Taja Samachar Nepal

Taja Samachar Nepal
News

Monday, September 28, 2015

नाकाबन्दीप्रति भारतीय असन्तुष्ट

पानीट्यांकी (भारत)- नयाँ संविधान जारी भएलगत्तैदेखि चिढिएर नेपालतिर नाकाबन्दी गर्ने आफ्नै सरकारको कदमसँग भारतीय नागरिक असन्तुष्ट छन्। नेपालसँग नाका जोडिएका क्षेत्रका भारतीय नागरिकले सरकारको पछिल्लो कदमलाई 'बेइज्जतिपूर्ण' भन्दै विरोध गरेका छन्।

भारत पश्चिम बंगाल तथा बिहार राज्यका नेपाली सीमावर्ती क्षेत्रका विद्यार्थी, युवा अभियन्ता तथा कतिपय राजनीतिक कार्यकर्तासमेतले आफ्नै सरकारको आलोचना गरेका छन्। अहिलेसम्म संगठित रूपमा नाकाबन्दीविरुद्ध भारतको नागरिक पंक्तिमा आवाज उठेको छैन। तर, यस्तै अवस्था जारी रहे संगठित रुपमै आवाज उठ्नसक्ने अनुमान भारतीय नागरिककै छ। 'रोटीबेटी' मात्रै नभई दैनिक जीवन गुजारामा पनि दुवै पक्षका जनता एकअर्कासँग सम्बन्धित छन्। सीमा नाकामा हुने यस्तो अवरोधले वारिपारि दुवैतिरको जनजीवन नराम्ररी बिथोलिएको बताउने उनीहरु सरकारले यसपटक 'बढी नै गरेको' ठान्दैछन्।

'भारत र नेपालको आपसी सम्बन्ध विशिष्ट खालको छ,' सोमबार पानीट्यांकीमा भेटिएका बिहार किसनगन्जका शिक्षक अनिल सहनीले नागरिकसँग भने 'तर भारतीय सरकारको पछिल्लो कदमले सम्बन्ध राम्रो पार्न सघाउँदैन।' झापा भद्रपुरमा आफ्ना धेरै नातेदार रहेको बताउने उनले नेपालको आन्तरिक मामिलामा भारतले दबाब नदिनु राम्रो हुने बताए। 'नेपाली राजनीतिमा भारतीय हस्तक्षेप छ भन्ने दुवैतिरका नागरिकलाई थाहा छ,' उनले भने, 'तर नाकाबन्दी गरेर, सन्धि–सम्झौता बिर्सेर भारतले नेपाली जनतालाई दुःख दिनु राम्रो होइन।'
नाकाबन्दीविरुद्ध सोमबार काँकडभिट्टामा राष्ट्रवादी नागरिक मञ्चको अगुवाइमा भएको प्रदर्शन। तस्बिर : राजु

साताभन्दा लामो समयदेखि नाकामा नेपालतिर आउने अत्यावश्यक उपभोग्य सामान बोकेका साधन रोकिएका छन्। अरुबेला निर्धक्क आवतजावत गर्ने सर्वसाधारण लामो र झन्झटलाग्दो सुरक्षा घेरा छिचोल्न बाध्य छन्। 'यस्तो व्यवहारसँग हामी आफैँ पनि दुःखी छौं,' रानीगन्ज ग्राम पञ्चायतका पूर्व जनप्रतिनिधि सिद्धान्त बर्मनले भने, 'नेपालजस्तो हितैषी छिमेकीलाई यसरी दुःख दिँदा उसलाई केही घाटा छैन, बरु हामीलाई धेरै बेफाइदा छ।' मार्क्सवादी कम्युनिष्ट पार्टीका कार्यकर्ता बर्मन नागरिक पंक्तिमा उत्पन्न आक्रोशले अन्ततः भारतीय संस्थापनलाई राम्रो नहुने बताउँछन्। 'भारतले यति कमजोर र लज्जास्पद कूटनीति देखाउन हुँदैन,' उनले भने, 'जतिसक्दो चाँडो नाका खोलेर असल छिमेकीको व्यवहार देखाउनुपर्छ।'

