Taja Samachar Nepal

Taja Samachar Nepal
News

Saturday, August 29, 2015

नेपाली विद्यार्थी विदेश जाँदा वार्षिक करिब १२ अर्ब रुपैयाँ बाहिरिएको

१३ भदौ, काठमाडौं । अध्ययनका लागि नेपाली विद्यार्थी विदेश जाँदा वार्षिक करिब १२ अर्ब रुपैयाँ बाहिरिएको छ । विदेश अध्ययनमा जाने विद्यार्थी संख्या गत आर्थिक वर्षमा हालसम्मकै धेरै छ । शिक्षा मन्त्रालयका अनुसार गत आव ०७१/७२ मा ३० हजार ६ सय ९६ विद्यार्थीले विदेश अध्ययनका लागि नो अब्जेक्सन लेटर लगेका छन् ।विदेश जाने विद्यार्थीले करिब १२ अर्ब रुपैयाँ सटही गरेर विदेशी मुद्रा बाहिर लगेका छन् । नेपाल राष्ट्र बैंक विदेशी विनिमय व्यवस्था विभागका कार्यकारी निर्देशक भीष्मराज ढुंगानाले पछिल्लो समयमा विदेश अध्ययनमा जान विदेशी मुद्रा सटही गर्नेको संख्या निकै बढेको बताए । ढुंगानाका अनुसार विदेश अध्ययनमा जान ०७१/७२ मा ११ अर्ब ८० करोड ९८ लाख रुपैयाँबराबरको विदेशी मुद्रा सटही भएको छ । शिक्षा मन्त्रालयबाट नो अब्जेक्सन लेटर लिएपछि मात्र विद्यार्थीले विदेश अध्ययनमा जान विदेशी मुद्रा सटही सुविधा पाउने व्यवस्था रहेको  छ ।राष्ट्र बैंकको पाँच वर्षयताको तथ्यांकमा सबैभन्दा बढी आव ०७१/७२ मै सर्वाधिक धेरै रकम सटही भएको उल्लेख छ । राष्ट्र बैंकका अनुसार ०७०/७१ मा नौ अर्ब ६९ करोड ६४ लाख रुपैयाँ, ०६९/७० मा ६ अर्ब ३४ करोड २३ लाख रुपैयाँको विदेशी मुद्रा सटही भएको छ । त्यस्तै, ०६८/७९ तीन अर्ब ८८ करोड ८९ लाख र ०६७/६८ मा तीन अर्ब ६२ करोड ५६ लाख रुपैयाँको विदेशी मुद्रा सटही भएको तथ्यांक छ । तीन वर्षयता विदेश अध्ययनमा जाने विद्यार्थीको संख्या ह्वात्तै बढेको छ ।
             पछिल्ला वर्षमा जापानमा भाषा अध्ययन गर्न सहज रूपमा जान पाउने भएपछि विदेश जानेको संख्या बढेको हो । गत आवमा सबैभन्दा बढी आकर्षण जापान र अस्ट्रेलियामा देखिएको छ । जापानका लागि नौ हजार चार सय ५७ र अस्ट्रेलियाका लागि आठ हजार आठ सय ४४ जनाले नो अब्जेक्सन लेटर लगेको शिक्षा मन्त्रालयले जनाएको छ । नेपाली विद्यार्थीको तेस्रो रोजाइमा अमेरिका परेको छ ।अमेरिकाका लागि तीन हजार एक सय पाँचजनाले नो अब्जेक्सन लेटर लगेका छन् । भारतका लागि एक हजार ६ सय ४२ ले नो अब्जेक्सन लेटर लगेका छन् । तर, भारतमा अध्ययन गर्न जाने धेरै विद्यार्थीले नो अब्जेक्सन लेटर लिने गरेका छैनन् । यसैगरी, मलेसियामा एक हजार १२, बंगलादेश आठ सय ६५, चीनमा सात सय ५२, डेनमार्कमा सात सय ४२, जर्मनीमा चार सय ३१ र पोल्यान्डका लागि चार सय ३० जनाले नो अब्जेक्सन लेटर लगेको मन्त्रालयको तथ्यांक छ । अध्ययनका लागि नेपाली विद्यार्थी ७६ वटा देशमा पुगेको मन्त्रालयको रेकर्ड छ ।