Taja Samachar Nepal

Taja Samachar Nepal
News

Thursday, September 24, 2015

मोर्चाका कार्यकर्तालाई भन्सारबाट हटाउँदा गोली चल्यो

वीरगन्ज : नेपाल–भारतको दशगजा क्षेत्रमा धर्ना बसेर नाका ठप्प पारेका मधेसी दलका नेता कार्यकर्तालाई प्रहरीले बल प्रयोग गरेर हटाएको छ ।

वीरगन्ज–रक्सौलबीचमा रहेको मितेरी पुलस्थित दशगजा क्षेत्रमा बिहीबार बिहान १० बजेदेखि धर्ना बसी नाका ठप्प पारेका मधेसी दलका नेता कार्यकर्तालाई प्रहरीले दिउँसो २ बजे बल प्रयोग गरेर तितरबितर पारेको हो ।

मितेरी पुलको दशगजा क्षेत्रमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र संघीय समावेशी मधेसी मोर्चाका नेता कार्यकर्ताहरुले छुटटाछुटटै धर्ना दिइ नाका ठप्प पारेका थिए ।
धर्नामा बसेकालाई प्रहरीले शुरुमा उठन आग्रह गरेको थियो । तर, उनीहरुले नमानेपछि प्रहरीले भ्यानमा हाल्न खोज्दा झडप शुरु भएको थियो ।झडपका क्रममा प्रहरीले एक राउण्ड हवाइ फायर र चार राउण्ड अश्रु ग्यास प्रहार गरेको छ ।प्रदर्शनकारीहरुले ढुंगामुढा प्रहार गरेपछि हवाइ फायर र अश्रुग्यास प्रहार गर्नुपरेको पर्साका प्रहरी नायव उपरीक्षक होमेन्द्र बोगटीले बताए ।

प्रहरीले धर्नामा बल प्रयोग गरेर हस्तक्षेप गरेपछि मधेसी दलका नेता कार्यकर्ताहरु तितरबतिर भएका छन् ।करिब पाँचको संख्यामा रहेका प्रदर्शनकारी अहिले भारततर्फको पुल क्षेत्रतिर छन् भने प्रहरी नेपाल तर्फको पुल क्षेत्रमा छन् ।पुल पारीको भारतीय भन्सारक्षेत्रमा भारतीय सीमा सुरक्षा बल एसएसबी पनि ठूलो संख्यामा परिचालन भएको छ ।दशगजा क्षेत्र अहिले पनि तनावग्रस्त छ । दुवै मोर्चाले  वीरगन्ज–रक्सौल नाकामा रहेको मितेरी पुलस्थित दशगजाक्षेत्रमा बिहीबार बिहान १० बजे देखि धर्ना दिएर नाका ठप्प पारेका थिए ।
बुधबार सप्तरीको राजविराजमा बसेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठकले आमहड्ताल जारी राख्ने निर्णय गरेको थियो ।
बैठकले नेपाल भारतको नाका ठप्प पार्ने निर्णय गरेअनुसार बिहानदेखि मधेसी दलका नेता कार्यकर्ताहरुले वीरगन्ज–रक्सौल नाकाको दशगजा क्षेत्रमा धर्ना दिएर नाका ठप्प पारेका हुन् ।