बाघडोग्रास्थित उत्तर बंगाल विश्वविद्यालयका स्नातक विद्यार्थी प्रिन्सकुमार सिंह आफ्नै सरकारसँग रुष्ट छन्। राजनीतिशास्त्रका विद्यार्थी उनी नेपालको आन्तरिक मामिलामा छिमेकको हस्तक्षेप कूटनीतिक मर्यादाविपरीत हुने बताउँछन्। 'केही साना नेपाली मिडियाले गोर्खाल्यान्डको पक्षमा लेख्दा टाउको दुखाउने भारतीय अगुवा अहिले नेपालको मामिलामा पूरै हस्तक्षेप हुँदा पनि नबोल्नु विरोधाभाष हो,' उनले भने, 'हामीलाई जत्तिकै उनीहरुलाई पनि आफ्नो देशप्रति गर्व छ, यो कुरा हाम्रो सरकारले भुल्नु हुँदैन।'

त्यसो त नेपाली ग्राहककै भरमा चलेका सीमावर्ती भारतीय बजारका व्यवसायी त आफ्नै सरकारले गाँस खोसेको अनुभूतिमा छन्। पानीट्यांकीमा मोटरपार्टस् तथा मोटरसाइकल मर्मत केन्द्र चलाएर बसेका सफल बर्मन एक सातायता ९५ प्रतिशत व्यापार चौपट भएको बताउँछन्। 'दिनमा कम्तीमा ५० जनाभन्दा बढी बाइक बनाउन आउँथे, दोकानमा भीडभाड भइरहन्थ्यो,' सातायता ज्यादै फुर्सदिलो बनेका उनले भने, 'आफ्नै सरकारले गाँस खोसिरहेको छ।'

उनीजस्ता दर्जनौं ग्यारेज सञ्चालकको हालत उही छ। 'यहाँका दर्जनौं ग्यारेजको नियमित ग्राहक नेपाली नै हुन्,' उनले भने, 'नाकामा अवरोध भएपछि सबैको व्यापार सकिएजस्तै भएको छ।'

त्यसो त भारतीय नाकाका खाद्य सामग्रीका पसल पनि नेपाली ग्राहककै भरमा चलेका छन्। नेपाली बजारभन्दा तुलनात्मक रूपमा सस्तो पाइने भएपछि नेपाली ग्राहक उतै झुम्मिन्थे। अझ दशैं, तिहारजस्ता चाडपर्वको मुखैमा त यहाँका बजार नेपाली ग्राहकले भरिन्थ्यो तर अचेल यस्तो दृश्य हराएको छ।

भारतीय कदमविरुद्ध नेपाली नाकामा झन् आक्रोश चुलिँदो छ। यहीक्रममा पूर्वी काँकडभिट्टा नाकामा सोमबार प्रदर्शन भएको छ। भारतले अत्यावश्यक वस्तु तथा (पेट्रोलियम) इन्धन आयातमा लगाएको नाकाबन्दीलाई नेपालको आन्तरिक मामिलामाथिको हस्तक्षेप भन्दै राष्ट्रवादी नागरिक मञ्चको अगुवाईमा प्रदर्शन गरिएको हो।

'देशभक्त नेपाली एक हौं, राष्ट्रिय स्वाधिनताको रक्षा गरौँ, भारतीय विस्तारवादको विरोध गरौँ, अघोषित नाकाबन्दी खुला गर, अन्तर्राष्ट्रिय मार्ग अवरोध गर्न पाइँदैन,' जस्ता चर्का नाराबाजी गर्दै अपराह्न ४ बजे र्याषली प्रदर्शन भएको हो।

काँकरभिट्टा बसपार्क, गुराँसपथ, शान्ति पथ, बाहुनडाँगी रोड, पूर्व प्रगति टोल, मेचीडाडा, नेपाल—भारत जोड्ने मेची पुलको नेपालतर्फ, इलाका प्रहरी कार्यालय, भन्सार परिसर हुँदै र्यााली मेची भन्सार कार्यालयको यात्रु शाखाअघिको खुला स्थानमा कोणसभामा परिणत भएको थियो। सभालाई सम्बोधन गर्दै मञ्चका अध्यक्ष भुपाल शिवाकोटीले भारतले अघोषित नाकाबन्दी जारी राखेर सीमामा कडाइको विरोध गरेका थिए।