Taja Samachar Nepal

Taja Samachar Nepal
News

Saturday, October 24, 2015

आन्दोलन थप सशक्त बनाउने ठाकुर र यादवको चेतावनी

कार्तिक ७, २०७२- मधेसवादी दलका शीर्ष नेताहरुले जारी मधेस आन्दोलन अझ सशक्त रुपमा अघि बढाउने चेतावनी दिएका छन् । उनीहरुले मधेस आन्दोलनलाई बदनाम गराउन सतापक्षद्वारा विभिन्न षडयन्त्र गरिरहेको आरोप लगाउँदै जारी आन्दोलन लक्ष्य प्राप्ति नहुन्जेल बिराम नलगाइने बताए । विराटनगरमा आज आयोजित विरोध सभालाई सम्बोधन गर्दे तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेस आन्दोलनलाई कमजोर बनाउनका लागि आफ्नो नाम राष्ट्रपति पदसित जोडेर अफवाह फैलाइएको आरोप लगाए । 'मेरो नाम राष्ट्रपति पदसित जोडेर दुष्प्रचार गरियो,' ठाकुरले भने, 'म राष्ट्रपति पदको भोको होइन । त्यस्तो पद मलाई चाहिँदैन जो मधेस आन्दोलनको वलिदानी सित साटिएको होस ।' प्रधानमन्त्री केपी ओली बिरुद्ध अक्रामक देखिएका ठाकुरले ओलीलाई मधेस विरोधी र मधेसका अपराधीको संज्ञा दिए । विराटनगरमा शनिबार भएको मोर्चाको सभा । मधेसी मोर्चाको माग सम्बोधन नगरि ल्याइएको संविधान कुनै हालतमा आफूहरुलाई मान्य नहुने बताउँदै ठाकुरले भने, यो संविधान जारी हुनै बित्तिकै हामीले जलाएका हौं । अझै जलाउँदै छौं र अधिकार प्राप्त नहुन्जेल सम्म जलाइरहनेछौं, सरकार सक्छ भने कारबाही गरेर देखाओस ।' उनले दसैंका कारण केही खुकुलो देखिएको आन्दोलन अब अझै कडा र सशक्त हुने बताए । अब कुनै मोलाहिजा हुने छैन । आन्दोलन थप कडा हुनेछ,' ठाकुरले भने, 'यो मधेस विरोधी संविधान हो । यसलाई यही अवस्थामा कदापी स्विकार गर्न सकिन्न ।' उनले मधेसी जनतालाई पटकपटक विदेसी आरोप लगाएर स्वभिमानसित मजाक गर्ने गरिएको बताउँदै उनले भने, 'धोती, कुर्ता, गम्छा लगाएपछि विदेशी होइन स्वाभिमानी मधेसी नेपाली हुन भन्ने चेतना सबैमा हुनु जरुरी छ ।' कार्यक्रममा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आइतबारदेखि आन्दोलनको स्वरुप थप कडा हुने बताए । उनले मधेसका जिल्लामा अब कुनैपनि हालतमा सरकारी कार्यालय चल्न नदिने चेतावनी दिए । यादवले सीमा क्षेत्रमा भारतले नभई मधेसी मोर्चाले नाकाबन्दी गरेको बताउँदै सीमा क्षेत्रको धर्ना र नाकाबन्दीलाई समेत थप सशक्त पार्ने बताए । उनले जारी नयाँ संविधानमा मधेसी र जनजातिको कुनै भूमिका नरहेको बताउँदै कांग्रेस, एमाले र एमाओवादीमा रहेका मधेसी सभासद समेत बलीको बोको बनाइएको बताए । 'यो संविधान संविधानसभाले नभई बालुवाटारमा पाँच/सात जना ब्राम्हण नेताले बनाएको संविधान मात्र हो । त्यसैले मधेसी,आदीवासी जनजाति यसलाई स्विकार्न सक्दैन,' जारी आन्दोलन कुनै समुदाय विरुद्धको आन्दोलन नभएको प्रष्टयाउँदै यादवले भने, 'यो आन्दोलन कुनै जाति विरुद्ध नभई मुक्तिको आन्दोलन हो ।'