Taja Samachar Nepal

Taja Samachar Nepal
News

Tuesday, September 29, 2015

वार्ता थाल्न मोर्चाका तीन सर्त

काठमाडौं–मधेसी जनअधिकार फोरम लोकतान्त्रिक अध्यक्ष विजयकुमार गच्छदार नेतृत्वको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले वार्ताको वातावरण बनाउन प्रमुख तीन दलको वार्ता टोलीसँग तीनवटा सर्त राखेको छ।सिंहदरबारस्थित फोरम लोकतान्त्रिकको संसदीय दल कार्यालयमा भएको द्विपक्षीय वार्तामा प्रमुख तीन दलको वार्ता टोलीका सदस्य वनमन्त्री महेश आचार्य, एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र एमाले प्रमुख सचेतक अग्निप्रसाद खरेलसामु मोर्चाले सर्त राखेको हो ।

राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरदसिंह भण्डारीले मोर्चाले राखेको सर्त पूरा गरेपछि मात्रै औपचारिक रूपमा वार्ता अघि बढाउने बताए । 'मधेस आन्दोलनका क्रममा मृत्यु भएकालाई सहिद घोषणा गर्नुपर्ने र पीडित परिवारलाई राहत दिनुपर्ने तथा घाइतेको उपचार गर्नुपर्ने र आन्दोलनकारीमाथि लगाइएको मुद्दा फिर्ता गर्नुपर्ने सर्त राखेका छाैं,' भण्डारीले नागरिकसँग भने ।

भण्डारीले तीन सर्त पूरा गरे आन्दोलनरत दलले उठाएका मागका विषयमा प्रवेश गर्न सकिने बताए।  दुई घन्टाभन्दा बढी समय चलेको वार्तामा गच्छदार, भण्डारीसहित फोरम गणतान्त्रिकका महासचिव सिपी सिंह, रामजनम चौधरी, केशव झालगायत नेताको उपस्थिति थियो । मृतक परिवारलाई १० लाख रुपैयाँ राहत दिने निर्णय भने यसअघि नै सरकारले गरिसकेको छ ।

बैठकमा मोर्चाले तराई–मधेसको सीमांकनको विवाद संघीय आयोगमार्फत नभई संविधान संशोधनवाट टुंग्याउनुपर्नेमा पुनः जोड गरेको छ । त्यसैगरी, समावेशी समानुपातिक, जनसंख्याका आधारमा निर्वाचन क्षेत्र तय गर्नुपर्ने मागलाई पनि संविधान संशोधनमार्फत गर्नुपर्ने मोर्चाको भनाइ छ ।

संघीय प्रदेशको सीमांकनबाहेक अन्य विषयलाई प्रमुख तीन दलले संविधान संशोधनमार्फत टुंग्याउने पटकपटक प्रतिबद्धता जनाइसकेका छन् । असोज १५ गते सुरु हुने व्यवस्थापिका संसदको हिउँदे अधिवेशनमै सो संशोधन प्रस्ताव लैजाने दलहरूले जनाएका छन् । वार्ताको वातावरण बनाउनका लागि सरकारले सेना फिर्ता गर्ने निर्णयसहित कफ्र्यु र दंगा क्षेत्र घोषणाको निर्णयलाई क्रमशः फिर्ता गर्दै गएको छ ।

'वार्ता टोली गठन भएपछि पहिलोपटक दुइटा मोर्चासँग आजै हाम्रो कुराकानी भएको छ,' वार्ता टोली सदस्य श्रेष्ठले नागरिकसँग भने, 'वार्ताको वातावरण बनाएपछि मुद्दामा प्रवेश गरौंं भन्ने कुरा उहाँहरूबाट आएको छ, भोलि (बुधबार) तीन दलको बैठक बसेर केही कुरा सम्बोधन गर्ने तयारीमा लागिपरेका छौं ।' उनका अनुसार मुख्य गरी वार्ताको वातावरण बनाउनुपर्ने भन्दै अगाडि सारेका सर्तका बारेमा प्रमुख तीन दलबीच छलफल हुनेछ ।

गच्छदार नेतृत्व मोर्चासँग छलफल गर्नुअघि तीन दलको वार्ता टोलीले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको एक घटक तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग पनि वार्ता गरेको थियो । ठाकुरसँग वार्ता र छलफल गर्न तीन दलको टोली सानोठिमीस्थिति उनको निवासमा पुगेको थियो ।

'मोर्चाका अन्य घटकसँग छलफल गरेर निर्णय दिन्छु भनेर उहाँ रौतहट (गौर) जानुभयो,' श्रेष्ठले भने, 'मोर्चा घटक अन्य दलसँग छलफल गरेर भोलि (बुधबार) नै काठमाडौं फर्कने बाचासहित उहाँ जानुभएको छ ।' बुधबार हुने आमसभालाई सम्बोधन गर्न ठाकुर मंगलबार गौर गएका हुन ।