Taja Samachar Nepal

Taja Samachar Nepal
News

Monday, September 28, 2015

एमाओवादीका पाँच नेतासँग स्पष्टीकरण

काठमाडौं (अन्नपूर्ण): एमाओवादीले आफ्ना पाँच नेतासँग स्पष्टीकरण मागेको छ। एमाओवादीको सोमबार बसेको केन्द्रीय समिति बैठकले स्थायी समिति सदस्य लोकेन्द्र बिष्ट, पोलिटब्युरो सदस्य हेमन्तप्रकाश वली, पोलिटब्युरो सदस्य प्रभु साह र केन्द्रीय सदस्य रामकुमार शर्मा तथा रामरिझन यादवसँग स्पष्टीकरण लिने निर्णय गरेको हो।
 
पार्टीप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिएर खेतीपातीमा लागेका बिष्टलाई स्पष्टीकरण सोधेर पार्टीमा फिर्ता गराउने वातावरण बनाउने निर्णय गरिएको प्रवक्ता दीनानाथ शर्माले बताए। उनका अनुसार सांस्कृतिक विचलनको आरोप लागेका वलीलाई भने स्पष्टीकरण सोधेर कारबाही प्रक्रिया अगाडि बढाउने निर्णय गरिएको छ।
 
संविधानमा हस्ताक्षर नगरेका साहलाई आत्मालोचना गर्न लगाई स्पष्टीकरण सोधिने भएको छ। शर्मा र यादवलाई भने स्पष्टीकरण सोधेर गल्ती महसुस गरी आएमा पार्टीमा स्थान दिने निर्णय गरिएको प्रवक्ता शर्माले बताए। 
साह, यादव र शर्माले पार्टी परित्याग गरेका बाबुराम भट्टराईलाई प्रमुख अतिथि बनाएर मंगलबारदेखि तराई मधेसमा कार्यक्रम संयोजन गरिरहेका छन्।'अराजक बन्दै गएको पार्टीलाई व्यवस्थित र अनुशासित बनाउन स्पष्टीकरण र कारबाहीको प्रक्रिया अगाडि बढाइएको हो', शर्माले भने। 
 
आगामी कात्तिक १५ गतेसम्मका लागि स्थगित भएको बैठकले काठमाडौं, इटहरी, कोहलपुरसहित चार स्थानमा कार्यकर्तालाई प्रशिक्षण दिने कार्यक्रम तय गरेको छ। प्रशिक्षणमा अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव कृष्णबहादुर महरा सहभागी हुनेछन्।