Taja Samachar Nepal

Taja Samachar Nepal
News

Thursday, September 24, 2015

बर्दियामा यातायात व्यवसायीले बन्दको अवज्ञा गर्दै यातायात सञ्चालन

बर्दिया, ७ असोज / बन्दको अवज्ञा गर्दै बर्दियामा यातायात व्यवसायीले यातायात सञ्चालन गरेका छन् । झन्डै डेढ महिनादेखि यातायात सञ्चालनमा नआएपछि यातायात व्यवसायी मर्कामा परेको भन्दै यातायात सञ्चालन गरिएको कृष्णसार यातायात व्यवसायी समिति बर्दियाका अध्यक्ष शम्भु रिजालले जानकारी दिनुभयो ।
बन्द खुलाउन प्रशासनले पहल नगरेको भन्दै बर्दियाका यातायात व्यवसायीले बन्दको अवज्ञा गर्दै विज्ञप्ति जारी गरेर मङ्गलबार बेलुकादेखि सदरमुकाम गुलरियादेखि छुट्ने लामो तथा छोटो दूरीका सवारी साधन सञ्चालनमा ल्याएका हुन् । बैंकबाट कर्जा लिएर यातायात सञ्चालन गर्दै आएका यातायात व्यवसायी मर्कामा परेको भन्दै बाध्यताले बन्दको अवज्ञा गर्दै यातायात सञ्चालन गरेको रिजालले बताउनुभयो ।
कृष्णसार यातायात व्यवसायीसँग लामो दूरीका २४ बससहित १५० वटा सवारी साधन रहेकामा ४४ दिनको बन्दका कारण झन्डै छ करोड बराबर घाटा भएको विज्ञप्तिमा उल्लेख छ । मङ्गलबारदेखि सदरमुकाम गुलरियाबाट सवारी साधन नेपालगन्जसहित पूर्व क्षेत्रमा जान थालेका छन् ।
बुधबार बिहानैदेखि सदरमुकामबाट पूर्वतर्फ लामो तथा छोटो दूरीका सवारी साधन चलेका छन् । आइतबार बेलुकादेखि सदरमुकामबाट सानोश्री, भुरीगाउँ र राजापुरतर्फ जाने छोटो दूरीका साधन प्रशासनसँग छलफल गरी छुटाइने तयारी भइरहेको अध्यक्ष रिजालले बताउनुभयो । कसैले कुनै पनि बसमा तोडफोड गरेको खण्डमा पार्टी र संस्था भन्दैनौँ, व्यक्तिगत रिसइबीका कारण तोडफोड गरेको भन्दै प्रतिकारमा उत्रिनेछौँ – अध्यक्ष रिजालले भन्नुभयो ।
संविधान जारी हुनु एक हप्ताअघि र संविधान जारी भएको भोलिपल्टदेखि पूर्वपश्चिम राजमार्गमा पर्ने बर्दियाको भूरीगाउँ, बाँसगढी क्षेत्रबाट सवारी साधन सञ्चालन भइरहेका छन् । थारुवान, थरुहट संयुक्त सङ्घर्ष समिति र मधेसी मोर्चाले बन्द आह्वान गरेपछि सदरमुकाम गुलरियाबाट सञ्चालन हुने लामो तथा छोटो दूरीका यातायातका साधन डेढ महिनादेखि ठप्प थिए ।
सदरमुकामदेखि यातायात सञ्चालनमा आएपछि स्थानीय बासिन्दा खुसी भएका छन् । संविधान जारीपछि पनि आन्दोलनरत थारुवान– थरुहट संयुक्त सङ्घर्ष समिति र मधेसी मोर्चाले बन्द आह्वान गरेपछि पछिल्लो पटक बर्दियाको राजापुरबाहेक गुलरिया, भूरीगाउँ, सानोश्री, बाँसगढी, जयनगरलगायतका बजार खुलेका छन्
Bardiya