Taja Samachar Nepal

Taja Samachar Nepal
News

Saturday, August 29, 2015

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका सबै यात्रु भन्सार जाँचपास नगराई बाहिरिए ।

काठमाडौं : भन्सारमा कर्मचारी नै नभएका कारण टर्किस एयरको विमानबाट आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका सबै यात्रु भन्सार जाँचपास नगराई बाहिरिए । सुरक्षा सम्बद्ध स्रोतका अनुसार इस्तानबुलबाट आएको टिके ७२६ उडानबाट एक सय ४४ जना उत्रिएका थिए । विमान बिहान ६ बजेर २० मिनेट जा“दा विमानस्थलमा अवतरण गरेको थियो ।
यात्रुहरू अध्यागमनको क्लियरेन्स लिएर भन्सार क्षेत्रमा पुग्दा त्यहाँ कर्मचारी थिएनन् । वाक थ्रु, एक्सरे मेसिन पनि चलेका थिएनन् । ‘सबै यात्रु भन्सार जाँचपास नगराई विमानस्थलबाट निस्केका थिए,’ सुरक्षा सम्बद्ध अधिकारीले भने, ‘अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारमा साढे ७ बजेसम्म एकजनामात्र कर्मचारी थिए ।’ सुरक्षा निकायले कर्मचारी नभएको जानकारी दिएपछि ८ बजे विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक भूपाल बराल हस्याङ्फस्याङ गर्दै पुगेका थिए ।वाकथु्र, एक्सरेमार्फत राजस्वको मात्र हैन सुरक्षाका दृष्टिकोणले समेत चेकजाँच गर्ने काम विमानस्थल भन्सारको हुन्छ । कसैले हतियार, विस्फोटक पदार्थ ल्याउन खोजेको रहेछ भने पनि पत्ता लगाउने भन्सारले हो । ‘यस्तो संवेदनशील कुरामा भन्सार कर्मचारी संवेदना शून्य देखिए,’ सुरक्षा अधिकारीले भने ।भन्सार विभागका महानिर्देशक शिशिर ढुंगानाले कर्मचारीको चरम हेलचेक्र्याइँ देखिएको स्वीकार्दै सम्बद्ध सबै कर्मचारीलाई सचेत गराउनुका साथै स्पष्टीकरण सोधिएको बताए । भन्सार अधिकृतद्वय परशुराम दाहाल र राजनबाबु काफ्लेसहित ३० जनालाई स्पष्टीकरण सोधिएको छ ।
विमानस्थलमा प्रमुख भन्सार अधिकृत (उपसचिव) नेतृत्वमा भन्सारको टोली परिचालित हुन्छ । यात्रुको बढी चाप हुने बेलामा २५–३० जना कर्मचारी परिचालित हुन्छन् ।प्रमुख भन्सार अधिकृतले ढिलो आउने पूर्वसूचना गरी अरूलाई समयमा पुग्न अराएकाले उनको गल्ती नदेखिएको महानिर्देशक ढुंगानाले बताए । ‘सर्सती बुझ्दा कुनै षड्यन्त्रभन्दा पनि रक्षाबन्धन गरेर घरबाट हिँडेका कारण अफिस ढिलो पुगेको देखियो,’ उनले भने । यसबारे भोलि नै छानबिन समिति पनि गठन गरिने उनले जनाए ।
राजस्व सचिव राजन खनालले गल्तीलाई गम्भीरतापूर्वक लिएर कारबाहीको प्रक्रिया तुरुन्त सुरु गरिएको बताए । बिदा र पर्वको दिन भए पनि बिहान ९ बजे नै मन्त्रालयमा बैठक गरेर कारबाहीको प्रक्रिया सुरु गरिएको थियो । छानबिनपछि गल्ती देखिएका माथि हदैसम्मको कारबाही हुने उनको भनाइ थियो ।‘निलम्बन गरेर छानबिन अघि बढाउने कि भनेर छलफल गर्दा कानुनअनुसार निलम्बन गर्न नसकिने देखियो,’ उनले भने । सुरक्षा निकायले कर्मचारीशून्य भने पनि केही कर्मचारी पुगेको देखिएको उनले बताए । ‘वाकथु्र र एक्सरेमा चाहिँ कर्मचारी अनुपस्थित भएका हुन सक्छन्,’ उनले भने ।