Taja Samachar Nepal

Taja Samachar Nepal
News

Saturday, September 26, 2015

नवलपरासीमा ४८ दिनपछि शैक्षिक संस्था र पसलहरु खुले

नवलपरासी, असोज १० । मधेस केन्द्रित दलको आन्दोलनका कारण विगत ४८ दिनदेखि बन्द रहेका नवलपरासीको सदरमुकाम परासीसहित दक्षिणभेगका शैक्षिक संस्था र पसल, व्यवसायहरु आइतबार देखि सञ्चालनमा आएका छन् ।
आन्दोलनरत पक्षले समय तोकेर दुई क्षेत्रलाई खुला गर्न दिएका हुन । जसमध्ये बिहान ६ बजेदेखि १० बजेसम्म शैक्षिक संस्था र साँझ ५ बजेदेखि ८ बजेसम्म बजार खोल्न दिइएको हो ।
सीमांकन भए लगत्तै साउन २५ देखि सुरु भएको आन्दोलनका कारण परासी सदरमुकामसहित दक्षिण भेग ठप्प छ ।
राजमार्ग र नवलपुर क्षेत्रमा भने बन्दको कुनै प्रभाव छैन । लामो समयदेखिको पठनपाठन बन्दले विद्यार्थीहरुको भविष्य अन्यौल हुँदा समेत वास्ता नगरेको भन्दै चौतर्फी आलोचना आएपछि आन्दोलरत पक्षले बिहानी सत्रमा शैक्षिक संस्था खोल्न दिएका हुन ।
आन्दोलनका कारण परासी क्षेत्रका करिब एकसय बढी निजी तथा सरकारी स्कुल र कलेजको पठनपाठन ठप्प थियो ।