Taja Samachar Nepal

Taja Samachar Nepal
News

Friday, September 11, 2015

तनहुँमा प्रहरीले गोली चलाउदा एकको मृत्यु : नौ घाइते

तनहुँ, २६ भदौ / पूर्णबहादुर आलेको मृत्युको अनुसन्धान गर्न माग गर्दै आन्दोलनमा उत्रिएका आन्दोलनकारी र प्रहरीबीच शुक्रबार साँझ यहाँ झडप हुँदा एक जनाको मृत्यु भएको छ । उक्त घटनामा परी नौ प्रहरी र तीन आन्दोलनकारी गरी १२ जना घाइते भएका छन् ।प्रहरीको गोली लागी व्यासनगरपालिका वडा नं १ भादगाउँ निवासी १८ वर्षीय रोशन दुराको मृत्यु भएको हो । गोली लागी सख्त घाइते भएका दुराको पोखरास्थित मणिपाल अस्पतालमा उपचारका क्रममा गएराति मृत्यु भएको हो ।
दुईपक्षीय भिडन्तमा परी प्रहरी नायब निरीक्षक राजेन्द्रप्रसाद वाग्ले, प्रहरी सहायक निरीक्षक मानबहादुर थापा, रमेश खरेल र कृष्ण परियार, प्रहरी हवल्दार सुशील भण्डारी, हरिबहादुर कुमाल र प्रहरी जवानतर्फ चन्द्रबहादुर प्रजा, सुनिल गुरुङ र सन्तबहादुर कुँवर घाइते भएका छन् ।त्यसैगरी आन्दोलनकारीतर्फ व्यासनगरपालिका– ११ निवासी किरण गुरुङ सख्त घाइते भएकाले उपचारका लागि पोखरा पठाएको छ भने एक शिशुको उपचारपछि घर फर्काएको छ । आन्दोलनकारीलाई शव बुझेर परीक्षण गर्न आग्रह गरेका छौँ प्रमुख जिल्ला अधिकारी महादेव पन्थले भन्नुभयो– “भीडलाई उत्तेजित नगर्न र शान्त वातावरण सिर्जना गर्न सुरक्षा निकायबीच छलफल भइरहेको छ ।”उहाँले भन्नुभयो–“आज बिहानैदेखि सर्वपक्षीय छलफल भइरहेको छ पीडितको मागप्रति प्रहरी प्रशासन संवेदनशील रहेकाले आन्दोलनको नाउँमा उग्र रुप नलिनसमेत आग्रह गरिएको छ ।
व्यासनगरपालिका वडा नं ७ मानुड घर भई हाल व्यास– १ मा दिदीसँग बसेर दमौलीस्थित महर्षि वेदव्यास संस्कृत माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत १६ वर्षीय आलेको गत आइतबार मृत अवस्थामा भेटिएपछि हत्या गरिएको भन्दै ६ दिनदेखि निरन्तर रुपमा आन्दोलन गर्दै आएका छन् ।
आलेको हत्याको आरोपमा प्रहरीले दुई युवती र एक युवकलाई अनुसन्धानका लागि पक्राउ गरिसकेको र थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक प्रेमशङ्कर चौधरीले बताउनुभयो । शङ्कास्पद अवस्थामा मृत भेटिएका आलेको विषयलाई लिएर चर्किएको आन्दोलनका क्रममा शुक्रबार दमौलीस्थित सेतीमादी दैनिकको कार्यालयमा भएको ढुङ्गा प्रहारबाट कार्यालयका झ्यालका सिसाहरु फुटेको छ ।