Taja Samachar Nepal

Taja Samachar Nepal
News

Thursday, September 24, 2015

सांसद कमलादेवील महतोले पत्थर हान्नेलाई फूल दिइन्।

काठमाडौं- तपाईंको घर कसैले तोडफोड वा आगजनी गरिदियो भने त्यस व्यक्तिलाई तपाईं कुन दृष्टिले हेर्नुहुन्छ, कस्तो व्यवहार गर्नुहुन्छ?पक्कै पनि उसलाई घृणापूर्वक हेर्नुहुनेछ र सजाय दिलाउन तत्काल प्रहरीमा उजुरी दिनु हुनेछ।एमालेकी एक सांसदले भने आफूमाथि 'पत्थर हान्नेलाई फूल' को जवाफ फर्काइन्।
तस्बिर सौजन्य : सञ्जीव झा

सांसद कमलादेवी महतोको सर्लाही, मलंगवा– १० स्थित घर जसले आगजनी गरेर खरानी बनाइदियो, महतो तिनै दुई व्यक्तिलाई भेट्न हर्लिक्स र फलफूल बोकेर बिहीबार वीर अस्पताल पुगिन्।

तराई–मधेसमा जारी आन्दोलनमा संलग्न विक्रम राय र रुपेश पासवानले शुक्रबार उनको घर आगजनी गरेका थिए। राय फोरम लोकतान्त्रिकका वरिष्ठ उपाध्यक्ष रामेश्वर राय यादवका छोरा हुन्। आगजनीपछि भागदौडमा रायलाई प्रहरीको गोली लाग्यो, पासवान लडेर घाइते भए। उनको खुट्टामा चोट छ। घाइते दुवैलाई उपचारका लागि वीर अस्पताल ल्याइएको छ। अस्पतालका अनुसार दुवै जनाको स्वास्थ्य अवस्था सामान्य छ।

आफ्नो घर जलाउनेलाई काठमाडौं ल्याइएको थाहा पाएपछि सांसद महतो बिहीबार दिउँसो २ बजे अस्पताल
पुगेकी थिइन्। महतोले रायलाई हर्लिक्स र पासवानलाई फलफूल दिइन्। पासवानलाई आवश्यकता अनुसार थप फलफूल किन्न ५ सय रुपैयाँ नगद पनि दिइन्।सांसद महतोले घाइते दुवैको स्वास्थ्य अवस्था बुझिन् र शीघ्र स्वास्थ्य लाभ कामना गरेर फर्किइन्।आफ्नै घर जलाउनेप्रति किन यस्तो दया?

'दुवै भाइहरु आफ्नै छोराजस्तो लाग्यो, मानवीयताले मलाई अस्पतालसम्म पुर्या यो,' महतोले भनिन्, 'मलाई घर जलेकोमा भन्दा छोराजस्तै युवा घाइते भएकोमा दुःख छ।'

देशमा संविधान आइसकेकाले अब कुनै पनि मानवीय क्षति नहोस् भन्ने कामनासमेत गरिन् कमलादेवीले।

अस्पतालमा रायसँग भेटमा घाइतेका बुबा रामेश्वर पनि सँगै थिए। घाइते छोरानजिकै रहेका रामेश्वरले सभासद कमलालाई घर जलेकोमा दुःख व्यक्त गरेका थिए। करिब पाँच मिनेट घाइते रायसँग कुराकानी गरेकी कमलाले रायलाई भनेकी थिइन्, 'आफ्नो स्वास्थ्यको ख्याल गर्नु है बाबु!'

महतोसँगै अस्पताल पुगेका युवा संघका मधेस ब्युरो प्रमुख सञ्जीव झाका अनुसार अस्पतालमै उपचाररत अर्का घाइते पासवानको खुट्टामा चोट देखेपछि महतोले 'खुट्टामा कसरी चोट लाग्यो बाबु?' भन्दै जिज्ञासा राखेकी थिइन्।

पासवानले 'कमला दिदीको घरमा आगो लगाएर भाग्ने क्रममा लडेर खुट्टामा चोट लागेको' जवाफ दिएका थिए। महतोले 'बाबुले आगो लगाएको घरकी कमला दिदी मै हुँ' भन्दा पासवानले आँखामा पश्चाताप झल्काउँदै भने, 'फेरि पनि आउनुस् है अन्टी?'

महतोले आगजनीपछि आफ्नो घर पूर्ण रुपमा क्षति भएको बताइन्। 'श्रीमान गाँउमै विभिन्न स्थानमा लुकेर ज्यान जोगाइरहनुभएको छ,' उनले भनिन्, 'तर यसो भन्दैमा आक्रमणकारीलाई पनि क्षति गर्नुपर्छ भन्ने मलाई लाग्दैन।' उनले देशमा संविधान आइसकेकाले सबै मिलेर शान्ति र विकास निर्माणमा जुट्ने समय आएको बताइन्।