Taja Samachar Nepal

Taja Samachar Nepal
News

Tuesday, November 3, 2015

७४ दिनदेखि घैँटेको शव अस्पतालमा

प्रहरीसँगको मुठभेडमा मारिएका गुन्डा नाइके कुमार घैँटे (कुमार श्रेष्ठ)को शव ७४ दिनदेखि अस्पतालमा छ । घटनाको छानबिन हुनुपर्ने भन्दै आफन्तले शव बुझेका छैनन् ।
गत ३ भदौमा रानीबारीस्थित घरैअगाडि मुठभेडमा घैँटेको मृत्यु भएको थियो । घैँटेका आफन्तले प्रहरीले नियोजित रूपमा हत्या गरेको आरोप लगाउँदै आएका छन् । प्रहरीले भने महानगरीय अपराध महाशाखाको प्रहरी टोलीसँग मुठभेड हुँदा मृत्यु भएको बताउँदै आएको छ ।
घटनामा घैँटेका अन्य दुई सहयोगीलाई गोली लागेको थियो । उनले प्रहरीमाथि आक्रमण गरेपछि जवाफी फायरिङमा मृत्यु भएको प्रहरीले बताएको थियो । तर, घैँटेका आफन्तले भने प्रहरीले पिछा गरेर आक्रमण गरेको आरोप लगाउँदै आएका छन् । घैँटेका आफन्त तथा केही कांग्रेस सभासद्ले घटनाको अनुसन्धानका लागि मानवअधिकार आयोगलाई दबाब दिँदै आएका छन् ।
मानवअधिकार आयोगका प्रतिनिधिसमेतको रोहवरमा शवको पोस्टमार्टमसमेत भइसकेको छ । तर, यस्तो घटनाको पोस्टमार्टम रिपोर्टमा मुठभेडमा मृत्यु भएको वा नियन्त्रणमा लिएर गोली हानेको प्रस्ट प्रमाणहरू औँल्याउन गाह्रो छ । शिक्षण अस्पतालमा विशेषज्ञ डा. हरिहर वस्तीकै नेतृत्वमा पोस्टमार्टम भएको थियो ।
हालसम्म घैँटेको शव शिक्षण अस्पतालमै छ । मानवअधिकार आयोगले कमिटी गठन गरेर छानबिन अगाडि बढाएपछि मात्र शव बुझेर दाहसंस्कार गर्ने परिवारले जनाएको छ । ‘आयोगले छानबिन थालेपछि शवको दाहसंस्कार गर्न समस्या छैन,’ घैँटेको हत्या भएको दाबी गर्दै आएका सभासद् जगदीश्वरनरसिंह केसीले भने ।
पछिल्लो समय एक अज्ञात महिलालाई घैँटेको नक्कली श्रीमती बनाएर सम्पत्ति उसको नाममा दिलाउन प्रहरी लागेको पनि केसीको आरोप छ । ‘एक महिलालाई उसको नक्कली श्रीमती बनाएर सर्जिमिन गरेको छ भन्ने मैले सुनेँ,’ सभासद् केसीले भने, ‘प्रहरीले शव जलाउन अर्काे नाटक सुरु गरेको छ ।’
आफन्तले शव बुझेनन्
  • प्रहरीसँगको मुठभेडमा मारिएका गुन्डा नाइके कुमार घैँटेको शव ७४ दिन बितिसक्दा पनि आफन्तले बुझेका छैनन्
  • प्रहरीले योजनाबद्ध रूपमा हत्या गरेको भन्दै आफन्तले आयोग बनाएर छानबिन नगरेसम्म शव नबुझ्ने बताउँदै आएका छन्
  • मानवअधिकार आयोगका प्रतिनिधिसमेतको रोहवरमा गरिएको पोस्टमार्टम रिपोर्टले ‘मुठभेडमा मृत्यु’ वा ‘नियन्त्रणमा लिएर हत्या’ भन्ने प्रस्ट प्रमाण औँल्याउन सकेन
७४ दिनदेखि घैँटेको शव अस्पतालमा