Taja Samachar Nepal

Taja Samachar Nepal
News

Friday, August 28, 2015

आज देशभर जनै पूर्णिमा मनाउँदै

काठमाडौं, भदौ १२ । शनिबार (आज) हिन्दू धर्मावलम्बीहरुले देशभर जनै पूर्णिमा अर्थात ऋषि तर्पणी पर्व मनाउँदैछन् ।
जनै लगाउनेहरुले ऋषिको सम्झना गर्दै जलाशय तथा धारामा गई माटो, गोबर, कुश, खरानी, अपमार्गले स्नान गरी विशेष मन्त्रबाट मन्त्रिएको जनै लगाउने गर्छन् ।
यस्तै सुरक्षाको लागिभन्दै नाडीमा मन्त्रिएको डोरो बाँधी रक्षाबन्धन पनि गरिन्छ । आज बाँधिएको डोरो गाई तिहारका दिन गाईका पुच्छरमा बाँधेमा मृत्युपछिको वैतरणी पार भइन्छ भन्ने जनविश्वास छ ।
यस्तै वर्षाभरको हिलोपानीमा चलेर गर्मीसर्दीले प्रभावित असरमा फेरि ऊर्जा ल्याउन भन्दै आज नौ जातका अंकुरित गेडागुडी मिसाएर पकाएको पौष्टिकतत्वयुक्त क्वाँटी खाने गरिन्छ ।
उता, रसुवाको धार्मिक तथा पबित्र तिर्थस्थल गोसाईकुण्डमा जनै पूर्णिमाको अवसरमा मेला लागेको छ ।
भगवान् शिवको वासस्थानको रूपमा हिमालयको काखमा रहेको यस गोसाइँकुण्डमा स्नान गर्नाले गरेका पापबाट मुक्ति मिल्ने तथा मनले चिताएको पूरा हुने जनविश्वास रही आएको छ ।
मेला भर्न देशका बिभिन्न स्थानको साथै बिदेशबाट समेत भक्तजनहरु गोसाईकुण्ड पुगेका छन् । अघिल्लो बर्षहरुको तुलनामा यस बर्ष यहाँ पुग्ने भक्तजनको संख्या भने निकै कम रहेको छ ।
भाद्र शुक्ल एकादशीदेखि सुरु भएको जनै पूर्णिमा मेला आजसम्म लाग्दछ । यस बर्ष गएको भूकम्पका कारण भक्तजनको उपस्थिति न्युन देखिएको हो । मेलाको व्यवस्थापनमा नेपाली सेना, नेपाल रेडक्रस सोसाईटी, नेपाल प्रहरी र स्काउट खटिएका छन् ।
गोसाईकुण्ड समुन्द्रीसतहदेखि चार हजार तीन सय ८० मिटरको उचाईमा रहेको छ भने यसको लम्बाई ६ सय मिटर छ भने चौडाई ३ सय ७० मिटर रहेको छ ।
त्यस्तै भाइ र बहिनीको प्रेम प्रतीकको रुपमा मनाइने रक्षा बन्धन पर्व र र जनै पूर्णिमा आज मिथिलाअञ्चल क्षेत्रमा पनि धूमधामका साथ मनाइंदै छ ।
जनकपुरको जानकी मन्दिर, राममन्दिरमा पूजापाठ गर्न श्रद्धालु भक्तजनको भीड लागेको छ । रक्षा बन्धनको अवसरमा दिदी बहिनहरुले आफ्ना दाजु भाइहरुलाई राखी बानी रक्षा बन्धन पर्व मनाइंदैछ ।
उता, पुर्बको गोसाईकुण्ड भनेर चिनिने संखुवासभाको प्रसिद्ध धार्मिक तिर्थस्थल सभापोखरीमा पनि भक्तजनको घुईचो लागेको छ ।
म्याग्दीको नागी वाराही र शिखको खयरवाराही मन्दिरमा पनि जनैपूर्णिमाको अवसरमा मेला लागेको छ ।