Taja Samachar Nepal

Taja Samachar Nepal
News

Saturday, October 10, 2015

झुण्डिएको अवस्थामा भेटिएकी सरिताको हत्या भएको आशंका

ललितपुर । ललितपुरको ठूलादुर्लुङ गाविस स्थित बालुवाडाँडाकी सरिता तिमल्सिना (घिमिरे) को आत्महत्या नभइ हत्या भएको आशंका उनका माइती पक्ष र सरोकारवालहरुले गरेको छ ।
गत १७ गते आईतबार बिहान झुन्डिएको अवस्थामा फेला परेकी साढे चार महिनाकी गर्भवती तिमल्सिनाकोे मृत्यु रहस्यमय भएको भन्दै परिवारले आशङ्का गरेपछि उनका श्रीमान उपेन्द्र घिमिरेलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मृतकको शव पोष्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा लगिएको र अस्पतालले दिएको पोष्टमर्टमको रिपोर्टमा सत्यता नभएको भन्दै उनका माइती पक्ष र सरोकारवालहरुले भोली असोज २४ गते आइतवार राष्ट्रिय मानव अधिकार आयोगमा ज्ञापन पत्र बुझाउने तयारी गरेका छन् । माइती पक्षले गरेको दावी अनुसार मृतक सरितालाई तातो पानी खन्याएर हत्या गरी रुखमा लगेर झुण्ड्याइएको हो भन्ने छ । मृतकको शरिर भरी निलडाम रहेको तस्वीरहरु समेत उनीहरुले रेकर्डमा देखाएका छन् ।
कक्षा ९ मा पढ्दै गरेकी सरिता तिमल्सिनासंग ७ महिना अघि उपेन्द्र घिमिरेले आफूखुशी विवाह गरेका थिए । १९ वर्षीया तिमल्सिनालाई आईतवार घर नजिकै पाखामा रुखमा झुण्ड्याइएको अवस्थामा फेला पारिएको थियो।
suicideमृतकका फुपुका छोरा राजन प्रसाद बञ्जराले आफ्नी बहिनीको हत्या भएको हुनसक्ने बताउनुभयो। ‘बहिनीको शरीर भरी पोलेको फोकाहरू छन, छाला पुरै खुइलिएको छ । हामीले त्यसको पनि मेडिकल रिपोर्ट मागेका छौ। मृतकको घाँटीमा पनि एउटा डोरीको निसाना पहिले नै थियो र पछि झुन्डिएको डोरीको निसाना अर्कै छ’ बन्जाराले भन्नुभयो। ‘एउटा डोरीले पासो लाएको भए दुइ ओटाको निशाना कसरी आयो ?’ उहाँ भन्नुहुन्छ।
बन्जाराले बहिनीको आधा शरीर भुईमा लत्रिएको भन्दै बसेर घाँटीमा डोरी लगाएजस्तो देखिएको बताउनुभयो। यी कुराले बहिनीले आत्महत्या गरेका भनेर पत्याउन नसकिने उहाँको भनाइ छ । डाक्टरले पनि प्रहरीको मुचुल्काको फोटोकपी, घट्नास्थलको फोटो अनि बहिनीको मोवाइलमा गएको म्यासेज मागेको बन्जाराले बताउनुभयो । अहिले प्रहरीले किटानी जाहेरी दर्ता गर्न नमानेकाले पोष्टमार्टम रिपोर्ट आएपछि पुन दर्ता गर्ने तयारीमा माइती पक्ष रहेको छ।