Taja Samachar Nepal

Taja Samachar Nepal
News

Tuesday, November 3, 2015

राजधानीमा ग्यास भित्र्याउन स्थानीयको अवरोध

काठमाडौं: स्थानीयबासीको अवरोधका कारण मंगलबार राजधानी आइपुग्नु पर्ने साढे पाँच हजार थान ग्यास सिलिन्डर उत्पादन केन्द्रमै अलपत्र परेका छन्।
 
स्थानीयबासीले सिलिन्डरमा रिफिलिङ (सिलिन्डरमा ग्यास भर्ने) स्थानकै सर्वसाधारणलाई पहिलो प्राथमिकता दिएर ग्यास बिक्री गर्नुपर्ने भन्दै अवरोध सिर्जना गरेपछि तीन उद्योगको पाँच हजार तीनसय ७० वटा सिलिन्डर उत्पादन थलोमै रोएिका छन्।
 
ग्यासको वितरण प्रणालीलाई पारदर्शी र व्यवस्थित बनाउन सोमबार वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल आयल निगममा गठन गरेको कन्ट्रोल रुमका अनुसार स्थानीयबासीको अवरोधका कारण भरिएका सिलिन्डर पनि राजधानी भित्र्याउन समस्या परेको छ । भारतले गरेको अघोषित नाकाबन्दीका कारण राजधानीसहित मुलुकभर अहिले खाना पकाउने ग्यासको चरम अभाव छ। 
 
ग्यासको अभावमा अधिकांश सर्वसाधारणको चुल्होमा आगो बल्न पनि छाडेको छ।'यस्तो अवस्थामा उपलब्ध सिलिन्डर पनि अवरोधका कारण भित्र्याउन सकेनौं', ग्यास बिक्रेता महासंघका महासचिव तथा कन्ट्रोल रुमका सदस्य चन्द्र थापाले भने,'स्थानीयबासीको अवरोधका कारण मंगलबार चाहेर पनि सिलिन्डर भित्र्याएर वितरण गर्न सकिएन्।'
 
उनका अनुसार मंगलबार चितवनको कुरिनटारस्थित भानु ग्यासको रिफिलिङ केन्द्रबाट काठमाडौं ल्याउन लागिएको पाँच सय थान सिलिन्डर स्थानीयबासीको अवरोधका कारण आउन पाएन्। उक्त उद्योगले उत्पादन गरेका थप एक हजार आठ सय थान सिलिन्डर भने मंगलबार नै कुरिनटारमा बिक्री गरे पनि थप सिलिन्डर बिक्रि गर्न घेराबन्दी गरेपछि काठमाडौंका लागि छुट्याइएको सिलिन्डर भित्र्याउन नसकिएको नेपाल एलपी ग्यास उद्योग संघका सचिव तथा कन्ट्रोल रुमका अर्का सदस्य लक्ष्मीप्रसाद महर्जनले जानकारी दिए।
 
महर्जनकाअनुसार स्थानीयबासीकै अवरोधका कारण धादिङबाट ल्याउन लागिएको सुगम ग्यासका चार हजार सात सय ५० थान सिलिन्डर पनि सोही स्थानमा अलपत्र परेका छन् । कन्ट्रोल रुमकाअनुसार राजधानीका लागि विभिन्न स्थानबाट हिँडेको दुई हजार पाँच सय ५३ वटा सिलिन्डर बाटोमा छन्। 
 
रातिसम्म राजधानी भित्र्याउने तयारी रहेको कन्ट्रोल रुमले जनाएको छ। यसअनुसार ७.१ तौल भएको सिद्धार्थ ब्रान्डको एक हजार नौ सय नौ थान सिलिन्डर र सोही तौल भएको तारा ब्रान्डको ६ सय थान सिलिन्डर राजधानी भित्रिने क्रममा छ। 
 
मंगलबार नै राजधानीमा तीन ब्रान्डका दुई हजार ८८ वटा सिलिन्डर सर्वसाधारणलाई बिक्री गरिएको छ। लोकप्रिय ब्रान्डका १४.२ तौलको पाँच सय ८८ वटा कलंकीमा र सगर ब्रान्डको ७.१ तौलको पेप्सीकोलामा र हिमाल व्रान्डको सोही तौलको ग्वार्कोस्थित गोदामबाट आठ सय थान सिलिन्डर बिक्री गरिएको छ। (ग्यास बितरण गर्न 'कन्ट्रोल रुम')
 
यसैबीच वाणिज्य तथा आपूर्ति मन्त्रालयले भारतबाट आयात गरिएका ग्यासको बुलेटको परिमाणसहितको विवरण निगमलाई उपलब्ध गराउन मंगलबार सम्बन्धित उद्योगीलाई निर्देशन दिएको छ। मन्त्रालयका उपसचिव शिवप्रसाद त्रिपाठीले कति परिमाणमा बुलेट आयात गरिएको, ग्यास उद्योगको नाम, रिफिलिङ गर्ने मिति, बुलेटबाट सिलिन्डर उत्पादन संख्या, डिलर, बिक्रेता र वितरकको नाम, बिक्री तथा वितरण प्रणालीसम्बन्धी आवश्यक विवरण उपलब्ध गराउन उद्योगीलाई निर्देशन दिइएको जानकारी दिए। 
 
सर्वसाधारणका लागि नम्बरको व्यवस्था
निगमले सर्वसाधारणलाई ग्यास बिक्रीसम्बन्धी भरपर्दो सूचना उपलब्ध गराउन टेलिफोन नम्बरको व्यवस्था गरेको छ।
 
निगमका एलपीजी विभाग प्रमुख मुकुन्द घिमिरेका अनुसार ग्यास वितरणलाई पारदर्शी र प्रभावकारी सूचना प्रदान गर्न बिहीबारदेखि कन्ट्रोल रुम प्रभावकारी रूपमा सञ्चालनमा ल्याइनेछ। 
 
निगमले ग्यास वितरणका विषयमा सर्वसाधारणलाई सूचना प्रदान गर्न ४२६२५८६ नम्बरको व्यवस्था गरेको छ। यो नम्बर डायल गरेर २१५ नम्बर डायल गरेपछि आवश्यक सूचना सर्वसाधारणले प्राप्त गर्न गक्नेछन्।