Taja Samachar Nepal

Taja Samachar Nepal
News

Monday, September 21, 2015

नयाँ सरकार गठनमा ‘केही ढिलाइ’ हुने

प्रधानमन्त्री सुशील कोइराला उनको बुधबार सुरु हुने १० दिने अमेरिका भ्रमण सकेर स्वदेश फर्किएपछि मात्रै नयाँ सरकार गठन हुने प्रमुख दलहरुले बताएका छन्।
नयाँ संविधान प्रारम्भ भएको मितिले सात दिनभित्र संसदको अधिवेशन राष्ट्रपतिले आह्वान गर्ने र त्यसको सात दिनभित्रै प्रधानमन्त्री चयन गर्ने संक्रमणकालीन व्यवस्था रहेकाले प्रमुख दलहरुसंग अब नयाँ सत्तासमीकरणका लागि दुई साताको समय छ।
राष्ट्रसंघीय महासभामा भाग लिने र त्यहीबेला स्वास्थ्य उपचार गर्न प्रधानमन्त्री कोइरालाले तय गरेको यात्रा योजनाले सरकार गठनलाई केही पछाडि धकेलेको देखिन्छ।

भावी प्रधानमन्त्री

तथापि संविधान जारी भएलगत्तै राजीनामा दिने प्रतिवद्धता जनाएका कोइराला अन्य प्रमुख दुई दलकै सहमतिमा अमेरिका जान लागेको नेताहरुले बताएका छन्।
कांग्रेस उपसभापति रामचन्द्र पौडेल­ले भने, “उहाँ आफै प्रतिवद्ध हो, कांग्रेसले त छोड्ने-नछोड्ने निर्णय गरेको होइन। कस्तो सरकार बन्छ उहाँ फर्केपछि मात्र स्पष्ट हुनेछ।”

१६ बुँदे सहमति र त्यसपछि संविधान निर्माण गर्न एकतावद्ध प्रमुख तीन दलबीच प्रधानमन्त्री, राष्ट्रपति र सभामुख पद बाँडफाँड गर्ने भद्र सहमति भएको ती पार्टीका नेताहरु बताउने गर्छन्।
देशले नयाँ संविधान पाएसंगै अब सत्ता समीकरणमा दलहरुको ध्यान केन्द्रित हुने आँकलनमाझ कतिपयले एमाले अध्यक्ष केपी ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा चित्रण गर्न थालिसकेका छन्।

प्रमुख नेताहरु



अधिवेशन चलिरहेको भए सात दिनभित्र नयाँ प्रधानमन्त्री चयन हुनुपर्ने थियो ।
एमाले सचिव प्रदीप ज्ञवाली भन्छन्, “सवैको निम्ति अहिले मुख्य दलहरुबीच जुन सहकार्य छ, त्यसलाई निरन्तरता दिनु जरुरी छ। सरकारको विषय खास विवादको विषय बन्ला या विगतका सहमति भन्दा दाँया-बाँया लाग्ने स्थिति बन्ला भन्ने मलाई लाग्दैन।”
तर संविधान जारी हुनु अघिल्लो दिन नै संसदको चालू वर्षे अधिवेशन समाप्त भएकोले अब एक हप्ताभित्र नयाँ संवैधानिक व्यवस्था अनुरुप राष्ट्रपतिले संसदको अधिवेशन आह्वान गर्नेछन्।
नयाँ संविधान अनुसार राष्ट्रपति-उपराष्ट्रपति, संसद अधिवेशन आह्वान भएको मितिले एकमहिनाभित्र र सभामुख-उपसभामुख २० दिनभित्र चयन गरिसक्नु पर्नेछ।