Taja Samachar Nepal

Taja Samachar Nepal
News

Wednesday, October 7, 2015

सरकारलाई कुटनीतिज्ञले सोधे, नाकाबन्दी हुँदा पनि किन चुप लागेर बसेको ?

काठमाडौ : पूर्वराजदूतहरुले दुई हप्तादेखि भारतले लादेको नाकाबन्दी हटाउन परिपक्व ढंगले ठोस् कुटनीतिक पहल गर्न सरकारलाई सुझाव दिएका छन्।

उनीहरुले नाकाबन्दी भएर सिंगो मुलुक नै अस्तव्यस्त हुँदा चुप लागेर नबस्न र यसलाई अन्तराष्ट्रियकरण गर्न सल्लाह दिएका छन्। उनीहरुको प्रश्‍न छ,नाकाबन्दी हुँदा पनि किन चुप लागेर नबसेको ?

राजधानीमा मंगलबार आयोजित छलफल कार्यक्रममा सहभागी १८ जना पूर्वराजदूतहरुले नाकाबन्दीका कारण देश नै ठप्प हुन थालेकाले भारतसंग कुटनीतिक तहबाट गहिरो संवाद गर्न र राष्ट्रिय हितका पक्षमा आफ्नो स्पष्ट अडान राख्न सरकारलाई सुझाव दिएका हुन्।


‘सरकारका मन्त्री र दलका नेताले अहिलेको भारतीय नाकाबन्दीबारे साझा धारणा बाहिर ल्याउनुपर्छ । हामी मुलुकभित्रै फरक—फरक बोल्न थाल्यौँ भने त्यसले हामीलाई कमजोर बनाउँछ भन्ने हाम्रो निष्कर्ष हो’छलफलको संयोजन गरेका पूर्वराजदूत राजेश्वर आचार्यले अन्नपूर्णसंग भने । पूर्वराजदूतहरुले नेपालले परिपक्व कृटनीतिद्वारा भारतसंग चिसिएको द्विपक्षिय संबन्ध हल गर्न सरकारलाई सुझाए।

पूर्वराजदूतहरु र कुटनीतिज्ञलाई सहभागि गराएर एउटा ‘कोर डिप्लोम्याटिक ग्रुप’खडा गरी सरकारले भारतसंगका नेपालका तत्कालीन र दिर्घकालीन स्वार्थहरुबारे कुराकानी गर्नुपर्नेमा उनीहरुले जोड दिए।

छलफलमा राजदूतहरुले भारतका केही जायज चासोहरु छन् भने नेपाल सरकारले सुनिदिनुपर्ने समेत बताए।‘नेपालले आफ्नो स्वार्थहरुबारे भारतसंग स्पष्ट रुपमा राख्नुपर्छ । सरकारले अहिलेको नाकाबन्दीका कारण के कस्ता समस्या भोगिरहेको हो त्यसबारे सही सूचना बाहिर ल्याउनुपर्छ’ उनीहरुले छलफलमा भने।

पूर्वराजदूत आचार्यका अनुशार छलफलमा राजदूतहरुले अहिले नेपाल र भारतबीच युद्दको स्थिती नरहेको हुंदा कुनै पनि प्रकारको नाकाबन्दी उचित नरहेको बताए । ‘नेपालजस्तो भूपरिवेष्ठित मुलुकमा भारतले नाकाबन्दीलाई हतियारका रुपमा प्रयोग गर्नु उचित होइन भन्ने हाम्रो ठम्याई रह्यो’ उनले भने।

राजदूतहरुले भारतले नेपालको लोकतान्त्रिक संबिधान, सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सम्मान गर्नुपर्ने समेत बताए ।‘नेपालले भारतको राष्ट्रिय सुरक्षाको सम्मान गर्छ भने भारतले पनि नेपालको सुरक्षाको सम्मान गर्नुपर्छ’ छलफलमा राजदूतहरुको निष्कर्ष थियो।

दलहरुले राष्ट्रिय एकता जोगाउनका लागि तराईका आन्दोलनरत दलसंग सार्थक वार्ता गरी उनीहरुको जायज माग सुन्नुपर्ने समेत बताए । छलफलमा धारणा राख्ने पूर्व राजदूतहरुमा डा. भेषबहादुर थापा, केदार भक्त माथेमा, टंक कार्की, शम्भुराम सिंखडा, हिरण्यलाल श्रेष्ठ, दुर्गेशमान सिंह, प्रमेश कुमार हमाल, शुशील चन्द्र अमात्य, डा. शंकर शर्मा, डा. बिष्णुहरी नेपाल, निलाम्बर आचार्य, शुर्यप्रसाद श्रेष्ठ र विजयकान्त कर्ण लगायत थिए । त्यस्तै प्रधानमन्त्रीका बिदेश मामिला सल्लाहकार डा. दिनेश भट्टराई र परराष्ट्र मन्त्रीका सल्लाहकार अश्विन पुडासैनी पनि छलफलमा सहभागि थिए।

नेपालको नयाँ संबिधान आफूले चाहेजस्तो नबनेकोमा रुष्ट भारतले विगत दुई हप्तादेखि नेपालाथि नाकाबन्दी लादेपछि कुटनीतिज्ञहरुले सरकारलाई नाकाबन्दी हटाउन सुझाएका हुन् ।