Taja Samachar Nepal

Taja Samachar Nepal
News

Saturday, October 17, 2015

पूर्व चल्ने गाडीका सिसा हरेक दिन यसरी फुटाइन्छ

विराटनगर : विराटनगरदेखि काठमाडौंसम्म सञ्चालन हुँदै आएको विराट डिलक्सका चालक कृष्ण कँडेलले टाउकोमा हेल्मेट लगाएर गाडी कुदाउन थालेको १३ दिन भइसक्यो ।
 
विराटनगरबाट काठमाडौं र काठमाडौंबाट विराटनगरसम्म गाडी चलाउँदै आएका उनी आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले राजमार्गमा सञ्चालन हुने सवारीसाधनलाई लक्षित गरेर आक्रमण गर्न थालेपछि टाउको सुरक्षित गर्न उनी हेल्मेट लगाउँछन् ।
 
दसैंमा आउजाउ गर्ने यात्रुको सुविधाका लागि प्रहरी सुरक्षाभित्र सवारीसाधन सञ्चालन गर्न यातायात व्यवसायी तायर भएपछि १३ दिनदेखि लामो दूरीका सवारीसाधनलाई प्रहरीले स्कर्टिङ गरेर गन्तव्यसम्म पुयाउने काम गरिरहेको छ। कँडेलले चलाउने गाडीका सिसा कयौंपटक आन्दोलनकारीको ढुंगा लागेर फुटेका छन् ।
 
 
‘प्रहरीले गाडीको स्कर्टिङ गर्छ । हामी प्रहरी स्कर्टिङभित्रै गाडी चलाइरहेका हुन्छौं’, उनले भने, ‘रातको समयमा आन्दोलनकारीले लुकेर कहाँबाट ढुंगा हान्छन् भन्ने थाहै हुँदैन । त्यसले लागेर गाडीका सबै सिसा फुटिसके।’ गाडीका सबै सिसा फुटिसक्दा पनि सिसाको ठाउँमा प्लास्टिक लगाएर गाडी कुदाउनु परिरहेको उनको भनाइ छ । कँडेलले रात्रीबस कुदाउने चालक, गाडीदेखि लिएर यात्रुसमेत प्रहरी स्कर्टिङभित्रै असुरक्षित हुने गरेको सुनाए । ‘ज्यान जोखिममा राखेर गाडी कुदाउने गरिन्छ’, उनले भने, ‘मरिन्छ कि बाँचिन्छ, टुंगो हुँदैन ।’
 
विराटनगरबाट काठमाडौं गइरहेको ना ४ ख ३३४३ नम्बरको जगदम्बा ट्राभल्सका सहायक खेम पौडेललाई पाँच दिनअगाडि सप्तरीको भारदहमा गाडीभित्रै ढुंगाले लाग्यो । प्रहरी स्कर्टिङमा कुदिरहेको गाडीभित्र चालकको नजिकै बसिरहेका उनको तिघ्रामा एक्कासि ढुंगा लाग्दा चोट लाग्यो ।
 
पौडेलका अनुसार ढुंगाले लागेर गाडीको सिसै फुट्यो । उनले रातको समयमा काठमाडौं–विराटनगर सञ्चालन हुने प्रायः गाडीका अगाडि तथा साइडका सिसा आन्दोलनकारीले प्रहार गरेको ढुंगा लागेर फुटेको बताए। ‘रातको समयमा कुद्ने कुनै पनि गाडीका सिसा नफुटेका छैनन्’, उनले भने, ‘प्रायः सबै गाडीका सिसा फुटेका छन् ।’

उनका अनुसार सप्तरीको भारदहदेखि सिराहाको मिर्चैयासम्म आन्दोलनकारीले रातको समयमा सवारीसाधनलाई लक्षित गरेर ढुंगा हान्छन् । उनले सुनसरीको दुहबीमा पनि आन्दोलनकारीको निशानामा सवारीसाधन पर्ने गरेको जानकारी दिए ।
 
‘रातको समयमा लुकेर बसेकाले गाडीलाई गुलेली प्रयोग गर्दै ढुंगा हान्ने गर्छन्’, पौडेलले भने, ‘गाडीको ताँती हुने भएकाले कुन ठाउँबाट ढुंगा हानिएको हो भन्ने प्रहरीले ठम्याउन पनि सक्दैन ।’पूर्व नेपाल यातायात व्यवसायी संघ विराटनगरका शाखा प्रमुख किशोर धमलाले रातको समयमा सञ्चालन हुने सबै गाडीका चालकलाई हेल्मेट लगाउन भनिएको बताए ।

उनले गाडीका चालक र अन्य कर्मचारीले यात्रुलाई सुनसरीको इनरुवादेखि महोत्तरीको बर्दिबाससम्म नसुत्न र गाडीको झ्यालको सिसामा टाउको नअड्याउन सचेत गराउने गरेको बताए । ‘गाडीमा यात्रा गर्ने यात्रुदेखि लिएर चालकसम्म असुरक्षित छन्’, धमलाले भने, ‘गाडीमा चढ्नेहरूले सुरक्षित हुने उपाय आफैं निकाल्नुपर्ने अवस्था आएको छ ।’
 
पूर्व नेपाल यातायात व्यवसायी संघका अध्यक्ष राजन कँडेलले विराटनगरबाट पश्चिमतर्फ सञ्चालन हुने रात्री गाडी कुनै पनि सग्लो फिर्ता नहुने गरेको सुनाए । कँडेलले एउटा गाडीका सिसा फुट्दा १५ देखि २० हजार रुपैयाँबराबरको क्षति हुने गरेको जानकारी दिए ।
 
यातायात व्यवसायीका अनुसार विराटनगरबाट काठमाडौंका लागि दैनिक २० देखि ३० वटा गाडी प्रहरी स्कर्टिङमा चल्ने गरेका छन् । काठमाडौं आउजाउ गर्ने सबै गाडीका सिसा फुटेका छन् । प्रहरीले एकपटकमा तीनदेखि चार सय गाडीको स्कर्टिङ गर्छ । कँडेलले प्रहरी स्कर्टिङमा ८० देखि ९० को स्पिडमा गाडी चलाउनुपर्ने बाध्यता रहेका कारण कुनै समस्या परेर ब्रेक लगाउनुपरेमा अर्को दुर्घटना निम्तिनसक्ने सम्भावना रहेको पनि बताए ।
 
पूर्वक्षेत्रीय प्रहरी प्रमुख डीआईजी माधवप्रसाद जोशीले प्रहरीले चनाखो भएर रात्री गाडीको स्कर्टिङ गरिरहेको जानकारी दिए । ‘ठूलो संख्यामा रहेका गाडीको स्कर्टिङ एकैपटक गर्नुपर्ने हुन्छ । केही गाडीमा आन्दोलनकारीका नाममा ढुंगा प्रहार हुनु सामान्य कुरा हो’, जोशीले भने, ‘प्रहरीले स्कर्टिङ गरेका कारण आन्दोलनकारीले गाडी तोडफोड र चालकलाई कुटपिट गर्न पाएका छैनन् ।

लुकेर गर्ने गतिविधिबाहेक अन्य अवरोध गर्ने सम्भावना हुँदैन ।’ डीआईजी जोशीले बढी स्पिडमा कुदिरहेको गाडीमा लुकेर गरिएको ढुंगा प्रहारलाई प्रहरीले ठम्याउन पनि नसक्ने बताए ।