Taja Samachar Nepal

Taja Samachar Nepal
News

Saturday, October 17, 2015

तेस्रो मुलुकबाट आएका सात हजार कन्टेनर भारतले रोक्यो

           काठमाडौं, १ कात्तिक भारतले नेपालमाथि लगाएको अघोषित नाकाबन्दीका कारण तेस्रो मुलुकबाट कोलकाता हुँदै ल्याइएका सामान रहेको ६ हजार ९ सय कन्टेनर भारतीय भूमिमा रोकिएका छन् । यीमध्ये कोलकाता बन्दरगाहमा २ हजार ४ सय कन्टेनर रोकेर राखिएका छन् भने बाँकी भारतीय भन्सार नाका र बाटोमा अड्किएका छन् । रोकिएका कन्टेनरको विलम्ब शुल्क मात्रै दैनिक अढाइ करोड रुपैयाँ तिर्नुपर्ने अवस्था रहेको कोलकातास्थित नेपाली महावाणिज्यदूत चन्द्रकुमार घिमिरेले जानकारी दिए । घिमिरेका अनुसार कोलकातामा पर्खेर बसेकाबाहेक तेस्रो मुलुकबाट आएर भारतमा अड्किएका कन्टेनरको संख्या मात्रै ३ हजार १ सय ५० रहेको छ । ‘नेपाल–भारत ६ वटा भन्सार नाकामा यी कन्टेनर रोकिएका छन्,’ महावाणिज्यदूत घिमिरेले कोलकाताबाट नयाँ पत्रिकासँग टेलिफोनमा भने । जसअनुसार सबैभन्दा बढी रक्सौलमा मात्रै तेस्रो मुलुकबाट आएका २ हजार ५ सय कन्टेनर रोकिएका छन् । पूर्वका काँकडभिट्टा र नेपालगन्ज नाकामा कन्टेनर रोकिएका छैनन् भने नौतुनवा नाकामा डेढ सय र जोगबनी नाकामा ५ सय कन्टेनर रोकिएका छन् । यीमध्ये कोलकाताबाट नेपालतर्फ प्रस्थान हुन पर्खेर रहेका १ हजार कन्टेनर छन् । ‘कोलकाताबाट नेपालतर्फ करिब ३ सय ५० कन्टेनर प्रस्थान गरेका छन्, तिनीहरू बाटामै छन्, भन्सारमा अवरोधका कारण रोकिने अवस्था छ,’ घिमिरे भने । घिमिरेका अनुसार करिब ८५ हजार मेट्रिकटन मल तथा आइरन, तेललगायत धेरै सामग्री भारतमा रोकिएका छन् । भन्सार, बन्दरगाह र ट्रान्सपोर्टरलाई बेग्लाबेग्लै विलम्ब शुल्क तिर्दा दैनिक करिब अढाइ करोड रुपैयाँ पर्न आउने उनले बताए । ‘हामीले सम्बद्ध नेपाली र भारतीय सरोकारवालालाई महावाणिज्य दूतावासमा बोलाएर शुक्रबार छलफल गर्‍यौँ र नेपालको परिस्थिति जानकारी दिएर विलम्ब शुल्क मिनाहा गरिदिन आग्रह गरेका छौँ,’ घिमिरेले भने, ‘उनीहरूले सकारात्मक छौँ भनेका छन्, सायद केही दिनभित्रै सकारात्मक जवाफ दिनेछन् ।’ 
तेस्रो मुलुकबाट आएका सात हजार कन्टेनर भारतले रोक्यो