Taja Samachar Nepal

Taja Samachar Nepal
News

Sunday, October 11, 2015

नवनिर्वाचित प्रधानमन्त्री केपी ओलीबारे जान्नु पर्ने ८ कुरा

आश्विन २४, २०७२- 
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली व्यवस्थापिका संसदबाट ३ सय ३८ मत प्राप्त गरेर २४ असोज ०७२ मा मुलुकको ३८ औं प्रधानमन्त्री निर्वाचित भएका छन् । नवनिर्वाचित प्रधानमन्त्री ओलीबारे जान्नै पर्ने १० तथ्य ।
(एक)
झापाबाट इलाम जेल सार्ने बहानामा २१ फागुन ०२९ मा सुखानी जंगलमा लगेर हत्या गरिएका पाँच सहिदमध्येका एक रामनाथ दाहालले ओलीलाई ६ कक्षादेखि आफ्नो घर चारपानेमा ल्याएर अध्ययन गराएका थिए । दाहालकै सामिप्यतामा आएपछि ओली वाम आन्दोलनप्रति आकर्षित भएका थिए । किनभने तेह्रथुमबाट झापा नझर्दै दाहाल कम्युनिष्ट आन्दोलनप्रति झुकाव राख्ने भइसकेका थिए । उनै दाहालले ओलीलाई आफ्नो घरमा राखेर पढाउदै कम्युनिष्ट आन्दोलनमा आवद्ध गराएका थिए । 
मंसिर ०२९ मा दाहाल पक्राउ पर्ने क्रममा ओली संयोगले मात्र जोगिएका थिए । दाहालसँगै पक्राउ परेका हुन्थे भने ओली पनि सायद उनीहरुसँगै सुखानी जंगलमा मारिन सक्थे । पक्राउ पर्नु चारदिन अघि मात्र दाहालसँगै ओली पनि भुमिगत भएका थिए र त्यसदिन घुम्दै घर नजिक पुगेका थिए । आफ्नो घरमा मानिसहरुको हुल देखेपछि उनले ओलीलाई तिमी यही बस्दै गर । म घरमा के भएछ हेरेर आउँछु भन्दै गएका थिए । घर पुगे लगत्तै उनी पक्राउ परे । यो दृश्य देखेपछि ओली भने प्रहरीबाट जोगिए ।
(दुई)
०२८ सालमा एसएलसी दिएपछि झापाकै चारपानेस्थित प्राथमिक विद्यालयमा उनी केही समय अस्थाई शिक्षक भए । यही क्रममा राजनीतिप्रति उनको झुकाव कसिलो हुँदै गयो र कम्युनिष्ट पार्टीको सदस्यता लिदै भुमिगत यात्रातिर अघि बढे । शिक्षक छाडेर आन्दोलनमा होमिएकै कारण उनको औपचारिक शिक्षा एसएलसीभन्दा अगाडि बढ्न सकेन ।
(तीन)
भुमिगत, १४ बर्ष जेल र रिहा भएर लुम्बिनी अञ्चलको जिम्मेवारी लिउन्जेल ओलीको छद्म नाम ‘उत्तम’ थियो । ओलीले नेपालका ७५ वटै जिल्लाको भ्रमण गरेका छन् । 
(चार)
विद्यालय तहमा पढदैदेखि ओलीलाई सहकर्मीहरु ‘जिब्रो धेरै चलाउने, जिउ नचलाउने’ भन्ने गर्दथे । त्यसबेलैदेखि ओली कतिसम्म बाठा थिए भने पोष्टर, पम्प्लेटहरु टास्नु पर्दा सहकर्मीहरुलाई यहाँ टाँस्, उहाँ टाँस भनेर खटाउँथे । आफैं परिचालित हुन्नथे । तर, सम्वन्धित निकायमा मैले टाँसे भनेर रिर्पोटिङ गर्दथे ।
(पाँच)
ओलीले कार्तिक ०२९ देखि फागुन ०२९ सम्म झापा बिद्रोहको दोस्रो सचिवको जिम्मेवारी पाएका थिए । झापा विद्रोहका पहिलो सचिव राधाकृष्ण मैनाली क्षयरोगले सख्त भएर थलिएपछि हर्क खड्का, सिपी मैनालीलगायतको मिलोमतोमा ओलीलाई सचिव बनाइएको थियो । तर, त्यस अवधीमा उनले एउटा पनि बैठक राख्न नसकेपछि फागुनको दोस्रो साता ओलीलाई हटाएर सिपी मैनालीलाई तेस्रो सचिव बनाइएको थियो । 
(छ)
२१ फागुन ०२९ को सुखानी हत्या काण्डपछि ओली झापा बिद्रोहका अर्का अगुवा मोहनचन्द्र अधिकारीलाई खोज्दै विराटनगर आएका थिए । त्यहाँ उनले अधिकारी भारतको गोरखपुर पुगेको जानकारी पाए । यसपछि ओली उनलाई खोज्दै गोरखपुर नै पुगे । गोरखपुर पुग्दा अधिकारी कानपुरमा रहेको सुँइको पाए । ओली पनि कानपुर नै पुगे । उखु बारीमा काम गरेर दुृवै जना केही समय कानपुरमै बसे । यसपछि त्यहाँबाट नेपाल फर्कने क्रममा २३ असोज ०३० मा ओली र अधिकारी दुवै जना रौतहटबाट पक्राउ परे । त्यसपछि उनी एकै चोटी असार ०४४ मा मात्र जेलबाट रिहा भए । 
(सात) 
०३२/०३३ मा ओली, अधिकारी र २० साउन ०३० मा झापाबाटै पक्राउ परेका राधाकृष्ण मैनालीलाई तत्कालिन सरकारले केन्द्रीय कारागारको गोलघर भित्र थुनेको थियो । गोलघरभित्र रहेको बेला ओली आन्द्राको अल्सर र क्षयरोगबाट  सख्त भएका थिए । त्यसबेला उनलाई दिसा–पिसाबमा जान समेत अरुको सहारा चाहिन्थ्यो । उनलाई राधाकृष्ण मैनालीले स्याहार सुसार गरेर बचाएका थिए । 
(आठ) 
जानकारहरुका अनुसार ०५४ को महाकाली सन्धी अघिसम्म ओलीमा राष्ट्रवादी सोच हावी थियो ।  महाकाली सन्धीसँगै दक्षिणी छिमेकीलाई रिझाएर सत्तामा पुग्ने बाटोमा लागे । उनलाई दक्षिण छिमेकीको सामिप्यतामा पुर्‍याउने काम माधव नेपालले गरेका थिए । त्यसको १८ वर्ष पछि मुलुकको ३८ औं प्रधानमन्त्री निर्वाचित भए ।