Taja Samachar Nepal

Taja Samachar Nepal
News

Saturday, October 24, 2015

मालद्वीपका उपराष्ट्रपति मालद्वीपकै राष्ट्रपतिको हत्या प्रयास गरेको आरोपमा पक्राउ

मालद्वीपमा राष्ट्रपतिको हत्या योजनाको आरोपमा उपराष्ट्रपति पक्राउ
माले, ८ कात्तिक । मालद्वीपका उपराष्ट्रपति अहमद अधीबलाई उहाँले मालद्वीपकै राष्ट्रपतिको हत्या प्रयास गरेको आरोपमा पक्राउ गरिएको समाचार छ ।
प्राप्त समाचारअनुसार गत महिना मालद्वीपका राष्ट्रपति अब्दुल्लाह यामिनको हत्या प्रयास भएको थियो । सो प्रयासबाट उहाँ बच्न सफल हुनुभएको थियो ।
राष्ट्रपति यामिन चढेको डुङ्गामा बम विस्फोट भएको बताइएको थियो । सो विस्फोटमा परी उहाँलाई केही नभएको र उहाँका अङ्गरक्षक र मालद्वीपकी प्रथम महिला सामान्य रूपमा मात्र घाइते हुनुभएको थियो ।
मालद्वीपका गृहमन्त्री उमर नसिरले भन्नुभयो– उपराष्ट्रपति अधीबलाई नियन्त्रणमा लिइएको छ र उहाँलाई हिरासतमा राखिएको छ ।
उहाँलाई हिरासतमा राखिएको जानकारी मालद्वीपका गृहमन्त्री नसिरले आफ्नो ट्वीटर अकाउन्टमार्फत शनिबार जानकारी गराउनभुएको हो । उहाँलाई शनिबारै पक्राउ गरिएकोे हो ।
उहाँ सिङ्गापुरबाट स्वदेश फर्किनासाथै मालद्वीप अन्तर्राष्ट्रिय बिमानस्थलबाट पक्राउ गरिएको बताइएको छ । उपराष्ट्रपति अधीब ३३ वर्षका हुनुहुन्छ ।
राष्ट्रपति यामिन चढेको डुङ्गामा भएको सो विस्फोटको बारेमा प्रहरीले महिना दिनसम्म अनुसन्धान गरेको र सो अनुसन्धानका क्रममा उहाँको सम्लग्नता रहेका प्रमाणहरू भेटेको प्रहरीले जनाएको छ ।
उहाँलाई अदालतकै आदेशअनुसार देशद्रोहको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।