Taja Samachar Nepal

Taja Samachar Nepal
News

Monday, January 25, 2016

जाजरकोटमा सुन खोज्ने चिनियाँलाई प्रशासनमा उपस्थित हुन आदेश


माघ ११, २०७२- जाजरकोटस्थित भेरी नदिको किनारमा सुनको संभाव्यता अध्ययन गर्ने भन्दै ‘ड्रिल’ गरिरहेको चिनियाँ कम्पनीलाई स्थानीय प्रशासनले उपस्थित हुन आदेश दिएको छ ।
चिनियाँ कम्पनीलाई आवश्यक कागजातसहित प्रशासनमा उपस्थित हुन प्रहरीमार्फत खबर पठाएको सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद सेढार्इंले बताए ।

धर्मश्री माइन नामक चिनियाँ कम्पनीले भेरीमालिका नगरपालिका–४ धल्ला र ५ मटेलामा सुन खानीको संभाव्यता अध्ययनका लागि उत्खनन् गरिरहेको छ । चिनियाँ नागरिक सङपिङको टोलीले एक महिनादेखि नगरपालिकाको उक्त दुई स्थानमा उत्खनन्को काम गरिरहेको हो । बगरको जमिनमुनि मेसिनद्वारा ड्रिल गरेर नमूना निकालि अध्ययन गरिरहेको सङपिङले बताए ।

१ सय ५० फिट गहिरो ड्रिल गरेर अनुसन्धान गर्दासम्म सुनको संभावना भने नभेटिएको उनले बताए ।
खानी तथा भूगर्भ विभागबाट सुन खानीको अध्ययन तथा अनुसन्धानको अनुमति लिएको बताउने उक्त कम्पनीले निरन्तर काम गरिरहेको छ । खानी तथा भूगर्भ विभागसँग भेरी नदीका विभिन्न ठाउँमा सुन पाईएको तथ्यांक रहेकोले कम्पनीले चासोका साथ अध्ययन गरेको हो ।
संभाब्यता अध्ययन अनुसन्धानमा सरकारी पक्षको उपस्थिति नहुँदा स्थानीय आशंकित छन् । स्थानीयले भने कम्पनीले स्थानीय प्रशासन तथा जिल्ला वन र वन उपभोक्ता समूहबाट अनुमति नलिएको बताएका छन् । उत्खनन् क्षेत्रमा कम्पनी टोली बाहेक अन्यलाई प्रवेशमा रोक लगाएको स्थानीय कर्णजंग शाहीले बताए ।

अझै तीन महिना अनुसन्धान जारी रहने सङपिङले बताए । उत्खनन्का लागि थप सामग्री ओसारपसार गर्न कम्पनीले आफ्नै खर्चमा २ किलोमिटर मोटरबाटो समेत निर्माण गरेको छ । जमिनको सतहमुनि भेटिएका विभिन्न चट्टान तथा अन्य खनिज पदार्थको नमूना थप अनुसन्धानका लागि कम्पनीको केन्द्रिय कार्यालयमा पठाउने गरेको पनि उनले बताए । यस अघि यो कम्पनीले दाङमा समेत सुनखानीको अध्ययन गरेको थियो ।