Taja Samachar Nepal

Taja Samachar Nepal
News

Monday, August 24, 2015

सात प्रहरी र एक नाबालकको मृत्यु, हराएका १५ प्रहरी राति सम्पर्कमा आए


कैलालीको टीकापुरमा भएको प्रदर्शन हिंसात्मक बनेको छ । प्रदर्शनकारी र प्रहरीबीच सोमबार दिउँसो भएको झडपमा एसएसपीसहित सात प्रहरी र एक नाबालकको मृत्यु भएको छ ।
 दुवै पक्षका ५० भन्दा धेरै घाइते भएका छन् । झडपमा सेती अञ्चल प्रहरी प्रमुख एसएसपी लक्ष्मण न्यौपाने, इन्स्पेक्टरद्वय बलराम विष्ट र केशवराज बोहरा, जवानहरू लोकेन्द्र चन्द र लक्ष्मण खड्का, सशस्त्र प्रहरीका हवल्दारहरू रामबिहारी ठाकुर र ललित साउदको मृत्यु भएको छ । त्यस्तै, घरमा बसिरहेका दुई वर्षीय बालक टेकबहादुर साउदको गोलीको छर्रा लागेर मृत्यु भएको छ ।
कैलालीका प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठका अनुसार झडपमा आन्दोलनकारीतर्फ भने कोही हताहत भएका छैनन् । ५० भन्दा धेरै घाइतेको टीकापुर अस्पतालमा उपचार भइरहेको छ । तीन आन्दोलनकारी गम्भीर रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइतेलाई उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं लगिएको छ ।
प्रहरी सधैँजस्तै ढुंगामुढा भए बल प्रयोग गर्ने मनस्थितिमा गएको थियो, तर प्रदर्शनकारीले सीधै एसएसपीलाई निसाना बनाए, त्यो पनि तरबारले । आँखामा चोट लागेपछि लडेका न्यौपानेमाथि थप आक्रमण भयो । जोसँग जे हतियार छ, त्यसैले प्रहार गर्न थाले । न्यौपाने, उनका बडिगार्ड, इन्स्पेक्टरद्वय केशव बोहरा र बलराम विष्टसहित सात प्रहरी र एक बालकको निधन भयो ।
भीड बेकाबु भयो, हतियारधारी प्रदर्शनकारी हाबी भएपछि इलाका प्रहरी कार्यालयबाट समेत प्रहरीको भागाभाग भयो । आन्दोलनकारी मुख्य बजारमा आइपुगे, बजार कब्जामा लिएर नाराबाजी गरिरहे । कफ्र्यु लागे पनि आन्दोलनकारी बजार क्षेत्रमै थिए, साँझ पाँच बजे उनीहरू फर्किएपछि स्थिति अलिक शान्त भयो । त्यतिन्जेलसम्म कैयौँ प्रहरी सम्पर्कविहीन थिए । उनीहरू सबै मारिएको अनुमान भयो । त्यसैको आधारमा समाचार बने । तर, सशस्त्रका एसपी लक्ष्मण सिंहसहित साँझ सम्पर्कमा आए ।