार्यकर्ता ।